७ वैशाख २०८१ शुक्रबार
समाज

राजश्व बाँडफाँडको रकम निकासा नआउँदा स्थानीयतहहरु प्रभावित

सदरमुकाम त्रियुगा नगरपालिका कार्यालय। तस्बिर: महेश्वर

हरेक महिना आउनु पर्ने राजश्व बाँडफाँडको रकम २ महिनायता निकासा नआउँदा स्थानीयतहहरु प्रभावित भएका छन्। महालेखा नियन्त्रण कार्यालय (मलेनिका)ले मासिक निकासा दिनु्पर्ने राजश्व बाँडफाँडको रकम मंसिरदेखि नपठाउँदा स्थानीय सरकार सञ्चालन कार्य प्रभावित भएको हो।

मलेनिकाले नियमित रकम निकासा नदिँदा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहहरुको आर्थिक गतिविधि प्रभावित हुन पुगेको गुनासो उनीहरुको छ। सदरमुकाम त्रियुगा नगरपालिकाले सो शीर्षकको रकम रोकिएका कारण मंसिरदेखि धेरै काम अलपत्र परेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए। उनका अनुसार हरेक महिना आउनुपर्ने राजश्व बाँडफाँडको रकम कात्तिकसम्म नियमित आईरहेको तर, मंसिर र पुसको अझै निकासा आएको छैन।

नियमित निकासा नआउँदा कार्यालय सञ्चालन र कर्मचारी तलब भत्तासमेत दिन नसकिएको उनले बताए। राजश्व बाँडफाँडको रकमले संघीय कर्मचारीलाई तलव भत्तादेखि कार्यालय सञ्चालन, मसलन्धलगायत अन्य बिबिध खर्च धान्नुपर्ने प्रावधान रहेको वनको भनाइ छ। मलेनिकाले निकासा नपठाउनुको कारण राजश्व संकलन नभएको तथा चुनावलाई जनाउको अधिकृत वन बताउँछन्।

त्रियुगाकी लेखा अधिकृत बिनया बस्नेतले ६ महिनामा आउनुपर्ने निकासा रकम अहिलेसम्म चौमासिक बराबरको मात्र आएको बताइन्। चालु वर्षको बजेटमा त्रियुगाले राजश्व बाँडफाँड शीर्षकमा १९ करोड ५५ लाख प्रक्षेपण गरेको छ, तर हालसम्म साढे ४ करोड मात्र निकासा आएको लेखा अधिकृत बस्नेतले बताइन्। नियमित आउनुपर्ने निकासा मंसिरदेखिकै रोकिएपछि कतिपय कर्मचारीले तलवसम्म खान पाएका छैनन् भने कार्यालय सञ्चालनमा खरिद गरिएका कतिपय सामग्रीको भुक्तानी दिन बाँकी छ। मसलन्ध खरिद गर्ने समस्या पनि आइपरेको बस्नेतले बताइन्।

उता चौदण्डीगढी नगरपालिकाको पनि समस्या उस्तै छ। चौदण्डीगढीमा हालसम्म ३ करोड ४५ लाख १६ हजार ६ सय ५३ रुपैँया ३ पैसा निकासा प्राप्त भएको लेखापाल अमर थापामगरले बताए। उनका अनुसार साउनदेखि कात्तिकसम्म नियमित निकासा आइरहे पनि मंसिर र पुस २ महिना निकासा रोकिदा नगरपालिकाको आन्तरिक काम कारबाही प्रभावित भएको छ। चौदण्डीगढीले चालु आर्थिकवर्ष राजश्व बाँडफाँड शीर्षकमा १३ करोड ८७ लाख ८९ हजार आम्दानी प्रक्षेपण गरेको मगरले बताए।

राजश्व बाँडफाँडको रकम गत साउनमा ९२ लाख ९ सय ९० रुपैँया ८१ पैसा प्राप्त भएको, भदौमा ८३ लाख १२ हजार ६ सय २ रुपैँया ७५ पैसा, असोजमा ८४ लाख ५५ हजार २ सय २३ रुपैँया ४६ पैसा प्राप्त गरेको नगरपालिकाले कात्तिकमा ७९ लाख ४३ हजार ८ सय ६ रुपैँया ६३ पैसा पाएको छ। आर्थिक वर्ष सुरुको ६ महिना बितिसक्दा ५० प्रतिशत हाराहारी आउनुपर्नेमा लगभग २५ प्रतिशत मात्र निकासा आएको लेखापाल मगरले बताएका छन्।

चालु आर्थिक वर्ष १५ करोड ९२ लाख ९६ हजार राजश्व बाँडफाँडतर्फ प्रक्षेपण गरेको अर्को नगरपालिका कटारी पनि नियमित निकासा नपाउँदा पीडित हुनु परेको छ। प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार संघ तथा प्रदेश चुनाव र राजश्व संकलन नभएको कारण देखाउँदै मलेनिकाले निकासा नपठाउँदा नगरपालिकालाई समस्या आई परेको छ। २ महिनादेखिको निकासा रोकिँदा राजश्व बाँडफाँडतर्फको गतिविधि प्रभावित भएको हाकिम किरातीले बताए।

सहलेखापाल डोरनिधि सुबेदीले मंसिर र पुसको निकासा नआएको मात्र नभएर कात्तिकसम्मको पनि प्रक्षेपित रकम नआउँदा समस्या परेको बताए। उनका अनुसार कात्तिकसम्म ३ करोड ८९ लाख २६ हजार ३ सय ३२ रुपैँया ३३ पैसा मात्र निकासा आएको छ। जव कि कात्तिकसम्ममा ५ करोड २० लाख ९८ हजार ६ सय ६६ रुपैँया ६७ पैसा आउनुपर्ने हो। मंसिरसम्म ६ हरोड ६३ लाख ३३ हजार ३ सय ३३ रुपैँया ३३ पैसा प्राप्त हुनुपर्ने बजेट अनुमान पौने ४ करोडमा खुम्चिएपछि नगरपालिकाको काम कारबाही प्रभावित हुनु स्वभाविक भएको सुबेदीले बताए।  

त्यस्तै समस्या बेलका नगरपालिकाको पनि छ। बेलकामा कात्तिकसम्म ४ करोड ३५ लाख मात्र निकासा भइरहेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गौतमले बताए। उनका अनुसार २ महिनायताको निकासा नआउँदा राजश्व बाँडफाँडतर्फ काम अघि बढाउन उल्झन आइपरेको छ। लेखापाल राजन भट्टराईका अनुसार बेलकाले चालु वर्ष राजश्व बाँडफाँड शीर्षकमा १३ करोड ४५ लाख प्रक्षेपण गरेको छ।

गाउँपालिकाहरु लिमचुङबुङ, उदयपुृरगढी, ताप्ली र रौतामाईले राजश्व बाँडफाँडको रकम निकासा नआउँदा कर्मचारीलाई तलव दिन पाएका छैनन्। राजश्व बाँडफाँडको रकमबाट तलब भत्ता खादै आएका बाल विकास केन्द्रका सहजकर्ता, सामुदायिक विद्यालयका  लेखापाललाई २ महिनादेखि तलव दिन नपाएको उनीहरुले बताएका छन्। त्यस्तै कार्यालय सञ्चालन खर्च पनि त्यसैबाट बेहोर्ने प्रावधान भएकाले निकासा नआउँदा नगरपालिकालाई जस्तै गाउँपालिकाहरु पनि प्रभावित भएका छन्।

यसबारे बुझ्न महालेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी कृष्ण पुडासैनीसँग सम्पर्क गर्दा हुन सकेन।  

प्रकाशित: ३ माघ २०७९ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App