coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यती एयर दुर्घटना: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ। यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना विदेशीको ज्यान गयो।  

दुर्घटनाले दुई साताअघि (सन् २०२३ जनवरी १) मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठ्ने खतरा बढेको सरोकारवालाको चिन्ता छ। विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो। वर्षाैंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए। अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएको भनेर सामाजिक सञ्जालमा सबैभन्दा बढी गुनासो पोखिएको थियो। अन्तर्राष्ट्रिय उडानका लागि गरिएको पहल नै प्रभावकारी हुन नसकेको र कतै यो विमानस्थलले नामको मात्र अन्तर्राष्ट्रिय मान्यता पाउने तर उडान सबै आन्तरिक मात्र हुने पो हो कि भनेर आलोचनासमेत भएको थियो।  

त्यसबाहेक विमानस्थलको सुरक्षाप्रति पनि सरोकारवालाले बढी हेलचक्र्याइँ गरेको गुनासो थियो। सुरक्षाप्रति प्रश्न उठ्नुको कारण भने पोखरा महानगरपालिकाले विमानस्थलनजिकैको ल्यान्डफिल साइट व्यवस्थापनमा गरेको ढिलाइ थियो। किनकि ल्यान्डफिल साइटका कारण चरा आकर्षित हुने र त्यसले हवाई उडानमा जोखिम निम्तिन सक्ने सम्भावनाको चर्चा भएको थियो।  

हुन त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहिलो दिन नै बुद्ध एयरले पोखराबाट भारतको वनारससम्म डेमो उडान तयारी गरेको थियो। तर त्यो बेलादेखि अहिलेसम्म पनि भारतले उडान स्वीकृति दिएको छैन। जसले गर्दा अन्तर्राष्ट्रिय उडानको बाटो खुलेकै छैन। त्यसबाहेक नेपालको हवाई आकाश असुरक्षित ठहर गर्दै युरोपेली संघ (इयु)ले नेपाली विमानलाई लगाएको प्रतिबन्ध अझै हटिसकेको छैन।  

हवाई सुरक्षासम्बन्धी मापदण्डमा नेपालले सुधार गरिरहेको बताउँदा पनि नेपाल गम्भीर सुरक्षा चासोको सूचीबाट हट्छ वा हट्दैन भन्ने निश्चित छैन। हवाई सुरक्षासम्बन्धी प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१३ मा नेपाललाई गम्भीर सुरक्षा चासो भएको देशमा राखेको थियो। तर हवाई सुरक्षामा सुधार गरेको भन्दै ५ वर्षपछि नेपाललाई उक्त सूचीबाट हटाएको थियो। त्यही वर्ष नेपाललाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा राखेको इयुले अहिलेसम्म हटाएको छैन।  

‘हामी यसै त कालोसूचीमा छौं। त्यसैमाथि हालै मात्र सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गर्ने बेला ठुलो मानवीय क्षति हुने गरी आइतबार भएको विमान दुर्घटनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति केही आशंका नउब्जाउला भन्न सकिन्न,’ निजी हवाई कम्पनीघिकारी भन्छन्, ‘यसै त हाम्रो आकाश सुरक्षित नभएको गुनासो थियो। त्यसैमा बल पुग्नेगरी दुर्घटना दोहोरिँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अझ भार पर्न सक्छ।’ 

कालोसूचीमा परेको भन्नासाथ अन्तर्राष्ट्रिय उडान भित्रिन समस्या हुने र ती मुलुकका विदेशीलाई नेपालका हवाईविमान र हेलिकोप्टरमा उड्न प्रतिबन्धसमेत लाग्दा अविश्वास बढ्ने उनले बताए। सरकारले यसअघि यस्तै हवाई दुर्घटना हुँदा छानबिन समिति बनाउँदै आएको छ। अहिले पनि पाँच सदस्यीय छानबिन समिति बनाएको छ, जसले ४५ दिनभित्र प्रतिवेदन बुझाउनेछ। तर यसअघिका घटनापछि गठित समितिले बुुझाएको अध्ययन प्रतिवेदन कार्यान्वयन नभएकाले कालोसूचीको त्यो दाग हट्न नसकेको ती अधिकारीको भनाइ छ।

‘यसअघिका हवाई दुर्घटनापछि तयार पारिएका अध्ययन प्रतिवेदन कडाइका साथ कार्यान्वयन गरेको भए कालोसूचीको दाग हटाउन सहज हुन्थ्यो तर ती प्रतिवेदन कार्यान्वयन भएनन्,’ उनले भने, ‘अब आउने प्रतिवेदन पनि कार्यान्वयन हुनेमा आशंका छ। त्यसले गर्दा समग्र नेपालकै हवाई उड्डयन क्षेत्रमा यसले मार पार्नेछ।’

त्यसबाहेक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हतारोले पनि प्रश्न उठेको उनले बताए। जबकि क्यालिब्रेसन फ्लाइटको पूर्ण विवरणसमेत नपाई उडान सञ्चालन गरिएको थियो। ‘सञ्चालनमा आएको दुुई साताभित्रै ठुलो मानवीय क्षति हुने गरी दुर्घटना हुँदा अनेक आशंका उब्जिन सक्छ। त्यसले कतै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति अविश्वास बढाउने त होइन भन्ने प्रश्न उठ्न सक्छ,’ उनले भने।  

पोखराको यो विमानस्थलसँग विशेषगरी पर्यटन क्षेत्रले विशेष आस गरेको छ। पोखरालाई सिधै अन्तर्राष्ट्रिय गन्तव्यसम्म जोड्न सकिने र त्यसले पोखरामा विदेशी पर्यटक भिœयाउने अपेक्षा पोखराको छ। तर आइतबारको दुर्घटनापछि केही आशंका देखिएको छ। पोखराका पर्यटन व्यवसायी भन्छन्, ‘कतै यही दुर्घटनालाई देखाएर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुने पो हो कि भन्ने चिन्ता छ।’

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै ठुलो दुर्घटना हुँदा हामी सबैलाई मानवीयदेखि भावनात्मक रूपमा विक्षिप्त पारेको छ। पारिवारिक क्षति त छँदै छ, आर्थिक हिसाबले पनि उत्तिकै असर पारेको छ।’ उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा निकै हतार गरिएको थियो। ‘आन्तरिक उडानका लागि हतार जरुरी थिएन किनकि हामीसँग चलिरहेको विमानस्थल छँदै थियो, जहाँबाट आन्तरिक उडान भइरहेका थिए,’ उनले भने, ‘हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान चाहेका होइनौं, अन्तर्राष्ट्रिय थियो तर आन्तरिक उडान गर्नकै लागि हतारमा उद्घाटन गरियो।’  

यतिसम्म कि क्यालिब्रेसन फ्लाइटको रिपोर्टसमेत नआउँदै आन्तरिक उडानका लागि विमानस्थल उद्घाटन गर्न हतारिँदा आशंका गर्न सकिने पर्याप्त ठाउँ रहेको उनले बताए। ‘अन्तर्राष्ट्रिय रुटमा जोड्नका लागि हामीले दुःख गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाएका हौं। तर आन्तरिकमा सीमित राखियो। पहिला कुनै अन्तर्राष्ट्रिय सञ्जाल विस्तार निश्चित गरौं भन्ने चाहना थियो तर त्यो हुन सकेन,’ उनले भने, ‘जब कि यही गतिमा अघि बढ्ने हो भने विमानस्थलको ऋण तिर्न पनि सकस हुने गुनासो छ। त्यसैले योजनाबिनै आन्तरिक उडान सुरु गरियो। ओल्लो घरबाट पल्लो घरमा बसाइँ सरेजस्तै विमानस्थलको उडान मात्र सारियो, अरू केही भएन।’  

समाजशास्त्रीसमेत रहेका पर्यटन व्यवसायी दिनेश प्रसाइँ पनि आइतबारको दुर्घटनाले पोखराको यो विमानस्थलमाथि आशंका उब्जिनसक्ने बताउँछन्। ‘सरकारले छानबिन समिति बनाएको छ, ४५ दिनपछि बल्ल प्रतिवेदन आउँछ, त्यो बेलासम्म घटना पुरानो भइसक्छ तर नकारात्मक सन्देश भने घटनालगत्तै फैलिएको छ,’ प्रसाइँ भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलको पक्षमै आशंका उब्जेको छ। प्राविधिक त्रुटि हो वा होइन भनेर सरकारले तत्कालै भन्नुपर्ने हो, सरकार त्यसमा चुकेको छ।’  

यो विमानस्थलबाट आन्तरिक उडान सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडानको सुरसार छैन। त्यसबाहेक बजारीकरण पनि अहिलेसम्म कतै भएको पाइँदैन। त्यति मात्र नभई विमानस्थल उद्घाटन हुनुुभन्दा एक दिनपहिले नेपाल–चीन बिआरआई सहयोगको प्रमुख परियोजना सम्पन्न भएको भनेर नेपालस्थित चिनियाँ दूतावासले बधाई दिएको थियो, जसकारण भारत बढी चिढिएको आशंका छ। त्यसबाहेक दुर्घटनालगत्तै भारतीय सञ्चारमाध्यमले विमानस्थललाई जोडेर समाचार प्रसारण गर्दा पोखराको यो विमानस्थलबारे नकारात्मक सन्देश प्रवाह भएको प्रसाइँ बताउँछन्। ‘उद्घाटनकै दिन विमानस्थल जिओपोलिटिक्समा फसेको छ। त्यसबाहेक हिजोको दुर्घटनाको ‘ड्यामेज कन्ट्रोल’ गर्नतिर कोही गम्भीर नदेखिँदा विमानस्थलप्रति सकारात्मक सन्देश प्रवाह हुन गाह्रो रहेको छ,’ उनले भने।  

नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौला भने दुर्घटनाको पछाडि विमानस्थलको खराबी नभएकाले खासै प्रभाव नपर्ने बताउँछन्। ‘विमानस्थलमा त्रुटि छैन। यस्ता हवाई दुर्घटना अन्यत्र पनि हुन्छन्, त्यसैले एउटै घटनाबाट प्रभाव पर्छ कि भनेर आशंका गर्नुपर्दैन,’ निरौलाले भने, ‘हामीले केही समयपछि अन्तर्राष्ट्रिय उडान नै सुरु गर्दै छौं। उद्घाटनकै दिन अन्तर्राष्ट्रिय उडान हुन नसकेको मात्र हो, प्रयास त भएकै थियो।’ 

प्रकाशित: ३ माघ २०७९ ००:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App