१९ श्रावण २०७७ सोमबार
समाज

उपचार खर्च नहुँदा साङ्लोमा

मानसिक सन्तुलन गुमाएकाले फलामको साङ्लोमा बाँधिएर दिन बिताउँदै उत्तम राई । तस्बिर: भीम चापागाईं

मालुम (इलाम)–मानसिक रोगले थलिएपछि सूर्याेदय नगरपालिका–४ मालुमका एक युवक साङ्लोमा बाँधिएर घरको कोठामा दिन–रात बिताइरहेका छन्। मान्छे चिन्ने तर सही–गलत छु्याउनै नसक्ने २४ वर्षे उत्तम राई यसरी साङ्लोमा बाँधिएर घरको एक कोठामा सीमित बनेको करिब ६ महिना भयो ।

स्थानीय फिक्कल उच्च माध्यमिक विद्यालयबाट २०६८ सालमा कक्षा १२ उत्तीर्ण गरेका उत्तम सुरुमा राम्रो बानी र बोली–व्यवहारकै थिए । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी स्नातक अध्ययन गर्न नसकी वैदेशिक रोजगारीमा मलेसिया पुगे। त्यहाँको ताइतुङ कम्पनीको रेस्टुरेन्टमा करिब ६ महिना काम गरेपछि बिरामी परेका उनलाई परिवारले घर फर्कायो ।

२०७० सालमा बिरामी अवस्थामा फर्किएका उत्तमको मानसिक सन्तुलन सुरुमा धेरै गुमेको थिएन। तर, बेलैमा उपचार गराउन परिवारमा आर्थिक समस्या थियो। तैपनि, गाउँलेबाट चन्दा संकलन गरी उनको उपचार गरेको उत्तमका अन्तरे भाइ ज्ञानेन्द्रले बताए। ‘गाउँले दाजु–भाइले चन्दा दिएको ४० हजारसहित डेढ लाख रुपैयाँ खर्च गर्दासमेत पार लागेन,’ ज्ञानेन्द्रले भने, ‘भारतको सिक्किमलगायत विभिन्न ठाउँ पुर्याएपनि मानसिक असन्तुलन घट्नुको साटो बढिरहेको छ।’

घरमा बिरामी दाजु यो अवस्थामा हुँदा हामी घर–परिवारमात्र होइन, गाउँलेलाई समेत पीर छ,’ ज्ञानेन्द्रले गहभरि आँसु पारेर सुनाए, ‘तर, हामीसँग उपचारका लागि जायजेथा छैन ।

घरमा जे पायो त्यही तोडफोड गर्ने, बोल्न हुने–नहुने सबै बोल्ने, गाउँघर, छिमेकी र परिवारसमेतलाई कुटपिटसमेत गर्न थालेपछि उनलाई साङ्लोले बाँधेर राख्नुपरेको ज्ञानेन्द्र बताउँछन्। उत्तमको हात र खुट्टामा फलामे साङ्लो बाँधिएको छ। रात–दिन घरभित्रै बसेका उनलाई त्यही कोठामा खानेकुरा दिइन्छ। दिसा–पिसाब पनि पनि कोठामै गर्छन् र परिवारजनले सफा गरिदिन्छन् ।

शरीरमा खासै लुगाफाटो लगाएको देखिँदैन। घाम नदेखेर छाला सेतो देखिन थालेको छ। हात–खुट्टा कुँजिएका छन्। कोही मानिस देख्नेबित्तिकै बर्बराउँछन्। ज्ञानेन्द्रका अनुसार उत्तम पहिला चिनेका मानिसलाई चिन्छन् पनि। ‘पहिला स्कुलमा पढेका गणितका सूत्र, अन्य पाठसमेत बेला–बेला भनिरहेका हुन्छन्,’ ज्ञानेन्द्रले सुनाए, ‘तर, यहाँबाट उम्किनेबित्तिकै मानिसलाई हप्काउने, कुट्ने, तोडफोड गर्ने भएकाले बाँधेर राख्नुपरेको छ।’

आर्थिक अवस्था दयनीय भएको उनको परिवारको खर्च छिमेकीकहाँ गरेको रोजगारीले धान्दैछ। उत्तमको उपचार गर्ने इच्छा भएपनि उपचार खर्च अभावले पिरोलिनुपरेको ज्ञानेन्द्रले बताए। ‘घरमा बिरामी दाजु यो अवस्थामा हुँदा हामी घर–परिवारमात्र होइन, गाउँलेलाई समेत पीर छ,’ ज्ञानेन्द्रले गहभरि आँसु पारेर सुनाए, ‘तर, हामीसँग उपचारका लागि जायजेथा छैन ।

बिहान–बेलुकाको रोजगारीले खान–लाउनमात्रै मुस्किलले पुग्छ ।’ सरकारी वा गैरसरकारी निकायले उपचारमा सहयोग गरिदिए ‘ठूलो गुन’ सम्झिने उनी सुनाउँछन् । ‘कक्षा १२ सम्म पढेको मान्छे हो, उपचार त पक्कै हुन्छ भन्ने लाग्छ,’ उनले थपे, ‘तर, हामीले इच्छा भएर पनि उपचार गराउन सकेका छैनौं ।’

 

प्रकाशित: १ भाद्र २०७३ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App