यति एयर जहाज दुर्घटनामा निधन भएका यात्रुहरूको शव पोष्टमार्टम गर्ने काम ढिलो सुरु भएपछि सोमबार पनि आफ्न्तहरुले शव बुझ्न पाएनन्। मंगलबार (भोलि) बिहान ७ बजेबाट मात्र शव आफन्तलाई दिइने बताइएको छ।
अस्पताल प्रशासनका अनुसार पोष्टमार्टम गर्ने दुई जना चिकित्सक काठमाडौँबाट ढिलो गरी पोखरा आएको र पोस्टमार्टमको काम करिब ३ बजे मात्र सुरु भएकाले ढिलो भएको अस्पताल प्रशासनले जनाएको छ।
‘सनाखत भएका शवहरू राती भरी लगाएर भएपनि पोष्टमार्टम गर्ने योजना बनाएका छौं’, अस्पताल प्रशासनले भन्यो, ‘भोलि बिहान ७ बजेबाट आफन्तको जिम्मा लगाउने सुरु गर्छौ।’ एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ।
दुर्घटनामा निधन भएका ६९ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ।
अस्पताल स्रोतका अनुसार पोस्टमार्टमका डाक्टर काठमाडौँ आउन ढिलो भयो। त्यसो त उनीहरु चार्टर हेलिकप्टरमा यहाँ आएका हुन। दुर्घटनामा परेका व्यक्तिका आफन्तहरू आइतबार देखिनै अस्पताल परिसरमा बसेका छन्।
उनीहरु आफन्तको शव बुझेर लैजाने आसै आसमा सोमबार दिनभरि पनि अस्पताल परिसरमै थिए।
यसैमा सनाखत हुन नसकेका शव डिएनए परीक्षणबाट मात्र पहिचान गरिने पोस्टमार्टममा सहभागी चिकित्सकले बताएका छन्। ‘त्यस्ता शवका केही अंश डिएनए परीक्षणका लागि काठमाडौँ पठाउनुपर्ने हुन्छ’, अस्पतालका एक चिकित्सकले भने।
सनाखत भएका शवहरू भने पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने निर्णय भएको प्रशासनले जनाएको छ।
सोमबार साँझसम्म दुर्घटनामा परेका व्यक्तिका ६९ शव फेला परिसकेका छन्। फेला नपरेका ३ वटा शव खोज्न गोताखोरको प्रयोग गरिएको छ। ती गोताखोरले सेती नदीमा शवहरू खोजिरहेका छन्।
पोस्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरू काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ।
प्रकाशित: २ माघ २०७९ ११:५१ सोमबार