coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीको लापरबाहीले ज्यान गएको भन्दै जनकपुरमा प्रहरीविरुद्ध प्रदर्शन

जनकपुरधाम उपमहानगरपालिका १३ का विष्णु साह र वडा नम्बर ८ का रोहित साहको अपहरणपछि हत्या हुँदा परिवारजनले जनकपुर–ढलकेवर सडकखण्ड अवरुद्ध गरेका छन्। 

सोमबार उनीहरुले जनकपुरधामको पिडारी चोकस्थित सडक अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका हुन्। प्रहरीकै लापरबाहीले ज्यान गएको भन्दै उनीहरुले उक्त प्रहरीलाई कारबाहीको माग राखेका छन्।

गत पुष २६ गते रोहित मामाको घरमा विष्णुलाई लिएर भोज खान भारतको विहार राज्य परिहार गएका थिए। दुबै जना त्यहीबाट अपहरणमा परे। अपहरणकारीले साहद्वयको परिवारमा फोन गरी दश लाख फिरौती रकम माग गरेका थिए। फिरौती रकम जोहो गर्दै गर्दा आइबार उनीहरूको शव भारतको सितामढी जिल्लास्थित पर्सामा फेला परेको थियो। 

परिवारजनले गत पुष २९ गते प्रहरीलाई प्रमाणसहित जानकारी गराएको दाबी गरिरहेका छन्। परिवारजनले पहरीलाई फोन नम्बर र फिरौती रकम मागेको अडियो रेकर्ड समेत उपलब्ध गराएका थिए। तर प्रहरी उनीहरुलाई बेवास्ता गरेको आरोप लगाइएको छ।

प्रहरीले समयमा चासो नलिँदा हत्या भएको उनीहरूको बुझाई छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नेपालमा र चार जनालाई भारतमा पक्राउ गरिसकेका छन्। यद्यपि घटनाको मुख्य योजनाकार भने फरार छन्।

प्रहरीले मनरा सिस्वा नगरपालिका २ का किसन पण्डित र मुकेश पासवानलाई नेपालबाट पक्राउ गरेका छन्। भारतीय प्रहरीले पक्राउ गरेको बारे नेपाल प्रहरीले संख्या खुलाए पनि नाम खुलाएका छैनन्।

प्रकाशित: ९ माघ २०७९ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App