सिन्धुपाल्चोक–भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकले आवास अनुदान वितरणमा अग्रता लिएको छ। आवास अनुदान सम्झौता र पहिलो किस्ता वितरण थालिएका ११ भूकम्प प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक अघि देखिएको हो।
गत वर्ष वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुर्याउने क्रममा ३ हजार ५ सय ७० जनाको ज्यान गएको थियो। झण्डै ९५ प्रतिशत घर संरचना क्षतिग्रस्त भएका थिए । सम्झौता र पहिलो किस्ता अनुदान वितरणमा अगाडि देखिएको गोरखालाई पछि पार्दै सिन्धुपाल्चोकले अग्रता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख अधिकृत भुवनेश्वर लामिछानेले बताए।
उनका अनुसार सिन्धुपाल्चोकमा शुक्रबारसम्म ४८ हजार ३ सय १ लाभग्राहीलाई विभिन्न बैंकमार्फत पहिलो किस्ता ५० हजार रुपैयाँ वितरण गरिएको छ। ६६ हजार १ सय २ पीडितसँग अनदान सम्झौता हुँदा १२ हजार १ सय गुनासा संकलन भएका छन्। ‘सम्झौता र पहिलो किस्ता वितरणमा शुक्रबारदेखि सिन्धुपाल्चोक अघि देखिएको छ,’ प्रमुख अधिकृत लामिछानेले भने। काठमाडौं उपत्यका बाहेक बढी प्रभावित ११ जिल्लामध्ये सिन्धुपाल्चोकमै सबैभन्दा बढी ७८ हजार ५ सय ३७ लाभग्राही छन् । यहाँ अब करिब २० हजारसँग सम्झौता र झण्डै १८ हजार लाभग्राहीलाई मात्र पहिलो किस्ता बाँड्न बाँकी छ ।
स्थानीय विकास मन्त्रालयका अनुसार ११ जिल्लामा मात्र लाभग्राहीको संख्या ५ लाखभन्दा बढी छ। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार ४ लाख ६ हजार ७९ लाभग्राहीसँग सम्झौता भइसक्दा २ लाख ४३ हजार ५९ ले पहिलो किस्ता पाइसकेका छन्। डेढ लाख गुनासा संकलन भएका छन्। भूकम्पको केन्द्र गोरखामा ५८ हजार ५ सय ३ लाभग्राही रहेकामा ४९ हजार ७ सय ५८ सँग अनुदान सम्झौता हुँदा ४६ हजार ४ सय ४४ लाई पहिलो किस्ता वितरण गरिएको छ। त्यहाँ १५ हजार ६ सय ३५ गुनासा संकलित भएका छन्।
सिन्धुपाल्चोकपछि दोस्रो सबैभन्दा बढी क्षतिग्रस्त दोलखामा ४२ हजार ५ सय २२ लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ३४ हजार २ सय २१ लाई पहिलो किस्ता निकासा दिइएको छ। ९ हजार ५ सय ५० गुनासा संकलन भएका छन् । मन्त्रालयका अनुसार केही दिनदेखि ललितपुर जिल्लामा अनुदान सम्झौता थालिएको छ। त्यहाँ १ हजार २ सय १८ लाभग्राही पहिचान भएकोमा ४ जनासँग सम्झौता भएको छ भने ६ सय २ गुनासा संकलन भएका छन्।
सिन्धुपाल्चोकमा ४५ दिन अगावै
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता बितरण गर्न निर्देशन दिएकोमा सिन्धुपाल्चोकमा त्यस अगावै सम्झौता र अनुदान वितरण सक्न कामलाई तीव्रता दिइएको छ।
‘त्यो भन्दा धेरै अघि अबको डेढ–दुई सातामै सबै पीडितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ बितरण गरिसक्छौं,’ विशेष सम्पर्क कार्यालयका प्रमुख अधिकृत लामिछानेले दाबी गरे । उनका अनुसार हालसम्म दुई नगरपालिका (चौतारा र मेलम्ची) र ६० गाविसमा अनुदान सम्झौता सम्पन्न भइसकेको छ। ६८ गाविसमध्ये भोटेचौर, मार्मिङ, फुल्पिङकट्टीसहित सात गाविसमा सम्झौता जारी छ। बिवादका कारण तौथली गाविसमा मात्र अनुदान वितरण सुरु हुन सकेको छैन । त्यहाँ छुटेका पीडितको गुनासो व्यवस्थापन नभइ सम्झौता गर्ने अडानमा स्थानीय रहेको लामिछानेले जानकारी दिए।
दुई नपासहित ४८ गाविसका पीडितलाई विभिन्न १६ बैंकका २४ शाखामार्फत पहिलो किस्ता बितरण गरिएको उनले बताए। प्रधानमन्त्रीले निर्देशन दिनुअघि (साउन तेस्रो सातासम्म) ३ हजार २ सय २० पीडितले मात्र पहिलो किस्ता पाएका थिए । त्यसपछिका झण्डै तीन साताबीचमा थप ४३ हजार भन्दाबढी लाभग्राहीले पहिलो किस्ता अनुदान पाउन सकेका हुन् । पछिल्लो पाँच दिनमा मात्र १५ हजार लाभग्राहीले पहिलो किस्ता पाएका छन् ।
प्रकाशित: १८ भाद्र २०७३ ०८:४१ शनिबार