८ वैशाख २०८१ शनिबार
समाज

सूचना प्रविधिमा प्रयोग हुने नेपाली भाषामा एकरूपता हुनुपर्नेमा जोड

काठमाडौँ-सूचना प्रविधिमा प्रयोग हुने नोपली भाषा, सङ्केत, चिह्न, नाम थर लगायतमा एक रूपता हुनुपर्नेमा भाषाविज्ञहरूले जोड दिएका छन्।

प्रेस काउन्सिल नेपाल र सूचना प्रविधि तथा भाषा अध्ययन समाजद्वारा यहाँ आज आयोजित ‘सूचना प्रविधिमा नेपाली (सरकारी कामकाज) भाषाको व्यवस्थापन’ विषयको अन्तरक्रियामा उनीहरूले पहिले नेपाली भाषामा हाल देखिएको विवाद सल्टाएर त्यसमा एकरूपता ल्याउनुपर्ने धारणा राखे।

नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा विभाग प्रमुख प्रा डा हेमाङ्गराज अधिकारीले नेपाली लोक भाषालाई लोक भाषामै राखेर त्यसलाई मानक बनाउँदै लैजानुपर्ने बताए। नेपाली भाषालाई परम्परामै सीमित रहन दिन नहुने उनको भनाइ छ ।

भाषाविद् चूडामणि गौतमले पछिल्लो पटक भाषा सपार्नेभन्दा बिगार्नेमै विज्ञहरु केन्द्रित भएको भन्दै सम्बन्धित सङ्घ/संस्थाले नेपाली भाषालाई त्यसो नगर्न आग्रह गरे। अर्का भाषाविद् शरच्चन्द्र वस्तीले नेपाली भाषालाई रातारात परिवर्तन गर्नेभन्दा पनि सबैको मत–अभिमतका आधारमा मात्र परिवर्तन गर्नुपर्छ भने।

समाजका अध्यक्ष डा लक्ष्मीप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न पत्रपत्रिका र विद्युतीय सञ्जाललगायतमा भाषाको सही प्रयोग हुन सकेको छैन भने। अर्का कार्यपत्र प्रस्तोता तथा समाजका महासचिव इ सन्त बस्नेतले विशेष गरी नेपाली भाषामा प्रयोग हुने अक्षर र अङ्ग्रेजी भाषामा प्रयोग हुने अक्षरको लेखाइ एवम् उच्चारणमा एकरूपता ल्याउनुपर्नेमा जोड दिए।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले भाषामा शुद्धता हराउँदै जाँदा भाषाले मौलिकता समेत गुमाउँदै गएको बताए। रासस

 

प्रकाशित: ६ भाद्र २०७३ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App