८ वैशाख २०८१ शनिबार
समाज

गोरखाका मगर समुदायले मनाए माघे संक्रान्ति

गोरखाका मगर समुदाय माघे संक्रान्ति मनाउँदै। तस्बिर: नरहरि/नागरिक

गोरखाका मगर समुदायले विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन्। नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाले तेह्रौं अधिवेशनका अवसरमा बृहत् कार्यक्रम गरेर आइतबार माघे संक्रान्ति पर्व मनाएको अध्यक्ष विष्णु राना मगरले बताए।

‘यो मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड हो’, उनले भने, ‘यस पर्वलाई सफल पार्न गाउँ-गाउँबाट मगर समुदायका मानिस सदरमुकाममा भेला भई झाँकीसहितको र्‍यालीमा सहभागी भएका थिए।’ र्‍यालीले गोरखा बजार परिक्रमा गरेको थियो।

गोरखा सदरमुकाममा भेला भएका मगरहरूले बाजागाजा, विभिन्न संस्कृति झल्कने कौरा, चुड्का, घाटु लगायतका नाच प्रस्तुत गरेका थिए। आफ्नै जातीय पहिचान झल्किने भेषभूषा र गरगहना पहिरिएर मगर समुदायका महिला र पुरुष माघी मनाउन जुटेका थिए। मगर समुदायको पहिचान झल्किने नृत्य पनि प्रस्तुत गरिएको थियो। आफ्नो संस्कार र संस्कृतिअनुसारको खानपानको पनि बन्दोबस्त गरिएको थियो।

सयौंको संख्यामा हरमटारी खेल मैदानमा माघे संक्रान्ति मनाउन मगर समुदाय भेला भएका थिए। ‘हामीले आफ्नो धर्म, संस्कृति र परम्परा जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, यो हाम्रो पहिचान हो’, मगर संघ गोरखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले भने।

कार्यक्रममा गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकरले सबै जातजातिको धर्म, संस्कृति र परम्परा संरक्षण गर्न गोरखा नगरपालिकाले सहयोग गर्ने बताइन्।

सोही अवसरमा नेपाल मगर संघलाई सहयोग गर्ने र राष्ट्रका लागि योगदान गर्नेलाई सम्मान गरिएको सचिव अशोक राना मगरले बताए। उनका अनुसार मगर संघ जिल्ला समन्वय समिति गोरखाको तेह्रौं अधिवेशनले सोमबार नयाँ कार्य समिति चयन गर्ने छ।

प्रकाशित: २ माघ २०७९ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App