१६ चैत्र २०८० शुक्रबार
समाज

धरौटी बुझाउन नसकेका बन्दीलाई छुट्न र सुध्रन सघाउँदै

काठमाडौं– नैकापकी सुष्मा मगर (नाम परिवर्तन) का २२ वर्षे  छोरालाई गत वैशाखमा चोरी अभियोग लाग्यो। जिल्ला प्रहरी कार्यालय ललितपुरले वैशाख २२ मा ४६ हजार धरौटी लिएर निकाल्ने भन्यो। उनको घरको आर्थिक अवस्था राम्रो थिएन। चिनेजतिसँग सापट मागिन्। तर पाइनन्।  

सोही अभियोगमा परेका अरु भने धरौती बुझाएर निस्के । पछि हिडेन लाइफ फाउन्डेसनले उनले जुटाउन नसकेको पैसा जुटाइ दियो। त्यसपछि असारमा छोरा निकाल्न उनी सफल भइन्। ‘उहाँहरुले सहयोग नगरेको भए मेरो छोरा चार वर्ष जेलमै सड्थ्यो,’ उनले बिहीबार भनिन्। छोरा छुटाउन लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता अहिले उनमा छ।

उस्तै कथा छ, थसिखेलका अनुप राईको। कुलतमा परेर गाँजा र रक्सी सेवन गर्थे। एक दिन आफैंले खान राखेको गाँजासँगै प्रहरीले पक्रियो। लागुऔषध ओसारपोसार अभियोगमा थुनिए । प्रहरीले डेढ लाख माग्यो । उनको यो दिन सक्ने अवस्था थिएन । श्रीमतीले माइतीतिर गएर केही रकम जुटाइन्, केही अपुग भयो ।

पन्ध्र हजार पुगेन । पछि ‘हिडेन लाइफ फाउन्डेसन’ले नपुग रकम दियो र उनी छुट्न सके । ‘आपतमा पन्ध्र हजार पनि ठूलै हुँदोरहेछ,’ राईले भने । ‘हिडेनले धरौटीमा सहयोग मात्र गरेन, निस्केपछि पनि काम दिने र कुलत छुटाउने दुवै काम ग¥यो,’ राइले भने । अहिले उनी जेलमा यस्तै पीडितको उद्धारमा लागेका छन् । हिडेनले उनलाई निस्केपछि काम दिएको हो ।

लागूपदार्थ सेवनकै कारण जेल परेका कलंकीका रविचन्द्र सुवेदी हिडेनकै सहाराले अहिले पुनस्र्थापन क्रममा छन् । ‘पाँच महिना भयो, अहिलेसम्म सेवन गरेको छैन,’ उनले भने । उनी पनि यही अभियानमा जुटेका छन् ।

बिहीबार ‘हिडेन लाइफ फाउन्डेसन’को कार्यक्रमका फाउन्डेसनले थोरै धरौती फिर्ता गर्न नसकेकै कारण हजारौं बन्दी जेलमै बस्न बाध्य भएको जानकारी दियो ।

‘कति अरुले अपराधमा फसाएका हुन्छन्, तीन हजार रकम तिर्न नसकेर पनि बन्दी बनिरहेको देखिन्छ,’ संस्थाकी सहसंस्थापक करुणा पुडासैनीले भनिन् । फाउन्डेसनका अनुसार अहिले देशभरिमा ५ देखि ७ हजार सजायँ भोगिसकेका र न्यूनतम धरौती तिर्न नसकेका बन्दी छन् । देशभर करिब १८ हजार बन्दी रहेको तथ्यांक छ ।

संस्था संस्थापक विवेक उपाध्यायले गरिबी तथा अन्य कारण लागुऔषध तथा चोरी जस्ता अपराधमा फस्ने गरेकाले सजायँ पाइसकेर धरौती फिर्ता दिन नसकेकालाई निकालेर सुधार गर्र्ने अभियानमा रहेको बताए । संस्थाले २३ जना यस्ता बन्दीलाई सहयोग गरी पुनस्र्थापन गरिसकेको दाबी गरेको छ ।

जेलबाट निस्केका उनीहरुलाई मानसिक तथा आर्थिक रुपमा सक्षम बनाउन ध्यान, आवश्यकता अनुसार सीप विकास तालिममार्फत् पुनस्र्थापन गरेको संस्थाले जनाएको छ । मानिसले एकपटक अपराधको सजायँ भोगिसकेपछि पनि समाजले हेर्ने कोण सधैं गलत भएकाले बन्दीलाई समाजमा पुनस्र्थापन हुन चुनौती रहेको कार्यक्रमका वक्ताले बताए । समाजले गर्ने यस्तो व्यवहारका कारण बन्दी पुनः अपराधको बाटोमा हिँड्न बाध्य हुने भएकाले उनीहरुमाथि विशेष ध्यान दिनुपर्ने उपाध्यायले बताए ।

कार्यक्रममा प्रहरी एआइजी विज्ञानराज शर्माले पछिल्लो समय लागुऔषध गिरोहले महिला र बालबालिकालाई प्रयोग गरेका कारण महिला र बालबालिका बढी जेलमा पुगेको बताए ।

 

प्रकाशित: २८ श्रावण २०७३ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App