coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रानीपोखरी पुनर्निर्माण रोकियो

काठमाडौं- काठमाडौं महानगरपालिकाले पुर्ननिर्माण शुरु गरेको रानीपोखरीबीचकोे बालगोपालेश्वर मन्दिर पुर्ननिर्माणमा पुरातत्व विभागले रोक लगाएको छ। पुरातत्वको मापदण्डभन्दा बाहिर गई मन्दिर पुर्ननिर्माणमा रड तथा सिमेन्टको प्रयोग गरेको भन्दै सोमबार विभागले रोक लगाएको हो।

भूकम्पबाट क्षती पुगेका ऐतिहासिक महत्वको मन्दिर मौलिकता कायम राखी आधुनिकता आवश्यकता रहेको भन्दै महानगरले विभागको मापदण्ड भन्दा बाहिर गएर मनोमानी ढंगबाट कामअघि बढाईरहेका थियो। महानगरले पुर्ननिर्माणको जिम्मा लिदाँ पहिले प्रयोग भएकै सामग्रीबाट पुर्ननिर्माण गर्ने भनेपनि त्यसअनुसार नपाएकाले रोकेको विभागले जनाएको छ। केही दिन पहिला काठमाडौंवासीले समेत मौलिकता विग्रिने भन्दै पुरात्वका सम्पदामा आधुनिक निर्माण सामग्री (रड, सिमेन्ट, ईटा) प्रयोग नगर्न प्रर्दशन समेत गरेका थिए।

महानगरपालिका भने सम्पदालाई बलियो बनाउने अवसर भन्दै पुर्ननिर्माण गर्दा मौलिकता नबिग्रनेगरी आधुनिक शैलीमै गरिनुपर्ने जिकिर गर्दै आएको छ। भूकम्पको दृष्टिले काठमाडौं उच्च जोखिममा रहेकाले सम्पदाको पुर्ननिर्माण गर्दा मौलिकतामा कुनै परिवर्तन नहुनेगरी बलियो बनाउनुपर्ने धारण महानगरको छ। 'मन्दिरको मौलिकता तथा बाहिरी स्वरुपमा अलिकती पनि फरक नहुनेगरी काम गरिरहेका हौं,' शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख उत्तर कुमार रेग्मीले भने, 'पुर्ननिर्माण गर्दा भित्री भाग बलियो बनाउन आधुनिक सामग्रीको प्रयोग भएको हो।' रेग्मीका अनुसार पुरातत्वका सामग्री प्रयोग गर्दा जोखिम बढ्ने हुँदा जोखिममालाई कम गर्न पनि आधुनिक सामग्री प्रयोग गर्नु आवश्यक छ। रेग्मीले थपे, 'मन्दिरमा पहिले पनि डण्डी, सिमेन्ट प्रयोग भएको रहेछ त्यसैले हामीले पनि प्रयोग गरेका हौं।'

पुरात्वले भने आधुनिक र बलियो बनाउने बहानामा पुरातत्वका सम्पदामा जथाभावी बनाउनुनहुने दाबी छ। 'सम्पदा पुर्ननिर्माण गर्दा पुरातत्वले बनाएकै मापदण्डलाई पालन गर्नपर्दछ,' विभागका प्रवक्ता रामकुमार कुँवारले भने, 'बाहिरी मौलिकता वा स्वरुप उस्तै भएर हुँदैन। सम्पदाको ऐतिहासिक महत्व हुनेहुँदा सम्पुर्ण निर्माण सामग्री पनि पुरात्वकै हुनुपर्दछ।' कुँवारका अनुसार पुरात्वका सामग्रीले बनाए जोखिम हुनेे र डण्डी, सिमेन्ट प्रयोग गर्दैमा जोखिम नहुने भन्ने हुँदैन। उनले थपे, 'पुरात्वका सामग्रीले बनाएका सबै संरचना भूकम्पबाट भत्किएका छैनन्।'

विभागले जनाएअनुसार आधुनिक निर्माण सामग्री प्रयोग गर्नपर्ने अवस्थामा विभागले नै निर्देशन दिनेछ। 'अहिले हामीले केही सम्पदाको कसरी पुर्ननिर्माण गर्ने भनेर अध्ययन अनुसन्धन गरिरहेका छौं,' प्रवक्ता कुँवारले भने, 'अनुसन्धन गर्दा पुरातत्वको सामग्रीले पुर्ननिर्माण गर्न नसकिने तथा जोखिम भएको खण्डमा मात्र आधुनिक सामग्री प्रयोग गर्नेछौं।' पुनर्निमाण गर्दा सम्भव भएसम्म मापदण्ड अनुसार रहेर पुरात्वकै सामग्री प्रयोग गर्नपर्ने उनले बताए।

अहिलेको रानीपोखरीको विषयमा भने अहिले राखिएका कंक्रिट पिलर भत्काएर पुरातत्वकै सामग्रीले पुर्ननिर्माण गर्नपर्ने धारणा विभागको छ। महानगर भने स्वरुप नबिगारी अहिले बनिरहेकै संरचनाअघि बढाउने दाबी गर्दछ। 'काम रोकिएकै छैन मिडियाले प्रचारबाजी गरेका हुन,' रेग्मीले भने, 'हामी विभागसँग छलफल गरेर अहिले भईरहेकै निर्माणलाई अगाडि बढाउँछौं यसमा कुनै शंका छैन।' मिडियाले अनावश्यक प्रचारबाजी गरेको रेग्मीले आरोप लगाए। विभाग र महानगर एक आपसमा छलफल गरेर काम गरिरहेकै बेला कंक्रिट प्रयोग गरेको भन्दै इस्यु बनाएको उनको भनाई थियो।

२०७२ बैशाख १२ मा आएको भूकम्पले क्षती पुगेको रानीपोखरीबीचको मन्दिरु गत वैशाख दोस्रो सातादेखि पुनःनिर्माण सुरु गरिएको हो। अहिले मन्दिरको पिल्लर राख्ने काम भईरहेका छ। वर्षको एक दिन भाईटिकाको दिन मात्र खुल्ने मन्दिर अब ३ सय ६५ दिनै खुलाउने तयारी गरेर महानगरले पुर्ननिर्माण गरिरहेको हो। मन्दिर पुर्ननिर्माणसँगै महानगरले रानीपोखरीलाई समेत पर्यटकीय केन्द्र बनाउने भन्दै रानीपोखरीको स्वरुप समेत परिवर्तन गर्न वर्ल्डवाइड कँडेल केएन केजी जेभीले ६ करोड २९ लाख रुपैयाँमा ठेक्का लिएको हो। अहिले कम्पनीले मन्दिर र पोखरी वरीपरी वाल लगाएको छ। हालसम्म एक करोड ५० लाख खर्च भइसकेको सो कम्पनीले जनाएको छ।

चार सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लका  कान्छा छोरा हात्तिले किल्चेर मृत्युपछि शोककुला रानीको मन भुलाउन रानीपोखरीको निर्माण गरिएको इतिहासकार साफाल्य अमात्या बताउँछन्। अहिले पनि पोखरीका दक्षिण कुनामा हातीमा चढेका मल्ला र उनका छोराको प्रतिक छ। रानीपोखरीको निर्माण भने वि.सं. १७२७ (सन् १६७०) मा भएको मानिन्छ।

प्रकाशित: १४ भाद्र २०७३ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App