coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्पबाट पश्चिम नेपालका ६ जिल्लाका १५२ घर भत्किए, बुधबारसम्म पनि पराकम्प जारी

मंगलबार पश्चिम बाजुराको बिच्छ्या आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा ६ वटा जिल्लाका सरकारी र व्यक्तिगत गरी १५२ वटा घरमा क्षति पुगेको छ।

नेपाल प्रहरी उक्त जानकारी दिएको हो।

भूकम्पले आजसम्म बाजुराको गौमुल गा.पा–२ का १ जनाको मृत्यु भएको छ भने बझाङमा १ र बाजुरामा ३ गरी ४ जना घाइते भएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार बाजुराको गौमुल गा.पा–२ का जमुना रोकायाको ढुङ्गा लागेर मृत्यु, गौमुल गा.पा–१ का एक जना घाइते, हिमाली गा.पा–६ का जिल्ला हुम्ला ताजाकोट गा.पा घर भएकी सरिता नेपाली भूकम्प आएको बेला भाग्ने क्रममा लडी बेहोस भई घाइते र बडीमालीका न.पा–२ मा एक जना उपचार पछि डिस्चार्ज भएका छन्। 

पोखरेलका अनुसार अनुसार भूकम्पले बाजुरामा ७०, बझाङमा ६३, डोटीमा ३, अछाममा ४ , मुगुमा ११ र दार्चुलामा १ घरमा क्षति पुर्‍याएको छ। उनका अनुसार गौमुल गा.पा–१ का ३५ वटा भेडा बाख्रा मरेका छन्।

बडीमालीका नगरपालिकाका नगर प्रमुख अमर खड्काका अनुसार  क्षतिको विवरण लिन टोली बनाइएको थियाे।

उनले नागरिक न्यूजसॅग आज दिउँसो भनेका थिए, ‘अहिले सबै वडामा जनप्रतिनिधि साथीहरूको टिम बनाएर क्षतिको विवरण लिन खोजेका छौँ। क्षति भएको घरपरिवारलाई राहत दिने तयारी गरिरहेका छौँ। ९ वटा वडामा वडा अध्यक्ष, वडा सचिव, संयोजक, राजनीतिक दल, प्राविधिकको टिम बनाएका हौँ। क्षतिको विवरण भोलि सम्म लिने तयारी छ।’

खड्काले थपेका थिए, ‘विच्छयामा सम्पर्क हुन नसक्दा विवरण लिन गारो भइरहेको छ। प्रहरी पुगेको छ उनीहरुले क्षतिको विवरण लिँदै छन्। हिमाली गाउँपालिका, गैमूल गाउँपालिका, बडिमालिका नगरपालिकामा बढी क्षति भएको अन्य स्थानमा घर चरकेको छ। 

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार विच्छयामा रहेको सञ्चार टावर हिमपातका कारण खराबी भई सम्पर्क हुन सकेको थिएन। 

‘२ वटा वडामा सम्पर्क हुन सकेको छैन। मेरो गाउँपालिकाका तिन वडामा तिन कर्मचारी गएका छन्। भोलि सम्म विवरण आउँछ। सबै वडामा कर्मचारी खटाएका छौ। विच्छयाको टावर बिग्रेको छ। त्यो टावर सोलारबाट चल्ने हो।’ 

मल्लले नागरिक न्यूजसॅग आज दिउँसो भनेका थिए, ‘तिन दिन देखिको हिमपातले गर्दा टावरमा समस्या आएको हुन सक्छ। दिन भरी पानी परेको छ भूकम्प आइ नै रहेको छ। यसले गर्दा विवरण लिन जाने मान्छेलाई समेत विवरण लिन गारो भएको छ। सम्पर्क हुन नसक्नाले त्यहाँ केके क्षति भयो भनेर भन्न सकिँदैन। 

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो। सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार बिहान करिब १० बजेतिर ३.७ म्याग्निच्युडको पराकम्प मापन गरिएको थियो। आजको पराकम्पको केन्द्रबिन्दु बाजुराको बिच्छ्या आसपास नै थियो।

‘हिजो गएको भूकम्पपछिका पराकम्पको मापन हेर्दै छु कति गयो भन्ने गनेको छैन। सानो तिनो संख्यामा गई रहेकै छ।  डोटीको जस्तो ठुलो पराकम्प गएको छैन।’  भट्टराईले भनेका थिए , ‘बस्ती माथि केन्द्रबिन्दु परेकोले क्षति नपुगेको हो।’ अहिले सम्म ४ भन्दा माथिका ४ देखि ५ वटा पराकम्प मापन गरिएको उनले बताएका थिए।

विज्ञहरुले सुदूरपश्चिममा भूकम्पको उच्च जोखिम रहेको बताउदै आएका छन्। यस अघि गत कार्तिक २२ गते राती २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निट्यूडको भूकम्प जादा डोटि पुर्बिचौकी गाउपालिकामा ६ जनाको ज्यान गएको थियो।  

साथै २०३७ साउन १४ गते राति ८ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसबेला बझाङ, बाजुरा, दार्चुला र बैतडी गरी १ सय २५ जनाभन्दा बढीको मृत्यु भएको थियो।  

प्रकाशित: ११ माघ २०७९ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App