४ वैशाख २०८१ मंगलबार
समाज

बिग्रन थाल्यो माइतीघर-तीनकुने सडक

काठमाडौं- राजधानीको माइतीघर–तीनकुने सडक खण्डमा खाल्डै खाल्डा परेका छन्। तीन वर्षअघि मात्र विस्तार गरिएको सडक खण्डमा एक वर्ष पनि नभइ खाल्डा पर्न थालेका थिए। खाल्डामा प्याचिङ गरी मर्मत गरिए पनि वर्षेनी सडक खण्डमा खाल्डा बन्ने क्रम जस्ताको तस्तै छ।

२.६ किलोमिटर दुरीको यो सडकमा दर्जनौं ठाउँमा साना/ठूला खाल्डा परेका छन्। कतै भने कालोपत्रे उस्सिएर फुटेको छ। करिब ५० करोड रुपैयाँ लागतमा विस्तार भएको नमुना सडक बेहाल अवस्थामा छ। सामान्यतया गुणस्तरीय सामग्री प्रयुक्त सडक पाँच वर्षभन्दा बढी टिक्नुपर्ने इन्जिनियरहरू बताउँछन्। तर एक किलोमिटरमा करिब २० करोड लगानी परेको यस खण्डको सडक भने वर्षैपिच्छे कालोपत्रे उप्किने गरेको त्यस रुटमा १० वर्षयता बस चलाउँदै आएका चालक हरिराम कार्कीले बताए।

नयाँबानेश्वर चोकनजिकै स्ट्यान्डर्ड चार्टर्ड बैंकसामु करिब ३ सय मिटर सडक खहरेजस्तो छ। सडकमा एकपछि अर्को ठुल्ठूला खाल्डा छन्् त्यहाँ। त्यस सडकको अर्को छेउमा संसद् भवना छ। 'केही सांसद् ती खाल्डा नियाल्दै संसद् भवन प्रवेश गर्छन्,' नयाँ बानेश्वरस्थित जेठो कोसेली घरकी शान्ति अर्यालले भनिन्, 'हिउँदैदेखि सडकमा खाल्डा परेको हो।' उनका अनुसार खाल्डामा पानी भरिएका बेला दैनिकजसो दुई/चार वटा मोटरसाइकल तथा स्कुटर लडिरहन्छन्। 'थाहा हुनेले गति घटाएर होसियारी अपनाउँछन् तर थाहा नहुने तीव्र गतिमै आउँछन्,' अर्यालले थपिन्, 'खाल्डामा परेर लड्ने दुईपांग्रेलाई कैयौंपल्ट पसलबाट गएर हामीले नै उठाइदिने गरेका छौं।' गत वर्ष पनि त्यहाँ यस्तै खाल्डा बनेको पनि उनले बताइन्। मर्मत गरे पनि फेरि उस्तै भएको र दिन प्रतिदिन खाल्डा बढ्दै गइरहेको उनले भनिन्। यता बानेश्वर चोकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हिक्मत रावलले पनि सडक बिग्रेका कारण जाम बढेको बताए। उनका अनुसार सडकमा खाल्डा परेपछि जामसँगै धुलो पनि अत्यधिक छ।

त्यसैगरी बिजुलीबजारमा पनि सडक बिग्रेको छ। त्यस ठाउँमा सडक उक्सेर माथि उठेको छ। त्यहाँबाट सवारीसाधन कोल्टे पर्दै अब पल्ट्यो तब पल्ट्योजस्तो गरी ओहोरदोहोर गर्छन्। यतिमात्र होइन यो सडक खण्डमा अन्यत्र पनि अनगिन्ति खाल्डा छन् खाल्डा दिन परदिन ठूला हुँदै गएका छन्।

यो सडक काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०६९ वैशाखमा विस्तार थालेर २०७० माघमा सम्पन्न गरेको थियो। निर्माणको ५ वर्षसम्म सडक भत्कनुमा निर्माण कम्पनी र आयोजनाको लापरबाही भएको जानकार बताउँछन्। इन्जिनियरहरूका अनुसार पाँच सेन्टिमिटर बाक्लो कालोपत्रे गरिएकाले यति चाँडो भत्कनु अनौठो हो। यो सडक कम्तीमा पाँचदेखि सात वर्ष टिक्नुपर्ने उनीहरूको भनाइ छ। निर्माण क्रममै भएको त्रुटिले सडकमा खाल्डा र डल्ला परेको इन्जिनियरहरूले जिकिर गरे।

आयोजनाले भने सवारीको चाप र पानी जमेकाले सडकमा खाल्डा परेको दाबी गरेको छ। 'अहिले यो सडकबाट गुड्ने सवारीको चाप अत्यधिक छ,' आयोजना प्रमुख मनोज श्रेष्ठले भने, 'कतिपय ठाउँमा भने पानी जमिरहनाले पनि सडक भत्केको हो।' गत वर्ष कालोपत्रे उप्किएको ठाउँमा भने प्याचिङ गरेर मर्मत गरिएको थियो। अहिले पनि कतिपय प्याचिङ गरिएकै ठाउँमा कालोपत्रे उप्किएर खाल्डा बनेका छन्। आयोजनाले अब भने कालोपत्रे उप्किरहने ठाउँ हेरेर प्याचिङ नगरी ढलान गर्ने बताएको छ। 'सधैँ कालोपत्रे उप्किने ठाउँमा ढलान गर्न लागेका छौं,' श्रेष्ठले भने, 'हामीले टेन्डर समेत दिएका छौं, मनसुन थामिनासाथ काम सुरु हुनेछ।'

माइतीघर–तीनकुने सडकको चौडाइ ४६.४० मिटर छ। आठ लेन फराकिलो सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र साइकल लेन छ। दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ। सडकको बीचमा पर्ने चार लेन सडक तीव्र गतिमा गुड्ने सवारीसाधन र बाँकी चार लेनमा स्थानीय रूटका सवारी सञ्चालन हुन्छन्।

प्रकाशित: १६ भाद्र २०७३ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App