काठमाडौं– कीर्तिपुर नगरपालिकाले आफ्ना सबै काम तथा सेवा डिजिटलाइज गरेको छ। जन्म, मृत्यु तथा विवाह दर्तादेखि नक्सापास, राजस्व दाखिला, सामाजिक सुरक्षा भत्ता वितरणमा समेत नगरपालिकाले कम्प्युटर प्रविधिको प्रयोग थालेको छ । नगरपालिकाले साउनदेखि सबै कागजी कामलाई डिजिटलाइज गरेको हो ।
त्यस्तै नगरपालिकाको आय–व्ययको हिसाबकिताब ढड्डाको साटो कम्प्युटरमा नै राख्न थालेकाले दैनिक कामकाज समेत सहज र छिटो छरितो भएको नगरपालिकाका सूचना अधिकृत सुजिन्द्र महर्जनले बताए । उनले घरको नक्सा पास पनि इलेक्ट्रोनिक बिल्डिङ पास सिस्टमबाट सुरु भएको र यसबाट नक्सा पास सेवाग्राहीले आवश्यक कागजातका मुठा बोकेर नगरपालिकामा लाम लाग्नु नपर्ने बताए । साथै नक्सा पास गर्न पनि छिटै हुने जानकारी दिए ।
सबै वडामा सबै कामकारबाही कम्प्युटरबाटै गर्न थालेपछि सबै काम छिटो छरितो भएको नगरपालिकाले जनाएको छ । योजना, जिन्सी, नक्सादेखि पञ्जीकरण, जन्मदर्ता, मृत्युदर्ता, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि कम्प्युटर उपयोग गरिएपछि अहिले नगरपालिका डिजिटलाइज भएको महर्जनले बताए ।
उनले भने, ‘कीर्तिपुर नगरपालिका छिट्टै अरु नगरपालिकाभन्दा व्यवस्थित हुनेछ ।’ पहिलेको तुलनामा नगरपालिकाको काम छिटो छरितो भएकाले सेवाग्राही सन्तुष्ट भएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित: १ भाद्र २०७३ ०३:१५ बुधबार