१० आश्विन २०७७ शनिबार
समाज

भूकम्पपीडितलाई सधैं 'गाईजात्रा'

भक्तपुर- दृश्य १: धिमेकोे मधुर धुन। घिन्ताङघिसीको (लट्ठी नाच) ट्वाक्क ट्वाक्क। कतै हाकुपटासीमा सजिएका युवतीको पाउजुको छमछम, कतै नयाँ लुगामा सजिएका केटाकेटीको खिलखिलाहट। शुक्रबार भक्तपुरको दरबारक्षेत्र जात्रामय देखियो। 

 

दृश्य २ : मक्किएको त्रिपाल फाटेर पानी तपतप चुहिँदै छ।  बाहिरको  घाम छल्न शिविरमा छिरेका केटाकेटी भित्रको तातोले निसासिएर बाहिर निस्कन्छन्। एकातिर क्वाँटी पाक्दै छ। अर्कोतिरबाट पानी चुहिँदै छ। १६ महिनादेखि  अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडितको 'गाईजात्रा'  अझै सकिएको छैन।

०००

भूकम्पको चपेटाबाट उठी नसकेका भक्तपुरका नेवार समुदायले शुक्रबार जात्राको प्रतीक 'ताहामच्चा' उठाउँदै गाईजात्रा पर्व मनाए। वैशाख १२ को भूकम्पले घर भत्केपछि अस्थायी शिविरमा बस्दै आएका उनीहरूले पीडाबीच पनि सांस्कृतिक पर्वको साख जोगाए। संस्कृति जोगाए पनि आफ्नो हालत भने भूकम्पपछि लगभग 'गाईजात्रा' कै रहेको उनीहरूले सुनाए।

'हो, अहिले हाम्रो दैनिकी नै गाईजात्रा जस्तो बनेको छ,' भूकम्पले घर भत्केर ब्यासीस्थित अस्थायी शिविरमा बस्दै आएकी बद्रीलक्ष्मी कोजुले भनिन्, 'कहिले पानी चुहिएर हैरान, कहिले हुरीले त्रिपाल उडाएर सास्ती।'

पानी चुहिने शिविरमा बसेर पर्वको तयारीमा जुटेकी उनले संस्कृति आफूहरूलाई प्यारो लाग्ने सुनाइन्। 'बाँचुन्जेल संस्कृतिलाई छाड्न सक्दैनौं,' उनले भने, 'सस्कृतिसँग हाम्रो जीवन जोडिएको छ।' १६ महिनादेखि शिविरको साँघुरो कोठामा घामपानी खेप्दै आएकी कोजुले शिविर बास सकसपूर्ण रहेको सुनाइन्।

भूकम्पले भक्तपुरमा ३९ हजार २ सय १० घरमा क्षति पुगेको जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्यांक छ। जसमध्ये  २४ हजार १ सय ७९ घर पूर्णरुपमा क्षतिग्रस्त भए भने ३ सय २९ जनाको मृत्यु भयो। सरकारले सहयोगको रकम नदिँदा थुप्रै पीडित अझै पनि अस्थायी शिविरमा बस्न बाध्य छन्।

'बाहिर जात्राको रमझम छ, शिविरमा आफ्नै दुःख छ,' पद्मोदय स्कुलछेउको महेन्द्रपार्कमा बस्दै आएकी ७० वर्षीया चन्द्रमाया सुवालले भनिन्, 'दुःखसुख गरेर चाडपर्व मनाउँदै छौं।' उनलाई दिउँसो  पिउने पानीको समस्याले सताउने गरेको छ भने राति आकाशबाट झर्ने पानीको चिन्ताले। 'पानी परेर भेल छिरेपछि बेहाल हुन्छ,' उनले भनिन्, 'निकै सकसका साथ बस्दै आएका छौं।' जस्तोसुकै अवस्था भए पनि आफूहरूले चाडपर्व धान्दै आएको उनले सुनाइन्।

भूकम्पपछि भक्तपुरका थुप्रै भौतिक संरचनालाई अझैसम्म काठको टेकोले धानेको छ। टेकोले अड्याइएका यिनै सम्पदाअगाडि शुक्रबार गाईजात्राको रथ उठाउँदै सर्वसाधारण अगाडि बढेे। 'विभिन्न समस्याका बाबजुद भक्तपुरवासीले  संस्कृति जोगाएका छन्,' भक्तपुर पर्यटन विकास समितिका उपाध्यक्ष रामसुन्दर भेलेले भने, 'जसले खण्डहरमाझ पनि सांस्कृतिक नगरी भक्तपुरलाई जीवन्त बनाइरहेको छ।'  

गाईजात्राको अवसरमा पर्यटन प्रवर्द्धन र कला संरक्षरणका लागि भक्तपुरमा परम्परागत नाचको प्रतियोगितासमेत आयोजना हुने भएको छ। भक्तपुर नगरपालिकाले आयोजना गरेको यस प्रतियोगितमा आइतबारबाट  विभिन्न नाच प्रदर्शन गरिने पर्यटक सूचना केन्द्रका दामोदर सुवालले जानकारी दिए।

शुक्रबारको जात्रामा थुप्रै विदेशीले सहभागिता जनाए। घिन्ताङघिसी (लट्ठी नाच) नियाल्दै गरेका उनीहरूले उक्त खेलमा सहभागिता पनि जनाए। जात्राको  समुद्रमा पर्यटक भक्तपुरका सर्वसाधारणसँग घुलमिल भए।

भक्तपुर दरबार स्क्वायरमा बिहीबार साँझ घिन्ताङघिसी सुरु भएपछि गाईजात्रा प्रारम्भ हुने चलन छ। शुक्रबारको गाईजात्रापछि आइतबारबाट प्रतियोगिता आरम्भ हुने उनले जानकारी दिए। 'टोलटोलबाट नाच टोली आउने छन्,' उनले भने, 'दतात्रय र नासमानामा रहेका निर्णायकले नाचको मूल्यांकन गर्ने छन्।'

जिल्लामा लोप हुन थालेका थुप्रै नाच यहाँको टोल–टोलमा हेर्न पाइने सुवालले बताए। प्रतियोगिता क्रममा देवी नाच, गाइचा, लुसी, लाखे, कलाली, जंगली, नागाचा, माक, नटुवाचा, खिचा कवान्चु भालु, ख्याक, हनुमानलगायत विभिन्न नृत्य देखाइने छ।

प्रत्येक वर्È श्रावण शुक्ल प्रतिपदाको दिन मनाइने गाईजात्रा पर्व भक्तपुरमा आठ दिन चल्छ। गाईजात्रालाई नेपाल भाÈामा सापारु भनिन्छ। गाईलाई विधिवत रूपमा नगर परिक्रमा  गराएमा दिवंगत आत्मा सजिलै स्वर्गलोक पुग्छ भन्ने धार्मिक विश्वास छ।

गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको सा“चा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ। उमेर पुगेका व्यक्तिको ताहामच्चा अर्थात चारवटा बा“स प्रयोग गरी गाईको प्रतीक बनाएर नगर परिक्रमा गर्ने प्रचलन छ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आज्ञा दिएपछि गाईजात्रा पर्व सुरु भएको किंवदन्ती पाइन्छ। यतिले पनि रानीको मन शान्त हुन नसकेपछि राजाले विभिन्न प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम देखाउन लगाएको र त्यसैअनुसार यो प्रचलन सुरु भएको जनविश्वास छ।

उपत्यकालगायत मुख्य रूपमा नेवार समुदायको बाक्लो बस्ती रहेका सहर बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा र पोखरामा पनि यो पर्व मनाइन्छ।

प्रकाशित: ४ भाद्र २०७३ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App