७ वैशाख २०८१ शुक्रबार
समाज

'जोखिममा बढी मज्जा'

सिन्धुपाल्चोक- असार २८ गते ९एन–एकेए कल साइनको फिस्टेल एयरको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोकतिर उड्यो। जमिन छाडेर उचाइ लिँदै आकाशतिर घुसेपछि पाइलट रञ्जन लिम्बूले हेलिकप्टर हावामा सुइँसुइँ कोल्ट्याउँदै उडाए। अगाडि सिट (चालकसँगैको लहर) मा बसेका अक्सफामका सञ्चार अधिकृत वेद ढकाल निकै डराए। ढकालको अनुहार नियालिरहेका रञ्जनले ढाडस दिँदै भने, 'नयाँ हुनुहुन्छ जस्तो छ, कत्ति पनि नडराउनुस्, पाइलट लिम्बू भएपछि चिन्ता लिनुपर्दैन।'

असार २१ गते भोटेकोसी बाढीले तातोपानी नाका क्षतविक्षत पारेपछि राहत र उद्धारका लागि रञ्जन उडेका थिए। आपतमा फसेका २३ स्थानीयको उद्धार गर्दै ६ फ्लाइट गर्ने क्रममा ढकालले पाइलट रञ्जनसँग तीन घन्टा आकाशमा बिताएका थिए।

गोरखाबाट सुत्केरी उद्धार गरेर सोमबार काठमाडौं फर्कँदै गरेको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट रञ्जनसहित सवार सातै यात्रुको निधन भएको खबर ढकाललाई सपनाझैँ लागिरहेछ। दुर्घटनाको खबरपछि उनले दिनभरजसो पाइलटसँग खिचेका फोटो एकोहोरो नियाले।

'असल पाइलट गुमे,' खिन्न मान्दै ढकालले सम्झे, 'निकै मिलनसार र सहयोगी थिए।' उनका अनुसार यात्राका क्रममा पाइलट रञ्जनले आफूलाई जोखिम (रिस्क) लिन मज्जा आउने बताएका थिए।

'त्यो भन्दा मज्दा राहत उद्धारमा खटिँदा आउँछ। त्यस्तो बेला आनन्द लाग्छ,' भूकम्पपछि राहत, उद्धारमा सिन्धुपाल्चोकका धेरै गाउँ र बिकट बस्ती पुगेका रञ्जनले सुनाएका थिए।

 यात्राका क्रममा ढकालले रञ्जनलाई होसियारीपूर्वक हेलिकप्टर उडाउन आग्रह गरेका थिए। अन्तिम फ्लाइट सकेर छुट्ने बेलामा समेत उनलाई 'टेक केयर' भनेको सम्भि्करहेका छन् ढकाल। 'नेपालको थुप्रै जोखिमस्थलमा पुगेको छु। कस्ता–कस्ता ठाउँमा ल्यान्ड गरियो,' पाइलट रञ्जनको निडर स्वभाव सुनाउँदै ढकालले भने। केही फ्लाइट गर्ने क्रममा उनले बेल्ट (पेटी) लगाउन बिर्से। बेल्ट लगाउन सुझाउँदै रञ्जन उनलाई बाहिरी वातावरणको फोटो खिच्न हौस्याउँथे।

 'डरले मैले फोटो खिच्न सकिनँ,' ढकालले रञ्जनसँगको तीनघन्टे यात्रा सम्झँदै भने। उनको अनुमानमा पाइलट फोटोका सोखिन थिए। उनी बारम्बार सहयोगीलाई फोटो खिच्न भनिरहन्थे। सिन्धुपाल्चोकलाई लगातार प्राकृतिक विपत्तिले मार हानिरहेका प्रति रञ्जनले दुःख व्यक्त गरेका थिए। 'जुरे पहिरो यहीँ गयो। भूकम्पले झन् ठूलो मार हान्यो। अहिले भोटेकोसी बाढीले सतायो,' उनको सहानुभूति सुनाउँदै ढकालले भने।

वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पुर्‍यायो। भूकम्पलगत्तै उनी राहत र उद्धारमा थुप्रैपटक जिल्लामा उठान भरे। बिग्रिएको मौसम र बाक्लो हुस्सु छिचोल्दै उनी थुप्रै गाउँ र बस्ती पुगे। सिन्धुपाल्चोकका सबैभन्दा दुर्गम र विकट मानिएका गुम्बा, गोल्चे, तातोपानी, घोर्थली, कर्थली, बरुवालगायत गाउँ पुगेर उनले राहत झारे। राहत बोकेर गाउँ पुग्ने उनी घाइते लिएर फर्कन्थे। सदरमुकाम चौतारा, मेलम्ची र लामोसाँघुमा घाइते झारेर उनी पुनः राहत बोकेर गाउँ जान्थे।

भूकम्पमा अहोरात्र खटेर गुन लगाएका पाइलट रञ्जनको हेलिकप्टर दुर्घटनामा निधन भएको खबरले जिल्ला शोकमा छ। 'पटक्कै नडराउने। आराम नखोजी उद्धार र राहतमा मात्र खटिन मन पराउने,' भूकम्पपछि राहत लिएर हिमाली गाउँ गुम्बामा पुग्दा चिनजान भएका पाइलट रञ्जन सम्झँदै डा. रितेश थपलियाले भने। त्यतिबेला चौतारा अस्पतालमा कार्यरत उनी घाइते उद्धार र उपचारमा हेलिकप्टरमा गाउँ पुग्थे। भारतीय सेना, नेपाली सेनाका हेलिकप्टर दुर्गम जान डराउँदा पाइलट रञ्जन अघि सरेर जोखिमपूर्ण उडानद्वारा राहत, उद्धारमा खटिएका थिए।

प्रकाशित: २५ श्रावण २०७३ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App