coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नगर टुक्राउने विषयमा विवाद, नगरसभा बैठक स्थगित

देशकै ठुलो भूगोल भएको शितगंगा नगरपालिकामा नगर टुक्राउने विषयमा विवाद हुँदा नगरसभा बैठक प्रभावित भएको छ।

क्षेत्रफलका हिसाबले राष्ट्रकै ठुलो नगरपालिकामा पछिल्लो समय नगर टुक्राउने वा विशेष क्षेत्र बनाउने भन्नेमा विवाद छ जसले गर्दा नगरसभा बैठक अनिश्चित बनेको हो। नगर उपप्रमुख गिता भाट सहित केही वडाध्यक्ष नगरपालिकालाई विभाजन गरेर तिन पालिका बनाउनु पर्ने अडानमा छन् भने नगर प्रमुख छविलाल पौडेल लगायत केही वडाध्यक्ष विशेष क्षेत्र बनाउनु पर्ने पक्षमा छन्।

आआफ्नो अडानका कारण गत पौष २७ गते बुधवारका लागी तोकिएको नगर सभाको बैठक स्थगित गर्नु पर्‍यो। मिति तोकिएको नगरसभा स्थगित भएपछि पुनः मिति तोक्ने विषयमा अन्यौलता भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए।

नगरपालिकाले आफ्नो पुनः संरचनाको विषयलाई लिएर दुई पक्ष बिच विवाद भएपनि नगर सभाको तयारी नपुगेकाले स्थगित गर्नुपरेको बताउँदै आएको छ। अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत खनालको भनाई छ।

अर्घाखाँचीको दक्षिणी भेगमा अवस्थित शितगंगामा यती बेला नगरपालिका फुटाउनु पर्ने आवाज उठिरहेको छ। अर्घाखाँचीमा छ वटा स्थानीय तह छन्। जिल्लाको १२३९ दशमलव ०८ प्रतिशत भूभाग मध्ये शितगंगाले ६१० दशमलव ४३ वर्ग किलोमिटर (४९ दशमलव २६ प्रतिशत) क्षेत्रफल ओगटेको छ।

आधा अर्घाखाँची ओगटेको शितगंगा नगरपालिकामा अन्य स्थानीय तह सरह नै बजेट आउने गरेकाले विकासमा बाधा पुगेको निष्कर्ष सहित फुटाएर तिन वटा गाउँपालिका बनाउनु पर्ने दबाब बढेको छ। नगरपालिकाको भौगोलिक बनावट, छरिएको बस्ती, अत्याधिक वन क्षेत्र तथा विकटताले त्यहाँको विकास सोचेजस्तो हुन नसकेको भन्दै पुनः संरचना गर्नुपर्ने माग भएको हो।

एमाले नेता तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले नगरपालिकाको पुनः संरचना नगरी यहाँको विकास असम्भव रहेको बताए। राज्यले दिने बजेट बालुवामा पानी खन्याए जस्तो भएको भन्दै उनले यो नगरपालिकालाई विभाजन नगरी यहाँको विकास अगाडी बढ्न नसक्ने बताए।

‘क्षेत्रफलका हिसाबले देशकै ठुलो भूभाग भएको नगरपालिका हो। तर, यसलाई नटुक्राई यहाँको विकास असम्भव छ, सांसद घिमिरेले भने, ‘तिन वटा पालिकामा विभाजन गरेर अघि बढ्नु पर्छ।’

शितगंगामा १४ वटा वडा रहेका छन्। पालिका फुटाउँदा वडा नम्बर १, २, ३, ४, १२, १३, १४ मिलाएर एउटा पालिका, वडा नम्बर ५, ६, ७ र भुमिकास्थान नगरपालिका वडा नम्बर–१० (धनचौर) मिलाएर अर्को पालिका, वडा नम्बर ८, ९, १०, ११ मिलाएर थप एउटा पालिका बनाएर तिन वटा पालिका बनाउनु पर्ने प्रस्ताव अघि सारिएको छ।

राजनीतिक तथा कानुनी जटिलताले यो सम्भव नभएको नगरपालिकाका निवर्तमान मेयर सूर्य प्रसाद अधिकारीको भनाइ छ। आफ्नो कार्यकालमा शितगंगा नगरपालिकालाई ‘विशेष क्षेत्र’ घोषणा गर्न नगरसभा बाट पास गराएर प्रदेशमा पेश गरेको स्मरण गर्दै उनले प्रयास असफल भएको बताए।

‘विशेष क्षेत्र घोषणा गर्न नगरसभा बाट पास गराएर प्रदेशमा लग्यौँ,उनले भने, ‘अहिले पनि टुक्राउनु भन्दा विशेष क्षेत्र घोषणा गरेर जानु उत्तम हुन्छ।’ 

एक किसिमको मानसिकता बनिसकेको र एक प्रकारको संरचना तयार भइसकेकाले टुक्राउने विषय फगत कल्पना मात्र हुने उनले बताए।

नेपालको संविधान २०७२ ले तिन तहको शासकीय प्रबन्ध गरेपछि विसं. २०७३ मा शितगंगा नगरपालिकाको स्थापना भएको थियो। त्यतीबेला बसेको सर्वदलीय संयन्त्रमा समेत दुई गाउँपालिका बनाउने प्रस्तावमा छलफल भएको थियो। पालिकाको केन्द्र बनाउने विषयमा राजनीतिक दल भित्र कुरा नमिलेपछि एउटै नगरपालिका बनाइएको थियो।

प्रकाशित: ४ माघ २०७९ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App