रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शान्ति सुरक्षा, तस्करी नियन्त्रण तथा सेवामा सुधार आफ्नो तिन प्राथमिकता रहेको बताएका छन्।
गत १० माघमा जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका झाले जिल्लावासीलाई शान्ति सुरक्षाको अनुभूति गराउनु, सीमा वारपार हुने अवैध तस्करी रोक्नु तथा जिल्ला प्रशासन कार्यालय र मातहतका कार्यालयबाट प्रदान गरिने सेवामा सुधार गर्नु आफ्नो प्राथमिकता रहेको बताएका हुन्।
जिल्लाका सञ्चारकर्मीसंग परिचयात्मक भेटघाटमा प्रजिअ मिश्रले जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीका लागि टाइम कार्ड लागु गर्ने बताएका छन्। जिल्ला प्रशासन कार्यालयमा राहदानी लिनेको भीडलाई कम गर्न राहदानी विभागमा आइतबार नै पत्राचार गरिएको र कम्तीमा दुई ठाउँमा फोटो खिच्ने व्यवस्था गर्न माग गरिएको बताएका छन्।
आएको केही दिनमा आफूले जिल्ला प्रशासन कार्यालयको सेवामा सुधारको अनुभूति गराएको र विस्तारै अन्य कार्यालयको सेवामा पनि सुधार हुने बताएका छन्।
प्रकाशित: १५ माघ २०७९ १२:३१ आइतबार