जबरजस्ती करणी गरेपछि भारत लैजाँदै गर्दा २ जना भारतीय नागरिकलाई सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। पीडित महिलासहित एक बालिकालाई भारत लैजाँदै गर्दा सीमा क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन्।
मानव बेचबिखन तथा ओसारपाेसारविरुद्ध काम गर्दै आएको ‘साना हातहरु’नामक संस्थाको सहयोगमा प्रहरीले पीडक र पीडितलाई सीमा क्षेत्रबाट उद्धारका साथै पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। भारत विहारको सुपौल जिल्ला सिमराही–१३ का ४२ वर्षीय बाबु साहब र अररिया जिल्ला नरपतगञ्ज–१४ का ५० वर्षीय मोहम्मद जाहगिरलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
झापा घर भई विराटनगर आइपुगेकी २७ वर्षीया एक युवतीलाई विराटनगरको एक होटलमा जबरजस्ती करणीपछि भारत लैजाने क्रममा भारतीय नागरिक पक्राउ परेका हुन्। उनीहरूले माघ १३ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ। करणी गरेपछि विभिन्न प्रलोभन देखाएर २७ वर्षीय युवती र उनकी दिदीकी १४ वर्षीय छोरीलाई भारतमा राम्रो रोजगारी लगाइदिने भन्दै लैजाने क्रममा सीमा क्षेत्रबाट पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।
झापाबाट काम खोज्दै विराटनगर आइपुगेकी सानिमा र छोरी नाताका महिलाहरु विराटनगरको दक्षिणतर्फको एक होटलमा कामको खोजी गर्दै पुगेका थिए। त्यहाँ पुगेका साहब र जाहगिरले युवतीलाई तिमीलाई हामी राम्रो काममा लगाइदिन्छौं भन्दै विभिन्न प्रलोभनमा पारे युवतीलाई जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
युवतीलाई विभिन्न प्रलोभनमा परेर जबरजस्ती करणी गरेपछि उनीहरुले सानी र छोरीलाई माघ १३ गते नै भारतर्फ लैजाँदै गर्दा नेपाल–भारतको रानी जोगबेनी सीमा क्षेत्रबाट साना हातहरु नामक संस्थाको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
इलाका प्रहरी कार्यालय रानीमा राखेर अदालतबाट मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ माघ २०७९ १२:२४ सोमबार