७ वैशाख २०८१ शुक्रबार
समाज

विदेश जाने युवालाई प्रलोभनमा पारी ठगी गर्ने ७ पक्राउ

इटहरी– विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिव्यक्ति ३ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म लिएर आकर्षक कमाई हुने देशमा पठाउने भन्दै विनय टेक्निकल कम्पनी प्रालिमा अन्तर्वार्ता लिँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले इटहरी– १६ का चन्द्रेश्वर चौधरी, मोरङ सुन्दरदुलारी– ७ का पुरण चौधरी र श्रीलंकाली नागरिक अमिला अलाहाकोनलाई पक्राउ गरेको हो। यी तीन जनाको साथबाट प्रहरीले २५ थान पासपोर्ट र अन्य कागजात पनि बरामद गरेको डिएसपी ओम अधिकारीले बताए।

डिएसपी अधिकारीका अनुसार पक्राउ पर्ने समूहले अन्तर्वार्ता लिएर तत्काल पैसा संकलन गर्ने योजना बनाएको गोप्य सूचना पाएर अन्तर्वार्ता लिएको स्थानबाट पक्राउ गरिएको हो।

यसैगरी, एजेन्ट  र शाखा कार्यालय खारेज गरिसके पनि अवैध रुपमा विदेश पठाउने काम गर्दै आएका चार जना पक्राउ परेका छन्। लिङ्कन स्टार मेनपावरको नाममा विदेश पठाउन खोज्ने इटहरी– १९ का केशव गिरी र सोही ठाउँका गंगाबहादुर निरौला पक्राउ परेका हुन्। पक्राउ पर्ने गिरीले लिङ्कनको सञ्चालक र निरौलाले कामदारको भूमिकामा रहेर विभिन्न स्थानका वैदेशिक रोजगारमा जानेसँग ५९ थान पासपोर्टसमेत प्रहरीले बरामद गरेको  छ।

विदेश जान चाहने युवालाई ठगी गर्दै आएको सूचनाका आधारमा प्रहरीले वाइज नाम राखेर विदेश पठाउने काम गर्ने सुनसरी भरौल– ५ का रमेश विष्ट र मोरङ इटहरा– ७ का शिवप्रसाद आचार्यलाई पनि पक्राउ गरेको छ। सातै जनालाई वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइको छ।

इटहरीमा अवैध रुपमा काम गर्दै आएको समूहले विदेश जानेलाई अनेक भ्रममा पारेर  ठगी गरिरहेको पाइएको छ। इटहरीमा आधिकारिक १३ वटा शाखा कार्यालय छन् भने एजेन्ट कार्यालय बग्रेल्ती छन्।
एजेन्ट कार्यालयलाई पासपोर्ट संकलन गरेर मेनपावरको मुख्य कार्यालयमा पठाउने मात्र अधिकार हुन्छ। इटहरीमा भने एजेन्ट कार्यालयले पासपोर्ट संकलन पनि गर्ने र आर्थिक कारोबार पनि गर्ने गरेको पाइएको छ। यहाँ एजेन्ट कार्यालयले वैदेशिक रोजगारमा जाने सर्वसाधारणसँग तोकिएभन्दा बढी पैसा असुल्ने गरेका छन्।

एजेन्ट कार्यालयले मेनपावर कम्पनीको मुख्य कार्यालयले कामदार मागबारे प्रकासित विज्ञापनलाई परिवर्तन गरी स्थानीय मिडिया प्रयोग गरेरसमेत ठगी गर्ने गरेका छन्। एजेन्ट कार्यालयले सबैभन्दा बढी पूर्वको इटहरीमा अवैधानिक काम गर्ने गरेको पाइएको छ।

इटहरी चोकको चौरास्त पूर्व–पश्चिम र उत्तरदक्षिण क्षेत्रको चार सय मिटर आसपासमा बग्रेल्ती एजेन्ट कार्यालय वलोपलो कठामा सञ्चालनमा छन्। इटहरीपछि पूर्वको झापामा एजेन्ट कार्यालयले अवैधानिक काम गर्ने गरेको पाइएको छ।

इटहरीमा पछिल्लो समय सरकारी नियमनकारी निकायले कारबाही थालेसँगै अधिकतर एजेन्ट कार्यालय र शाखा कार्यालयले बोर्डसमेत हटाएका छन्। कतिपयले भने घरमै बसेर लुकिछिपी एजेन्टको काम गदैं आएका छन्।

यसरी अवैध रुपमा काम गर्नेमध्ये पुसदेखि साउनसम्ममा १५ जनालाई इटहरी प्रहरीले पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइसकेको जनाएको छ।  

युवा शक्ति विदेश पलायन हुने क्रम बढेसँगै बेथिती पनि बढेको छ। बैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै दिनहुँ प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी पर्ने क्रम पनि बढ्दो  छ।

 

प्रकाशित: ३१ श्रावण २०७३ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App