coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

किशोरी हत्या आरोपित विश्वकर्मालाई म्याद थप गरी अनुसन्धान सुरु

विद्यालयबाट घर फर्कँदै गरेकी किशोरीको हत्या आरोपमा केही दिनपछि नै पक्राउ परेका युवकमाथि म्याद थपेर अनुसन्धान सुरु भएको छ।

माघ २ गते विद्यालयबाट फर्कँदै गर्दा मृत भेटिएकी हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थान काभ्रेकी १७ वर्षीया रञ्जिता दाहालको हत्या आशंकामा खोटाङकै एक युवक पक्राउ परेका हुन्।

स्कुलदेखि घर फर्केको भोलिपल्ट बिहान घरदेखि २ सय मिटर टाढा खन्यूको फेदमा घाँटीमा आधा सल र रुखको हाँगामा आधा सल चुँडिएको अवस्थामा मृत भेटिएकी दाहालको बलात्कारपछि हत्या भएको आशंकामा खोटाङ रावाबेँसी गाउँपालिका ५ दुवेकोलका २५ वर्षीय अनन्त विश्वकर्मा पक्राउ परेका हुन्।

किशोरीको मृत्यु शङ्कास्पद र अस्वाभाविक भएको भन्दै परिवार, आफन्तजन र स्थानीयसमेतले निष्पक्ष छानबिनको माग गरेपछि प्रहरीले घटनास्थल प्रकृति र मृतकको इतिहास केलाउँदै जाँदा शंकाको सुई विकतर्फ घुमेको जिल्ला प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए। उनका अनुसार दुबेकोल स्थायी घर भए पनि केही वर्षयतादेखि झापामा अस्थायी बसोबास गर्दै आएका विक शङ्कास्पद पाइएपछि माघ ३ गते पक्राउ गरिएको हो।

दाहालसँग बिकको घनिष्ठ चिनजान नभए पनि झापादेखि त्रि–धार्मिक स्थल हलेसी हुँदै घर दुवेकोल जाने क्रममा भेट भएको खुलेको छ। बाटोको घरमा माघे सक्रातिको सेल रोटी र तरुल खान दिएको बेला बिक र दाहालबीच चिनजान भएको तर, सो क्रममा बिकको श्रीमतीसँग सम्बन्ध विच्छेद हुन लागेको प्रसङ्ग निस्केपछि गाउँलेसँग उनको सामान्य विवाद भएको खुलेपछि उनीप्रति प्रहरीको नजर परेको मुकारुङले बताए।

मृतकका आफन्तले दिएको किटानी जाहेरी अनुसार पक्राउ विश्वकर्माविरुद्ध प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाएको छ। उनलाई थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको डिएसपी मुकारुङले बताए। प्रारम्भिक अनुसन्धानमा किशोरीले हत्या नै गरेको भन्न नसकिने तर, आत्महत्या गर्न दुरुत्साहन गरेको हुनसक्ने अनुमान छ। प्रहरी अनुसन्धान जारी रहेको र पोस्टमार्टमको फरेन्सिक रिपोर्ट पनि नआइपुगेकाले घट्नाको वास्तविकता अहिले नै भनिहाल नसकिने उनको भनाई छ।

स्थानीयका अनुसार विश्वकर्माका बाबुआमा केही वर्षयता मृतक किशोरीकै घरनजिक काभ्रेस्थित दिनेश राईको घरमा बस्दै आएका छन्। गरिब र विपन्न परिवार भएकाले राईको घरमा बनीबुतो गरेर बस्दै आएका बाबुआमा भेट्न झापा बस्दै आएका विश्वकर्मा माघ १ गते सक्राति मान्न आएका थिए। स्थानीय महेन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा १० की विद्यार्थी दाहाल माघ ३ गतेदेखि विद्यालयले आयोजना गरेको नगरस्तीरय भलिबल, फुटबल तथा नृत्य प्रतियोगिताको तयारी गर्न गाउँले साथीहरूसँग विद्यालय गएकी थिइन्।

विद्यालयबाट साथीसँगै दिउँसो ३ः३० बजे घर फर्केकी उनी एकाएक बेपत्ता भएकी थिइन्। बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दासमेत हतार छ भन्दै हातमै रोटी बोकेर हिँडेकी उनी भोलि बिहान ७ः०० बजे जस्तो समयमा शङ्कास्पद अवस्थामा मृत भेटिएकी थिइन्। किशोरीको मृत्यु सामान्य नभएको भन्दै आफन्तजनले घट्नाको गम्भीर छानबिन र अनुसन्धान गर्न माग गरेका छन्। 

किरात/हिन्दु र बौद्ध धर्मावलम्बीको साझा त्रिधार्मिकस्थल हलेसीमा यसअघि पनि युवतिमाथि आपराधिक घटना भएकाले पनि स्थानीयले दाहालको मृत्युलाई अस्वाभाविक ठानेका छन्। यसअघि हलेसी मन्दिर आसपास युवतिहरू सुगा राई र ज्ञानी माया विश्वकर्मा यसरी नै मृत भेटिएका थिए। उनीहरूको बलात्कारपछि हत्या भएको प्रमाणित भए पनि हालसम्म संलग्न दोषी पत्ता नलाग्नुले दाहालको मृत्युको घटना त्यसकै शृङ्खला हुनसक्ने अनुमान आफन्तजनको छ।

प्रकाशित: १० माघ २०७९ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App