coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यती एयर दुर्घटनाः दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टिम घटनास्थलमा

यती एयरको जहाज दुर्घटनामा परेको घटनास्थल अध्ययन गर्न बुधबार पोखरा आएको फ्रान्सेली टिम घटनास्थलमा। तस्बिर/नागरिक

पोखरामा गत आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली आइपुगेको छ। विदेशी विज्ञको टोली बुधबार नै पोखरास्थित घटनास्थल पुगेको छ। एटिआर विमान निर्माता कम्पनिबाटै प्रतिनिधि आएको नेपाल नागरिक उड्ययन प्राधिकरणले बताएको छ।  

प्राधिकरणका एकजना अधिकारीका अनुसार फ्रान्सेली टिम जहाज दुर्घटनाको अध्ययनका लागि पोखरा आएको हो। ‘फ्रान्सेली विज्ञको टिम पोखरा आएको छ। टिमले घटनास्थलको अवलोकन गरिरहेको छ,’ प्राधिकरणका ती अधिकारीले भने, ‘प्रत्यक्षदर्शी सहित आसपासका प्रत्यक्षदर्शीसँग जहाज दुर्घटनाका बारेमा छलफल गर्नेछ। टिमले प्राधिकरणका पोखरास्थित पदाधिकारीसँग पनि छलफल गर्नेछ।’

प्रहरीले पनि टिमले घटनास्थलको अवलोकन गरिरहेको बताएको छ। कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार टिमले दिउँसोदेखि नै घटनास्थल अवलोकन गरिरहेको छ। सरकारले पनि दुर्घटनाको छानविन गर्न भिन्दै समिति बनाएको छ। समितिलाइ अध्ययन गर्न ४५ दिन समय दिइएको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग पनि बनाएको छ। आयोगले पनि पोखरामै रहेर काम गर्न थालेको छ।  

गत आइतबार भएको यो दुर्घटनामा चालक दलका चार सहित ७२ जना सवार थिए। त्यसमध्ये १५ जना विदेशी नागरिक थिए। दुर्घटनामा परेकामध्ये ७१ जनाको शव फेला परिसकेको पनि प्रहरीले बताएको छ। बाँकी एकजनाको भने शरिरको अंग नछुट्टिएकोले यकिन गर्न नसकिएको प्रहरी प्रवक्ता खड्काले बताए।  

‘हामीले ७१ जनाको शव त पक्का गरिसकेको छौ। तर, कतिपयको अंग फरक फरक तरिकाले फेला परेकोले ७२ जनाकै भन्न नसकेका हौ। तर, खोजी पनि जारी छ,’ उनले भने, ‘अंग पहिचान भएको खण्डमा ७२ जनाकै शव फेला परेको पुष्टि पनि हुनेछ। मृत्यु भएका मध्ये ४८ जनाको शव भने मंगलबार नै काठमाडौं पठाइएको थियो। २२ जनाको पोखरामै पहिचान गरेर बुुझाइएको थियो।  

पामा यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको जहाज दुर्घटनामा परेको थियो। यो जहाज सन् २००७ मा बनेको खुलेको छ। फ्रान्सेली–इटालियन कन्सोर्टियमले बनाएको जहाज विगत १५ वर्षदेखि उडान भरिरहेको थियो। पछिल्लो समय नेपाली वायुसेवा कम्पनिले सर्वाधिक रुचाएको यूरोपियन जहाज एटीआर टर्बाेजेट विमान हो। यो मोडलको विमानको नेपालमा पहिलो र डरलाग्दो दुर्घटना हो। आन्तरिक उडानतर्फ अहिलेसम्मकै डरलाग्दो दुर्घटना भएको हवाई क्षेत्रका सरोकारवालाको भनाई छ।  

प्रकाशित: ४ माघ २०७९ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App