८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ। दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन। डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ। त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ। लामो समयदेखि काला देखिएका डाँडाकाँडा हिउँले सेताम्य भएका छन्।  

डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ। लामो समयदेखि पानी नपरेर आकाशे पानीको भरमा लगाएको बालीनालीमा भने राहत पुगेको छ। हिमाली क्षेत्रमा भारी हिमपात हुँदा स्थानीयवासीलाई आवत जावतमा समस्या परेको छ।

चिसोका कारण जनजीवन मुस्किल हुँदै गएको छार्काताङसुङका निमा गुरुङले बताए। निम्न वर्गका स्थानीयवासीलाई मात्र हिमाली जिल्लामा रहेका कारण चिसोको प्रभाव त्यहाँ परेको छ। जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँ बालीलगायत बेमौसमी तरकारी बालीमा राहत पुगेको किसान बताउँछन्।  

चिसोका कारण विद्यालय समेत बन्द छन्। अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुसमा बिदा हुने गर्दछ। यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएका हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत बिच्छेद भएको छ। सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँका फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा अवरुद्ध भएको छ।  

सदरमुकाममा रहेका टावर सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। हुम्लाको यारी, हिल्सा नाका, लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ। उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्क समेत विच्छेद भएको छ। कर्णाली राजमार्गअन्तर्गत जुम्लाबाट मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ।रासस

प्रकाशित: ११ माघ २०७९ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App