coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धरान ५ का पूर्व वडा अध्यक्षसहित एक दर्जनविरुद्ध पक्राउ पुर्जी, सबै फरार

आइतबार सार्वजनिक जग्गा मिचेको घर भत्काउन डोजर पुग्दा प्रतिवाद गर्दै पूर्व वडाअध्यक्ष सन्तोष लिम्बु (अगाडिका बायाँ) र उनका दाजु लक्ष्मी (दायाँ)। तस्बिर: नागरिक

धरान वडा नम्बर ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा आक्रमण तथा परिवार सदस्यलाई कुटपिट भएको घटनामा पूर्व वडाअध्यक्ष सन्तोष लिम्बुसहित एक दर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएपछि सबै फरार छन्।

आइतबार वडा नं ५ स्थित अधेरी खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा बनाउँदै गरेको घरमा उपमहानगरले डोजर चलाएको थियो। उक्त घटना पछि पूर्व वडाअध्यक्ष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुको नेतृत्वमा रहेको समूह वर्तमान वडाअध्यक्ष मनप्रसादको घरमा आक्रमण गर्न गएको थियो।

उक्त समूहले वडा अध्यक्षको घरमा रहेकी ८३ बर्सिया वृद्धासहित महिला सदस्यहरुलाई गालीगलौज तथा अपशब्द बोल्ने, पुरुष सदस्यहरुलाई कुटपिट गरेका थिए। वडा अध्यक्षकै घरमा गुण्डागर्दी शैलीमा आक्रमण र कुटपिटको घटना भएपछि वडा नं ५ मा त्रास फैलिएको थियो।

उक्त घटनाको बेला घरमा नभएका वडाअध्यक्ष लिम्बुले शान्ति सुरक्षाको माग गर्दे घटनामा संलग्न रहेको भन्दै पूर्व वडाअध्यक्ष लिम्बु र उनका दाजुसहित एक दर्जन विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले मुद्दा दर्ता गरेपछि सोमबार पक्राउ पुर्जी जारी भएपनि सबै फरार भएका थिए। प्रहरीले फरार भएकाहरूलाई खोजी कार्य तीव्र पारिरहेको जनाएको छ।

‘पक्राउ पुर्जी जारी भइसकेको छ, खोजतलास तीव्र पारिरहेका छौं,’धरानका डिएसपी बुद्ध श्रेष्ठले भने।

२०७४ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा जितेका सन्तोष लिम्बुकै पालामा अधेरी खोला किनारको सार्वजनिक जग्गा रिटेनिङ वाल उठाएर संरक्षण गरिएको थियो। गत बैशाखमा भएको निर्वाचनमा पुनः कांग्रेसबाट वडा अध्यक्षमा उठे पनि एमालेका उम्मेदवार मनप्रसाद लिम्बुसँग उनको प्यानलै पराजित भएको थियो। 

त्यसपछि भने पूर्व वडाअध्यक्ष लिम्बुकै संरक्षणमा उक्त सार्वजनिक जग्गामा मुना चौधरी लिम्बुले पक्की घर बनाउन थालेकी थिइन्। उपमहानगरपालिकाले २ पटक सूचना जारी गर्दै घर नबनाउन आग्रह गरेपनि अटेर गरेपछि आइतबार डोजर लगेर भत्काएको थियो। पूर्व वडाअध्यक्ष लिम्बु र उनको दाजुको नेतृत्वमा आइतबार घर भत्काउन नदिन युवाहरुले प्रतिरोध गर्दा केही बेर झडप पनि भएको थियो।

वडा नं ५ मा पूर्व वडाअध्यक्ष लिम्बु र उनको समूहको ज्यादतीविरुद्ध कसैले पनि बोल्ने आँट गर्दैनन्। गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका पूर्व वडाअध्यक्ष लिम्बु र उनको समूहविरुद्ध कसैले बोले भौतिक रुपमा आक्रमणमा उत्रने गरेका छन्। गएको चुनाव लगत्तै वडा सदस्य प्रेम दाहालले खोला उत्खननबारे मिडियामा बोलेको भन्दै पूर्व वडा अध्यक्षको समूहले घरमै आक्रमण गरेको थियो। उक्त घटना पछि वडा सदस्य दाहाल लामो समय भूमिगत बसेका थिए। ५ नम्बर वडा २०७२ मा मात्र धरानमा गाभिएको साबिक पाँचकन्या गाविसको ग्रामीण क्षेत्र भएकोले प्रहरी प्रशासन र मिडियाको पहुँचबाट टाढा छ।

एउटा अस्थायी प्रहरी चौकी भएपनि त्यहाँ जाने इञ्चार्ज पूर्व वडाअध्यक्ष लिम्बुसँग नजिकिएर उनकै पक्षमा हुने गरेको स्थानीय बताउँछन्। आइतबार वडा अध्यक्षको घरमा आक्रमण पछि अस्थायी प्रहरी चौकीका इञ्चार्ज पनि फेरिएको छ।

वर्तमान वडाअध्यक्ष लिम्बु त्रासको कारण पूर्व वडा अध्यक्षविरुद्ध कोही पनि बोल्न नसक्ने बताउँछन्।

‘हाम्रो वडावासीहरू शान्तिपूर्वक बस्न पाउनुपर्छ, सुरक्षित साथ स्कुल, बजार जान पाइयोस्, खुलेर बोल्न र कार्यक्रमहरू गर्न पाइयोस्। म यति नै चाहन्छु,’उनले भने,‘अहिले सुरक्षा निगरानी बढेकोले केही ढुक्क हुने अवस्था छ।’ 

वडाअध्यक्ष लिम्बु धरानको २० वटा वडामध्ये सबैभन्दा बढी संवेदनशील वडा भएकोले प्रहरी प्रशासनले शान्ति सुरक्षामा ध्यान दिनुपर्ने बताउँछन्। 

उनले थपे, ‘यो वडा एकदमै संवेदनशील वडा हो, त्यसैले प्रहरी जनशक्ति यहाँ बढाएर निरन्तर गस्ती गरिरहनुपर्छ, जनतालाई सुरक्षाको अनुभूति दिलाउनुपर्छ।’

प्रकाशित: १० माघ २०७९ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App