coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिपी प्रतिष्ठानमा अख्तियारको टोली: ६ बर्ष पुरानो मेशिनको निरीक्षण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोली बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएको छ।

विभिन्न बिषयमा परेको उजुरीबारे स्थलगत अध्ययन तथा अनुसन्धान गर्न अख्तियारको टोली दिउँसो करिब अढाई बजेतिर प्रतिष्ठानमा आएको हो।

प्रतिष्ठानमा छापा मारेको हल्ला भएपनि स्थलगत मेशिनको निरीक्षण र केही विवरण लिएर अख्तियार टोली फर्केको प्रतिष्ठान स्रोत जनाएको छ। टोलीले प्रतिष्ठानको ५ बर्ष यताको आय व्ययको विवरण माग गरेर लगेको छ भने विद्यार्थी भर्नाको अवस्थाबारे पनि जानकारी लिँदै तथ्याङ्क पनि लिएर गएको छ। यस्तै, अख्तियारको टोलीले प्रतिष्ठानको इआरसिपी मेशिनको पनि स्थलगत रुपमा निरीक्षण गरेको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिए।

ती कर्मचारीका अनुसार इआरसिपी मेशिनबारे परेको उजुरीबारे अख्तियारको टोलीको बिशेष चासो लिएको आएको हो। पित्तनलीमा ढुङ्गा अड्केको वा ब्लक भएको अप्रेसन विना नै उपचार गर्ने यो अत्याधुनिक मेशिन प्रतिष्ठानमा सञ्चालनमा आएको ६ बर्ष जति भइसकेको छ। सोही मेशिन खरिदबारे परेको उजुरीमा अख्तियार आवश्यक छानबिन गर्न प्रतिष्ठान आएको हो।

अख्तियार टोलीले मेशिन जडान गरेर राखेको ठाउँमा नै गएर स्थलगत रुपमा अवलोकन गरेको पनि ती कर्मचारीले जानकारी दिए। ‘भने अनुसारको मेशिन आएको छ कि छैन भनेर अख्तियारबाट आएको टोलीले फिल्डमै गएर हेर्‍यो,’उनले भने,‘त्यसबाहेक ५ वर्षको आयव्ययको विवरण र विद्यार्थी भर्ना, शुल्कबारे पनि विवरण लगेको छ।’

अख्तियारको इटहरीस्थित कार्यालयले भने औपचारिकरुपमा सञ्चारकर्मीलाई जानकारी दिन मानेनन्। प्रतिष्ठान आएको टोलीमा रहेका एक अधिकृतले भने, ‘छापा मारेको होइन। केही कुराहरु बुझ्नुपर्ने थियो, त्यो बुझेर फर्किइसकेका छौं,’उनले यति मात्र भने,‘खास गरी इण्डोस्कोपी मेशिन खरिदबारे उजुरी पहिला नै थियो। त्यसबारे गहन रुपमा हेर्दै थियौँ। थप केही बुझ्नुपर्ने र डकुमेन्ट माग्नुपर्ने भएर बिपी गएका थियौँ।’

प्रतिष्ठानका रजिस्ट्रार डा.सूर्य संग्रौलाले मनिटरिङ गर्नको लागी अख्तियारबाट टोली आएको पुष्टि गरे। यद्यपि, आफू भने कार्यालयमा नभएको उनले खुलाए। ‘२ बजेतिर कर्मचारीले फोन गरेर अख्तियारबाट आउने रे भन्ने जानकारी पाए, ’उनले भने, ‘म कार्यालयमा नभएकोले के भयो थाह छैन, तर अख्तियार आएको चैँ पक्का हो।

प्रकाशित: ११ माघ २०७९ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App