coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चालक अनुमपति पत्र लिन निरोगिता प्रमाण पत्र किर्ते

जुम्ला– यातायात व्यवस्था कार्यालय कर्णाली जुम्लामा यस आर्थिक वर्षको पहिलो पटक खुलेको सवारी चालक अनुमति पत्र लिनका लागि पेश गरिएको निरोगीताको प्रमाण पत्र किर्ते भेटिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ५ महिनाअघि कार्यरत चिकित्सक मधु चौधरीको नाममा किर्ते निरोगिताको प्रमाण पत्र बनाएर फारम भरेको भेटिएको हो। उनी शिक्षण अस्पताल जुम्लाबाट ५ महिनाअघि राजिनामा दिएर गइसकेका थिए।

शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर निरेश थापाले मधु चौधरी नामको कुनै पनि डाक्टर हाल जिल्लामा नरहेको बताए । ‘यो सरासर किर्ते गरेको देखिन्छ,’ उनले भने, ‘यसको बारेमा स्थानीय प्रशासनलाई जानकारीका लागि पत्र पठाइसकेका छौं। अहिले अस्पतालमा आएर अधिकांशले निरोगिताको प्रमाण पत्र लिइसकेका छन्। मधु चौधरी नामको चिकित्सक अहिले कोही छैनन्।’

शिक्षण अस्पतालले निरोगिताको प्रमाण पत्र बनाउँदा दुई सय रुपैयाँ शुल्क लिने गरको भन्दै बाहिर किर्ते गरेकाहरुले १ हजार ५ सय रुपैयाँसम्म शुल्क तिर्दै आएको पाइएको छ। ‘सवारी चालक अनुमतिपत्र लिने व्यक्तिले आफै अस्पतालमा उपस्थित भएपछि मात्रै जाँच गरेर प्रमाण पत्र दिन्छौं,’ उनले भने, ‘जिल्ला वाहिर रहेका र पहुचवाला व्यक्तिले त्यो प्रकारको वदमासी गर्ने गरेको उनको अनुमान छ ।’

यातायात व्यवस्था कार्यालय कर्णालीका प्रमुख किरण ढकालले मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकले जाँच गरेको प्रमाण पत्र मात्रै आधिकारीक हुने बताए। ‘अनाधिकृत किर्ते प्रमाणपत्र बनाउनेलाई छानविन गरेर कारवाही हुन्छ। किर्ते प्रमाणपत्रसहित पेश गरेको फाइल प्रमुख जिल्ला अधिकारीमार्फत कारवाहीका लागि मेडिकल काउन्सिलसमक्ष पेश हुने भन्दै प्रमुख ढकालले भने ‘किर्ते गरेको पाइएको खण्डमा कारवाहीको भागिदार जोसुकैले हुनै पर्छ । निरोगीताको प्रमाण पत्रमा मेडिकल काउन्सीलले दिएको नम्बर उल्लेख हुनुपर्छ।’

चालु आर्थिक वर्षको शुरुवातमा भइरहेको सवारी चालक अनुमति पत्रको लिखित परीक्षा अहिले चलिरहेको छ। २ सयभन्दा बढीले भाग उक्त परीक्षामा भाग लिएको प्रमुख ढकालले जानकारी दिए। यता  सवारी चालक अनुमति पत्र किर्ते भएको थाहा भएपछि स्थानीय प्रशासनले कडाइ गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले यातायात व्यवस्था कार्यालय कर्णालीलाई फोन गरेर फाइलमाथि छानविन गरेर वितरण प्रक्रिया अघि वढाउन निर्देशन दिएका छन्। ‘किर्ते गर्ने जो सकुै व्यक्तिलाई छानविन गरेर कार्वाही गर्छौं,’ उनले भने ।

यसअघि दुई पटक सवारी चालक अनुमतिपत्र वितरण भइसकेको छ। सेवाग्राहीले भने लाइसेन्स वितरणमा दलालीले दुःख दिने गरेको बताएका छन्। सवारी चालक अनुमतिपत्रलाई प्रभावकारी र पारदर्शी बनाउन स्थानीय प्रशासनले निर्देशन दिइएको छ। यो पटकको चालक अनुमतिपत्र लिन अधिकांशले किर्ते निरोगीताको प्रमाण पत्र पेश गरेको श्रोतको दावी छ।

 

प्रकाशित: ६ भाद्र २०७३ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App