७ वैशाख २०८१ शुक्रबार
समाज

हिउँ पर्न थालेपछि किसानहरू उत्साहित

लामो समयदेखि खडेरीको मार खेप्दै आएका जुम्ली किसानहरूमा यति बेला उत्साह छाएको छ। सोमबार रातिदेखि हिउँ पर्न थालेसँगै उनीहरूमा खुसी छाएको हो।

हिउँदे जाडोलाई बेपर्बाह गर्दै हिउँदे बाली राम्रो हुनेमा उनीहरू खुसी भएका हुन्। हिउँ परेसँगै यति बेला किसानहरू आ आफ्नो खेती कर्म तिर लागेका छन्।  माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा किसानहरू विश्वस्त छन्।

खडेरीले सुकेको हिउँदे बालीमा राहत पुग्ने भएपछि किसानहरूमा हिउँ पर्नु उत्साह साबित भएको हो। 

सिंजा गाउँपालिका ६ का किसान भिमबहादुर रावतले खेतबारीमा लगाएको जौं, गहुँ र उवा बाली उम्रिने समय भएको हुँदा यति बेला हिमपात हुनु फलदायी भएको सुनाए। माघ महिनाको वर्षा र हिमपातले  खेतीपाती र बाली राम्रो हुने उनको भनाइ छ।

सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रोसँग उम्रिने, उम्रेको बाली नष्ट गर्ने फट्याङ्ग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने उनले सुनाए।

हिमपातले जिल्लाका स्याउ किसान पनि थप उत्साहित भएका छन्। स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि मात्र प्राप्त हुने भएकाले व्यवसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन्।

उच्च लेकाली क्षेत्रका किसान हिउँका डल्ला बोकेर पोखरीमा जम्मा गर्ने गर्दछन्। स्याउ किसान रामबहादुर रोकायाले यो वर्ष समयमै हिउँ परेकोले स्याउ उत्पादन बढ्ने विश्वास गरेको बताउँछन्। 

उनी भन्छन् 'लामो समय खडेरी हुँदा स्याउमा रोग किराको संक्रमण हुने, स्याउ नफल्ने र कालो तुसारोले स्याउ सुकाउने गरिरहेको हुन्थ्यो। यस पटक समयमै चिस्यान प्राप्त हुने भएकोले स्याउको गुणस्तरीय उत्पादन हुने विश्वास गरेका छौँ।'

हिमपात भएसँगै स्याउ खेतीलाई ठुलो राहत भएको किसानहरू बताउँछन्।

अधिकांश पाखो जमिन वर्षा नहुँदा बाँझो हुने गर्दथ्यो। अब पाखो बारीमा पनि स्याउ र ओखर रोप्ने तयारी भइरहेको सिंजा ६ का किसान नर बुढाले बताए।

'यो सिजन भनेको स्याउ र ओखर लगाउने हो, खाडल खन्नेर तयारी थियो,अब राम्रो हुने भयो। कृषि प्राविधिकका अनुसार  ठिक समयमा हिउँ पर्दा जमिनमा चिस्यान उत्पन्न भएको छ। यो बेला खाडल खन्ने, स्याउ र ओखर रोप्नका लागि पनि उपयुक्त समय हो। समयमै हिमपात र वर्षा भएकाले बारी बाँझो राख्नुभन्दा स्याउ र ओखर  लगाउने तयारी गरिरहेका छौँ।' उनले भने।

पुस १५ देखि माघ अन्तिममा स्याउका बगैँचा काटछाट गर्ने र व्यवस्थापन गर्ने समय पनि हो। जुम्लाका ८ वटै स्थानीय तहका कृषि शाखाका प्राविधिकले किसानको स्याउ बगैँचामा पुगेर स्याउका बिरुवा काटछाट गर्ने तरिका, व्यवस्थापन र खाडल गर्ने तरिकाका बारे सिकाइरहेका थिए। हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग, किराहरूमा पनि कमी आउने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए।

यति बेला कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा हिउँ परेको हो। जुम्लामा भने यो वर्ष पहिलो पटक हिउँ परेको हो। पछिल्लो समयमा नियमित हिमपात र वर्षा नहुँदा जलवायुमा निकै हलचल भइरहेको थियो।

अघिल्ला वर्षमा मंसिर र पुसमा हिउँ पर्थ्यो, तर यो वर्ष माघ महिना देखि नै हिउँ पर्न थालेको छ। नियमित वर्षा र हिमपात नहुँदा खेती किसानीमा निकै घाटा हुने गरेको थियो।

प्रकाशित: १० माघ २०७९ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App