पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका थप एक जनाको शव भेटिएको छ। काठमाडौंबाट पोखरा आएको 9N-ANC कलसाईन भएको यती एयरलाईन्सको एटिआर जहाज पोखराको सेती खोंचमा दुर्घटना हुँदा ज्यान गुमाएका थप एक जनाको शव मंगलबार भेटिएको हो। योसँगै विमान दुर्घटनामा ज्यान गुमाएका ७१ जनाको शव भेटिएको छ। ७२ जना सवार सो विमानमा रहेका थप १ जनाको भने शव फेला पार्न बाँकी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
विमान दुर्घटनामा परेर बेपत्ता भएकाहरुको मंगलबार विहानैदेखि खोजी जारी राखिएको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोताखोरको टोलीले दुर्घटना स्थल वरपर केन्द्रीत गरेर चार वटा ड्रोनकोसमेत सहायता लिएर मंगलबार खोजि गर्ने क्रममा थप एक जनाको शव भेटिएको प्रजिअ केसीले बताए। सेती नदीको पानी घटाएर खोज्ने क्रममा मंगलबार दिउँसो एक जना महिलाको शव भेटिएको उनको भनाई छ। महिलाको शव घटनास्थल भन्दा करीब तीन सय मिटर तल भेटिएको उनले बताए। सेतीको पानी घटाएर खोजी शुरु गर्दा त्यसको परिणाम स्वरुप उपलब्धी हात पर्यो। हामीले सोंचेजस्तै शव भेट्टाउन सफल भयौं, अब अर्को शव पनि फेला पर्ने विश्वास लिएका छौं’–उनले भने। उनले भीरमा अड्किएकाले महिलाको शव निकाल्न निकै हम्मेहम्मे परेको बताए।
मंगलबार दिउँसो नै अर्को एक जनाको हात र खुट्टा भेटिए पनि त्यो कसको हो भन्ने पहिचान भईसकेको छैन। प्रजिअ केसीले भने,‘मंगलबार एक जना महिलाको शव भेटियो। तर अर्को एक जनाको हात खुट्टा भेटिएपनि यसअघि भेटिएका शवहरुकै हात खुट्टा हो वा बेपत्ता भएका व्यक्तिको हो भन्ने यकिन भएन।’ उनले यसबारे डिएनए परीक्षणपछि मात्रै खुल्ने बताए।’दुर्घटनामा ज्यान गुमाएका सबैको शव भेटियो भन्ने अवस्थामा छैनौं हामी। अहिलेलाई अझै एक जना बेपत्ता नै भन्नुपर्छ। बेपत्ताको खोजी जारी राख्छौं। खोज्दा खोज्दै पनि भेटिएन भने हात खुट्टामात्र भेटिएकाको पनि डिएनए परीक्षण गर्छौं। त्यतिबेला पुष्टि भयो भने मात्र सबै जनाको शव भेटिएको भन्न सकिन्छ’–उनले भने।
मंगलबार भेटिएको शव भने सनाखत हुन सकेको छैन। शव संकलन गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको उनले जानकारी दिए।
प्रकाशित: ३ माघ २०७९ १२:५२ मंगलबार