१६ चैत्र २०८० शुक्रबार
समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः जहाजसँग चरा ठोक्कियो, कुचोले बढारेर धावनमार्ग सफा गरियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो जहाजसँग चरा ठोकिएपछि धावनमार्ग सफा गर्र्दै कर्मचारी। तस्बिरः नागरिक

गत आइतबार ७२ जना यात्रुको ज्यान जानेगरि पोखरामा यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको जहाज दुर्घटनामा प¥यो। दुर्घटनाको कारण अहिलेसम्म पहिचान भएको छैन। दुर्घटनाको कारणबारे फरकफरक अनुमान भईरहेका छन्। सरकारले दुर्घटना अध्ययन गर्न भिन्दै छानविन टोली गठन गरेको छ। दुर्घटनाका मृतकको शव पहिचानसँगै आफन्तलाई बुझाउने क्रम चलिरहेको छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यती एयरलाइन्स बाहेकका ठुला आकारका जहाज भएका कम्पनिले मात्र उडान भरेका थिए । दुर्घटना पछि सोमबारका लागि यती एयरलाइन्सको पोखराका लागि भने कुनैपनि उडान थिएन । 

तर आइतबारको घटना सेलाउन नपाउँदै सोमबार फेरि अर्काे हवाईजहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्नबाट जोगिएको छ। अवतरणको क्रममा चरासँग जहाज ठोक्किएको थियो। तर, त्यसले मानवीय र भौतिक क्षति भने पुगेन। मात्र जहाजसँग ठोक्किएको चरा मरेको थियो। पछि विमानस्थलको चरा धपाउने समुहले धावनमार्गमा मरेको चराको मासुको टुक्रालाई कुचोले बढारेर सफा गरेका थिए। जहाज र चरा एकआसपमा ठोक्किएको बारे विमानस्थलले भने कुनै सुचना बाहिर ल्याएको छैन।  

चरासँग ठोक्किएको उक्त जहाज दिउँसो १ः १५ मा पोखरा विमानस्थलमा अवतरण गरेको थियो। करिब करिब क्षमता अनुसारकै यात्रु बोकेर काठमाडौांबाट आएको उक्त जहाज अवतरण गर्ने क्रममा धावनमार्गको पूर्विखण्ड विजयपुरपट्टि चरासँग ठोक्किएको श्रोतले बताएको छ।  जहाजसँग ठोकिएर मरेको चरा गोमायु महाचिल हो। चराका जानकारका अनुसार यो संकटापन्न सूँचीमा परेको चरा हो। पाहुना चरा पनि हो। 

‘जहाज विजयपुरतिरबाट अवतरण गर्दै थियो। धावनमार्ग छुनासाथ चरासँग ठोक्कियो,’ श्रोतले भन्यो, ‘पछि मरेको चरालाई हटाइएको थियो। धावमार्ग सफा गरेर विमानस्थल सुचारु गरिएको थियो।’ श्रोतका अनुसार चालकदलले विमानस्थल टावरमा ‘बर्ड हिट’ भएको भन्दै विवरण टिपाएका थिए। आवश्यक फारम समेत भरेका थिए। तर, जहाजमा कुनै समस्या नदेखिएपछि नियमित समयमा जहाजले पोखराबाट यात्रु बोकेर काठमाडौंका लागि उडान भरेको थियो। बाक्लो तुवाँलोका कारण सोमबार बिमानस्थल केही ढिलागरि खुलेको थियो।

विमानस्थलमा साइरन बजेपछि एकजना प्रत्यक्षदर्शी घरको छतमा उक्लिएका थिए। त्यो बेला धावनमार्गमा कुचाले बढारेर सफा गरिरहेको उनले देखेका थिए। ‘धावमार्ग बढारिरहेको देखेपछि पक्कै चरासँग ठोक्किएको अनुमान गरिएको थियो,’ ती प्रत्यक्षदर्शीले भने, ‘नत्र धावनमार्गमा कुचो लगाउनु पर्ने अवस्था आउँदैन।’ मानवीय क्षति हुने गरि अघिल्लो दिनको घटना सेलाउन नपाउँदै भोलिपल्ट चरासँग ठोक्किएको जहाजको घटनालाई सामान्यीकरण गर्न नहुने उनले बताए।

‘यस्ता घटना लुकाउने होईन, बरु समस्या समाधानतिर लाग्ने हो, कसरी हुन्छ जोखिम कम गर्नुपर्छ भन्ने सोच्नुपर्छ,’ ती प्रत्यक्षदर्शीले भने, ‘राज्यको ठुलो लगानी विमानस्थलमा छ। त्यसबाहेक विमानस्थलमा उडान गर्नका लागि एयरलाइन्सको पनि लगानी उत्तिकै छ। घटना दोहोरिने हो भने ती हवाई कम्पनि र विमानस्थलमाथि नै विश्वसनीयता घट्छ। हेलचेक्रयाँइ गर्नुभएन, बरु समस्या समाधान गर्नतिर लाग्नुपर्छ।’  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको जोखिम रहेको भनेर यसअघि नै विज्ञले बताईरहेका थिए। विमानस्थलको नजिकै रहेको ल्याण्डफिलसाइटका कारण चरा आकर्षित हुने हुँदा विमानस्थल संचालनमा आउनुभन्दा कम्तिमा ६ महिना अघि ल्याण्डफिलसाइट सार्नुपर्ने विज्ञले सुझाएका थिए। तर, विमानस्थल संचालनमा आउनु एकसाता अघि मात्र ल्याण्डफिल साइट अन्यत्र सारिएको थियो। विमानस्थल गत जनवरी १ देखि मात्र संचालनमा आएको थियो।  

नागरिक उड्ययन प्राधिकरण (क्यान) पोखराका प्रमुख बिक्रम गौतमले भने चरासँग जहाज ठोक्किएको बारे आफुलाई कुनै जानकारी नभएको बताए। ‘बर्ड हिट’ बारे मलाई कुनै जानाकारी आएको छैन,’ उनले भने, ‘मैले पनि बुुझ्नुपर्छ।’ विमानस्थल परिसरमा देखिएका चरा लखेट्न गाडिसहित २ जना कर्मचारी खटाइएको छ। उनीहरुले आकाशमा चरा देख्नासाथ चारैतिर दौड्दै धपाउने गर्छन। विमानस्थल क्षेत्रमा १६७ प्रजातिका चरा रहेको चराका जानकारहरु बताउँछन। ती मध्ये सात प्रजाति संकटान्मुख सुचिमा रहेका पाइएको छ।

हवाई कम्पनिका पदाधिकारी भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको समस्या रहेको हो भने समाधानमा अग्रता देखाउनुपर्ने बताउँछन्। ‘बुढी मरि भन्दा पनि काल पल्कियो’ भन्ने अवस्था नआओस भन्ने चाहना हो, यस्ता घटना लुकाएर होईन, बाहिर ल्याएर समाधान गर्नुपर्छ,’ निजी हवाई कम्पनिका एकजना उच्च पदाधिकारीले भने, ‘यसले त भविश्यमा पनि समस्या निम्त्याउन सक्छ। सिंगो अन्तर्राष्ट्रिय विमानस्थलप्रति नै अविश्वास जाग्न सक्छ।’

प्रकाशित: ३ माघ २०७९ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App