८ वैशाख २०८१ शनिबार
समाज

महाशिवरात्रीदेखि गोरखाको रानीपोखरीमा हरेक दिन आरती हुने

गोरखा नगरपालिका ६ पँदेलीमा रहेको पुष्करतिर्थ अर्थात रानीपोखरी।

गोरखा सदरमुकामको रानीपोखरीमा शिवरात्रीको दिनदेखि हरेक दिन आरती हुने भएको छ। गोरखा नगरपालिका ६ पँदेलीमा रहेको पुष्करतिर्थ अर्थात रानीपोखरीको नामले चिनिने उक्त ठाउँमा हरेकदिन आरती गर्न स्थानीय शक्रिय भएका छन्।  

राम शाहले निर्माण गरेको पुस्करतीर्थमा फागुन ६ गते महाशिवरात्रीको दिनदेखि ‘गोरक्षआरती’ गर्ने आरती समितिका अध्यक्ष भगवानबाबु मास्केले बताए। आरती ऐतिहासिक, धार्मीक परम्परापनि भएको बताउँदै उनले पर्यटक भित्र्याउने माध्यामको रुपमा पनि लिन सकिने बताए।  

गोरखा देवी देवताको पवित्र ठाउँ, ऐतिहासिक पुण्य भूमि, गोरखकाली, गोरखानाथ मन्दिर रहेको ठाउँ भएकाले पनि यहाँ नियमित आरती गर्दा जिल्लाबासीलाई पनि फाईदा पुग्ने मास्केले बताए। ‘गोरखालाई गोरक्षभूमिको रुपमा लिइने भएकाले यहाँ गोरक्ष आरती गर्न लागिएको हो’, उनले भने, ‘सँगसँगै अन्य देवीदेवताको पनि जयजयकार हुनेछ।’  

नियमित आरती गर्न गोरक्षनाथ वैद्धिक गुरुकुलसँग सहकार्य गरिनेछ। गुरुकुलका बटुकहरुले नियमित आरती गर्नेछन्। आरती समिति, द्विजबन्धु सांस्कृतिक समाज, गोरक्ष धाम लगायत, संघसंस्था, सरकारी निकाय र ब्यक्तिहरुको सहयोगमा नियमित आरती सञ्चालन गर्ने समितिका सचिव अयोध्या जोशीले बताए। आरतीका लागि गोरखा नगरपालिका ६ पँदेली निवासी नवीनकुमार श्रेष्ठले तीनसेट आरती सामग्री सहयोगस्वरुप उपलब्ध गराइसकेका छन्।  पशुपतिमा जस्तै गरी आरती नियमित संचालन गर्ने योजना समितिको छ।  

दैनिक आरती संचालन गर्नु खर्चिलो रहेकाले यसलाई निरन्तरता दिन सबै पक्षले होस्टेमा हैँसे गर्नुपर्ने समितिका सल्लाहकार मोहनलाल श्रेष्ठले बताए। ‘यसको फाईदा गोर्खालाीलाई हुन्छ, सबैले आरती नियमित संचालन गराउन पहल गर्नुपर्छ’ उनले भने ‘पर्यटक एक, दुई दिन बसे भने पनि यहाँका मानिसहरुले फाइदा लिन सक्छन्।’ आरतीका लागि अक्षयकोष स्थापना गर्न सकेमा नियमित रुपमा संचालन गर्न दीगो उपाय हुने उनले बताए।  

पितृको सम्झना, जन्मउत्सवमा वा अन्य बिभिन्न समयमा ब्यक्ति वा संघ संस्थाले पनि निश्चित शुल्क तिरेर आरती गर्न सक्नेछन्। त्यसकालागि न्यूनतम आरती गर्दा लाग्ने शुल्क लिएर संचालन गर्ने योजना समितिको छ। सबैले सहजै हेर्न सक्ने गरी पुष्करतीर्थबाट गोरखनाथगुफा तथा गोरखकाली मन्दिरतर्फ फर्किएर आरती गरिनेछ। हरेक साँझ आरती गर्न आधाघण्टा समय लाग्छ। अहिले तीनसेट आरती घुमाईने समितिका सचिव अयोध्या जोशीले बताए। नियमित आरती खर्च, बटुकहरुको पारिश्रमिक, साउण्ड सिस्टम, तेल, भाँडावर्तन, बत्ती लगायत आवश्यक बस्तुको जोहो आरती समितिले गर्नेछ।  

प्रकाशित: १८ माघ २०७९ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App