७ वैशाख २०८१ शुक्रबार
समाज

संक्रान्तिमा दिदी भेट्न गएका जैसवाल पोखरा आकाशमै अस्ताए

भारतको बैरगनियामा सञ्जय जयसवालको परिवार।

आइतबार बिहान घरमा बुबासंग फोनमा कुरा गरी बैरगनियाका २८ वर्षीय सञ्जय जयसवाल भाञ्जालाई भेट्न पोखरा जाँदै थिए। संस्कृतिअनुसार माघे संक्रान्तिको दिन दिदी बहिनीलाई कोसेली लिएर भेट्न जाने चलन छ।

रौतहट सदरमुकाम गौरको छिमेकी भारतीय सहर बैरगनियाका निवासी हुन् सञ्जय जयसवाल। केही वर्षदेखि काठमाडौँमा ज्याला गरी जीविका गरिरहेका जयसवालले बिहान १० बजे बुबा राम एकबाल चौधरीसंग कुरा गरेका थिए।

संस्कृति मान्न दिदी र भाञ्जालाई भेट्न जान लागेका जयसवाल पोखराकै आकाशमा अस्ताएका छन्। पोखरामा विमान दुर्घटना भएको खबर सुन्नासाथ बुबा चौधरी र आमा बेहोस भई ढलेका थिए। घरमा ढिलो गरी मनाउन थालिएको तिलबा संक्रान्ति पबनी कसैले मान्न पाएनन्।

विमान दुर्घटनामा परेका जयसवालकी आमाले आफूलाई सम्हाल्न सकेकी छैनन्। सबैको घरमा सन्नाटा छाएको छ । बैरगनिया बजारमा अहिले शोकमा डुबेको छ। गाउँ, टोल र छिमेकी जयसवालको बारेमा सोधखोज गर्न घर पुग्ने गरेका छन्।

बिहारको सीतामढी जिल्लाको रीगा विधान सभाका विधायक मोतीलाल प्रसाद, पूर्व चेयर म्यान मो. बसीर अन्सारी, भारतीय जनता पार्टी (भाजपा) नेता प्रभु जयसवाल लगायतले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई पर्याप्त मुआब्जा दिन माग गरेका छन्।

सञ्जय जयसवालको मृत्युले गाउँमा तिला संक्रान्ति नमानेको राजश्री मार्केट बैरगनियाका संचालक सुरेश प्रसाद जयसवाल बताए। मृतक जयसवालको एउटा छोरो रहेको छ।  

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको जहाज १० बजेर ५८ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर, अवतरणका लागि अन्तिम तयारी गर्दैगर्दा जहाज एकाएक पोखरा महानगरपालिका–७ र १५ को बीचमा पर्ने मितेरी पुल नजिकै सेतीखोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो।

जहाजमा ६८ जना यात्रु र चालकदलका चारसहित ७२ जना सवार थिए। दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ भने अझै ३ जना वेपत्ता छन्।

प्रकाशित: २ माघ २०७९ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App