१६ चैत्र २०८० शुक्रबार
समाज

महोत्तरीको मनरासिस्वामा मदिरा प्रतिबन्ध

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ। नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो।

मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीका अनुसार पालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रमा पूर्णरुपमा मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको छ। उनका अनुसार वडा नं १, ४, ६ र ७ मा भने सार्वजनिक तथा सरकारी कार्यालय, शैक्षिक र स्वास्थ्य संस्था एवं मठ मन्दिरदेखि तीन सय मिटर क्षेत्रमा मदिरा रोक लगाइएको हो।

नगरपालिकाले मदिरा प्रतिबन्ध लगाउनु अघि गत पुस ३० मा दशौँ नगरसभाबाट मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ पारित गरेको थियो। सोही ऐनको दफा ५ को उपदफा ६ बमोजिम नगरक्षेत्रभित्र तोकिएका छ वटा वडामा पूर्णरुपमा मन्दिरा बन्देज गरिएको हो भने चार वटा वडाको निर्धारित सीमाभन्दा बाहिर मात्रै मदिरा उत्पादन तथा बिक्री वितरण गर्न पाइनेछ। सामाजिक सदभाव, सु-स्वास्थ्य, आर्थिक हित तथा सम्भावित आपराधिक घटनालाई नियन्त्रण गर्ने उद्देश्यले मदिरा प्रतिबन्ध गरिएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले जारी गरेको मदिरा सम्बन्धी ऐनमा उल्लेखित मापदण्ड अपनाउन मदिरा व्यवसायीलाई माघ ९ देखि १५ दिनको अल्टिमेटम दिएको छ। नियम विपरीत काम गर्नेलाई ऐनको दफा ११, १२ र १३ बमोजिम कानूनी कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए। रासस

प्रकाशित: १३ माघ २०७९ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App