गोरखामा सरकारी कार्यालयबाटै एक सय ८३ केजी कुट्की (जडिबुटी) गायब भएको छ। पाँच सय २३ किलो कुट्कीकालागि लिलाम आह्वान गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना सम्पर्क कार्यालय गोरखाले अन्ततः तीन सय ४० किलो भन्दा कुट्की लिलाम दावी गर्ने ब्यवसायीलाई दिन सकेन।
२०७८ मंसिर २२ गते धार्चे गाउँपालिकाको माछाखोलाबाट प्रहरीले पाँच सय २३ किलो कुट्की बरामद गरेको थियो। अवैध रुपमा संकलन गरिएको कुट्की प्रहरीले मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालय गोरखाको जिम्मा लगायो। प्रहरीले पाँच सय २३ किलो तौल गरेर आयोजनाको जिम्मा लगाएको एसपी केदार खनालले बताए।
कार्यालयले कुट्की मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) सँगको सहयोगमा मासिक पाँच हजार भाडा एमक्यापले तिरिदिने गरी स्टोर गरेर राख्यो। अन्ततः चारपटक लिलामका लागि सुचना प्रकाशित गर्नु परेको सम्पर्क कार्यालयका प्रमुख पशुपति अधिकारीले बताए। तीनपटक प्रति किलो एक हजार चारमा बोलपत्र आह्वान गरिएको थियो। कुनैपनि ब्यवशायी इच्छुक नभएपछि चौँथो पटक शंसोधन गरेर प्रतिकिलो सात सय १० कायम गरियो। त्यसपछि जुङगाङ जडिबुटी तथा कृषि पशुपंक्षि प्रालिले लिलामको टेण्डर पार्यो।
कम्पनीका संचालक धार्चे ५ माछाखोलाका मानबहादुर गुरुङले पाँचसय २३ किलो कुट्कीको तीन लाख ७१ हजार आठ सय ५३ रुपैयाँ राष्ट्रिय बाणिज्य बैंक मार्फत राजस्व खातामा जम्मा गरे। पाँच हजार पाँच सय ८० आयकर पनि दाखिला गरे। उनी पाँच सय २३ किलो कुट्की लिन मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा पुगे। कुट्की बोरामा थियो। आफूले राजस्व तिरेको पाँच सय २३ किलो परिणाम नपुग्ने आशंका उनलाई लाग्यो। ‘सबै कुट्की तौल गर्दा तीन सय ४० मात्रै पुग्यो, एक सय ८३ केजी पुगेन’ उनले भने ‘तीन लाख ७१ हजार आठ सय ५३ रुपैयाँ मैले धेरै तिर्नुप¥यो।’ कार्यालयले कम तौललाई धेरै देखाएर आफूलाई धेरै राजस्व तिराएकाले फिर्ता पाउनुपर्ने माग उनको छ।
कार्यालय प्रमुख पशुपति अधिकारीले भने राजस्व खातामा गइसकेकाले उक्त रकम फिर्ता नहुने बताए। तौल घटेको विषयमा भने उनले प्रहरीले जफत गर्दा अनुमान गरेको हुन सक्ने बताए। ‘केही किलो त घट्योपनि होला, तर यो अनुपातमा घट्नुपर्ने होइन, यकिन तौल प्रहरीले नलिएको हुन सक्छ।’ प्रहरीले भने पाँच सय २३ तौल यकिन गरेर आयोजनाको सम्पर्क कार्यालयलाई बुझाएको बताएको छ। कार्यालयले लिँदा तौल नगरी लिइएको अधिकारीले बताए। उनले अहिले कुड्की तीन सय ४० किलो मात्रै भएको पनि स्विकार गरे। तर कसरी भयो भन्नेमा अनविज्ञ छन्।
एक सय ८३ किलो कुट्कीको राजस्व फिर्ता वा थप कुट्कीको परिणाम नपुग्दा सम्म आफूले उक्त सामग्री आयोजनाको सम्पर्क कार्यालयबाट नउठाउने ब्यवशायी मानबहादुर गुरुङले बताए।
उक्त कुट्की घ्याल्जेन लामाबाट प्रहरीले जफत गरेको थियो। चैत २३ गते मुद्धा फैसला हुँदा उनलाई सामग्री जफतसाथै ३८ हजार जरिवाना गरिएको थियो। जरिवाना पनि पाँच सय २३ केजीलाई नै आधार बनाएर गरिएको छ।
प्रकाशित: ११ माघ २०७९ १२:१० बुधबार