२०७२ साल बैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भूकम्पका बालक सोनिश अवाल अहिले कक्षा २ पुगेका छन्। उनी अहिले भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलमा कक्षा २ मा पढिरहेका छन्।
घर भत्केर भित्रै पुरिएका त्यो बेलाका पाँंच महिने बालक सोनिशलाई भूकम्प गएको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेका थिए। त्यसपछि एकाएक चर्चामा आएका सोनिश अहिलेसम्म पनि सेलिवे्रटीको रुपमा छन्।
२०७१ मंसिर २९ गते जन्मेका सोनिश पहिलो पटक भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका थिए। तर सोनिशका अभिभावकले चर्चित एभरेष्ट इंगलिश स्कुल मिवाछें भक्तपुरमा भर्ना गर्न चाहे पनि आर्थिक अभावका कारण सामान्य स्कुलमा भर्ना गरेको मिडियामार्फत् सार्वजनिक भएपछि एभरेष्ट स्कुलले निःशुल्क रुपमा सोनिशलाई भर्ना लिएको थियो। त्यहीबेलादेखि सोनिश निःशुल्क रुपमा उक्त स्कुलमा पढ्दै आएका छन्।
एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले कक्षा ५ सम्म निःशुल्क पढाइदिने प्रतिवद्धता जनाए। कक्षा ६ देखि वीरेन्द्र सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरमा सेनाले निःशुल्क पढाइदिने प्रतिवद्धता यसअघि नै सार्वजनिक गरिसकेकाले त्यसअघिसम्मको कक्षा ५ सम्म निःशुल्क रुपमै आफूहरुले पढाइदिने उनले विश्वास दिलाए।
‘हामीले उनलाई पहिलो पटक नर्सरीमा भर्ना लिएर निःशुल्क पढाउन थालेका थियौं, उनले भने, ‘पाँंच कक्षासम्म निःशुल्क अध्ययन गराउने यहाँमार्फत हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं।’ नर्सरी, जुनियर केजी, सिनियर केजी, एकदेखि पांँंचसम्म गरी आठ वर्ष निःशुल्क पढाइदिने प्रतिवद्धता उनले व्यक्त गरे। जुनियर केजीमा मात्रै एक वर्ष स्कुलमा भर्ना शुल्कसहित झण्डै ८५ हजार शूल्क लाग्ने स्कुलले जनाएको छ। उक्त शुल्क सोनिशको अभिभावकसँंग नलिई स्कुलले निःशुल्क गरिदिएको हो।
विक्रम संवत १९९० साल माघ २ गते दिउँंसो नेपालमा भूकम्प गएको दिनलाई प्रत्येक वर्ष नेपाल सरकारले भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँंदै आएको छ। तर यसवर्ष पोखरामा भएको विमान दुर्घटनाको कारण सरकारले भूकम्प सुरक्षा दिवसका कार्यक्रम स्थगित गरको थियो।
प्रकाशित: २ माघ २०७९ १२:२१ सोमबार