८ वैशाख २०८१ शनिबार
समाज

कोसी अस्पताल प्रकरण: चिकित्सकसहित ३ स्वास्थ्यकर्मीलाई काममा रोक, छानबिन समिति गठन

विराटनगरस्थित कोसी अस्पतालका एक जना चिकित्सकसहित ३ जना स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले काममा रोक लगाएको छ।

बुधबार अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा रहेका डाक्टर आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काम गर्न रोक लगाएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए।

उनीहरु ड्युटीमा रहेका बेला १८ दिने शिशुलाई मृत घोषित गरेपछि विवाद सुरु भएको थियो। अस्पतालमा उपचार गर्न ल्याइएको शिशुलाई आकस्मिक कक्षका डाक्टरले सामान्य हेरेर मृत घोषित गरेको थिए। तर, मृत भनिएको शिशुलाई घर लगेपछि रुने र जिऊ चलाउन थालेपछि घटनाले अर्को रूप लिँदै बुधबार दिनभर अस्पताल तनावग्रस्त बनेको थियो।

मृत्यु नभएको शिशुलाई मृत घोषित गरेका डाक्टर आकाश यादवसहित ड्युटीमा रहेका अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई तत्काल काम नगर्न रोक लगाउँदै छानबिन समिति गठन गरिएको अस्पताल प्रशासनले जनाएको छ। 

अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालका अनुसार डाक्टरसहित ३ जनालाई काममा रोक लगाउँदै स्पष्टीकरण सोधिएको र ३ सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको छ।

अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रवीण झाको नेतृत्वमा बालरोग विशेषज्ञ डाक्टर सूर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपाल रहेको छानबिन समिति गठन गरी काम थालेको छ।

सूचना अधिकारी नेपालका अनुसार छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाई ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी काम थालेको बताए। उनले छानबिनका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही देखिए कारबाही हुने बताए।

मंगबार राति आमाले दूध खुवाउँदै सामान्य अवस्थामा रहेको शिशुलाई बुधबार बिहान दूध खुवाउन खोज्दा शिशुले कुनै चाल नदिएपछि कोसी अस्पतालमा ल्याइएको थियो। अस्पतालको आकस्मिक कक्षमा रहेका डाक्टरले सामान्य किसिमले हेरेर शिशुलाई मृत घोषित गरेको शिशुका पिता दीपक मुखियाले बताए।

डाक्टरले मृत घोषित गरेपछि दाहसंस्कार गर्नका लागि घर लगेपछि बच्चा एक्कासि रुँदै जिउ चलाउन थालेपछि कोसी अस्पताल नजिकै रहेको निजी अस्पताल गोल्डनमा उपचार गर्न लगिएको थियो।

शिशुका पिता दीपकका अनुसार अहिले (बिहीबार दिउँसोसम्म) गोल्डेन अस्पतालमा शिशुको उपचार हुँदै छ भने स्वास्थ्यमा केही सुधार भए पनि आइसियुमा राखेर उपचार भइरहेको छ।

प्रकाशित: ५ माघ २०७९ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App