coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आत्मदाह गरेका आचार्यको परिवारलाई विश्वभरबाट आर्थिक सहयोग जुट्दै

मंगलबार संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्याेदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यको परिवारको सहयोगका लागि विश्वभरबाट रकम संकलन हुन थालेको छ।

स्वदेश तथा विभिन्न देशमा बस्ने नेपालीबाट आचार्यकी पत्नी नानुका अधिकारीको बैंक खातामा धमाधम रकम जम्मा हुन थालेको हो। आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा राखेको करिब ६ हजार ६ सय शब्दको ‘नोट’मा आफूलाई ६० लाख रुपैयाँभन्दा बढी ऋण लागेको उल्लेख गरेका छन्।

उनले यो ऋणबाट पत्नी र परिवारलाई बचाइदिन पनि सबैमा आग्रह गरेका थिए। उनले पत्नी नानुका अधिकारीको बैंक खाता नम्बरसमेत त्यही नोटमा उल्लेख गरेका थिए। र, लेखेका थिए– ‘कोही मनकारी/सहृदयीजनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गर्दिनुहोला। उनले पनि मेरै बाटो समाउन बेर छैन। हाम्रा दुई छोरीहरू टुहुरा हुनेछन्।’

यही आग्रहअनुसार उनले आत्मदाह गरेको केहीबेरदेखि नै सहयोग रकम जुटन् थालिसकेको थियो। आज बिहान साढे ५ बजे उनको निधन भएको खबर सर्वत्र फैलिएपछि नेपालमात्र होइन, विश्वका विभिन्न देशमा उनको परिवारका लागि सहयोग अभियान नै सुरु भएको छ।

अहिले आचार्य परिवारलाई सहयोग गर्नेहरूले सामाजिक सञ्जालमा उनकी पत्नी नानुकाको खातामा पैसा जम्मा गरेको भौचर सार्वजनिक गर्दै उनलाई सहयोग गर्न अरूलाई समेत आग्रह गरिरहेका छन्। आचार्यको परिवारलाई डा.ओम मूर्ति अनिलले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। नेता पर्वत भण्डारीले २५ हजार रुपैयाँ सहयोग गरेका छन्। गंगा कोइरालाले २० हजार रुपैयाँ सहयोग गरेकी छिन् भने ५ सय देखि ५ हजार रुपैयाँसम्म सहयोग गर्नेको लहर चलिरहेको छ।

अमेरिका, क्यानडा, जापान लगायत देशमा बस्ने नेपालीले समेत आचार्यको ऋण तिर्न र परिवारको शिक्षादीक्षाका लागि रकम संकलन गरिरहेका छन्। विदेशमा बस्ने नेपालीले २० हजार डलर सहयोगको लक्ष्यसहित अभियान सुरु गरेको सामाजिक सञ्जालमा देखिएको छ। संसारका विभिन्न देशमा बस्ने नेपालीले त्यसमा १० देखि सय डलरसम्म जम्मा गरिरहेका छन्। अहिलेसम्म कति रकम जम्मा भइसक्यो भन्ने खुलेको छैन।

आचार्यले लेखेको नोटमा आफूले व्यापार, व्यवसाय, ट्राभल एजेन्सी, होटल, इलाम–काठमाडौं दूधका परिकार, चिया र गुन्द्रुक–सिन्कीको व्यापार, कृषि फार्मलगायत सबैतिर आफू ऋणमा चुर्लुम्म डुबेकाले आत्मदाह गर्न बाध्य भएको उल्लेख छ। वैदेशिक रोजगारीबाट ल्याएको रकमसमेत डुबेको, घर, गाडी लगायत सबै पैत्रिक सम्पत्तिसमेत सकिएपछि आफूले आत्महत्याको बाटो रोजेको भन्दै यो सबै कारण देशको चरम भ्रष्टाचार, ठगी र दण्डहीनता नै भएको ‘निष्कर्ष’ निकालेका थिए।  

प्रकाशित: ११ माघ २०७९ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App