७ वैशाख २०८१ शुक्रबार
समाज

अवतरण गर्नै लाग्दा सेतीखोंचमा खस्यो जहाज: आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठुलो दुर्घटना

पोखराले झन्डै पाँच दशकअघि देखेको सपना १५ दिनअघि (२०२३ जनवरी १) का दिन पूरा भयो। त्यस दिन पोखरेलीको सपना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो। पुरानो विमानस्थलबाट भइरहेको हवाई उद्घाटनकै दिनदेखि अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको थियो। लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएकोमा पोखराले खुसी मनाइरहँदा आइतबार बिहान त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हवाईजहाज दुर्घटना भयो।

बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको जहाज १० बजेर ५८ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर अवतरणका लागि अन्तिम तयारी गर्दैगर्दा जहाज एकाएक पोखरा महानगरपालिका–७ र १५ को बीचमा पर्ने मितेरी पुलनजिकै सेतीखोंचमा खस्यो।

काठमाडौं–पोखरा हवाई दुरी २५ मिनेट हो। तर अन्तिम मिनेटमा जहाज दुर्घटनामा पर्‍यो। ‘दुर्घटनामा नपरेको भए १० सेकेन्डमा जहाजले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग टेक्थ्यो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले भने, ‘अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा दुर्घटना भयो। पोखराको मौसम सफा थियो। तर एकाएक जहाज खोंचमा खस्यो।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ किलोमिटरको दुरीमा जहाज सेतीनदीको खोंचमा खसेको थियो।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार प्रशिक्षक पाइलट कमल केसीको कमान्डमा जहाज उडेको थियो। को–पाइलट अञ्जु खतिवडा थिइन्। त्यस्तै एयरहोस्टेजमा सिर्जना हुङचुङ र ओसिन आलेमगर थिए।

यती एयरलाइन्सका अनुसार जहाजमा चालकदलका ४ र ६८ यात्रु गरी ७२ जना थिए। ५३ जना नेपाली थिए। बाँकी १५ जना विदेशी रहेको यती एयरलाइन्सले जनाएको छ। १५ जना विदेशी यात्रुमध्ये भारतका ५, रसियाका ४, कोरियाका २ तथा आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ जना थिए। उक्त जहाजले दुर्घटनाअघि आइतबार नै पोखराका लागि पहिलो उडान गरेको थियो। दोस्रोपटक काठमाडौंबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परेको प्रवक्ता बर्ताैलाले बताए।

जहाजको कमान्ड गरेका पाइलट केसी अनुभवी चालक मानिन्थे। उनी झन्डै एकदशकदेखि यती एयरलाइन्समा आबद्ध थिए। केसीसँग झन्डै दुईदशकको जहाज उडानको अनुुभव थियो। त्यस्तै खतिवडासँग पनि उडानको लामै अनुुभव थियो। ‘अनुभवी पाइलटले जहाज उडाएका थिए। ‘टर्न’ गर्ने समयमा एकाएक समस्या निम्तिएको आशंका गर्न सकिन्छ,’ प्रवक्ता बर्तौलाले भने, ‘प्राविधिक समस्या पक्कै आएको होइन। प्राविधिक समस्या आएको भए टावरसँगको सम्पर्कमा थाहा भइहाल्थ्यो। जबकि अन्तिम मिनेटमा टावरसँगको समन्वयमा जहाज अवतरण तयारीमा थियो।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहँदा यही जहाजमार्फत डेमो उडान गरिएको थियो। डेमो उडानका क्रममा पनि ९ एन एएनसी कल साइनको यही जहाजलाई पोखराको पुरानो विमानस्थलबाट उडाएर अन्तर्राष्ट्रिय विमानस्थलसम्म अवतरण गराइएको थियो। डेमो उडानका क्रममा पनि चालक केसीले जहाज उडाएका थिए।

तीन सय मिटर गहिरो खोंच, शव निकाल्न क्रेन प्रयोग

जहाज पोखराको बीचबजार भएर बग्ने सेती नदीको खोंचमा खसेको थियो। यो खोंच आफैमा पनि जोखिमपूर्ण छ। ठाउँठाउँमा खाडल र तल सेती नदी लुकेर बग्ने भएकाले माथिल्लो सतहबाट नदीसमेत देख्न सकिँदैन। नदी र जमिनको सतह निकै नै गहिरो भएकाले खोज्न जान पनि सहज नभएको उद्धारमा खटिएका स्थानीय बासिन्दा र प्रहरीले बताएका छन्।

पोखरामा आइतबार बिहान यती एयरलाइन्सको जहाज दुर्घटनास्थलमा उद्धारकर्मी। तस्बिर: उमेश पुन/नागरिक

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार केही शव खोंचमा देखिएका छन् तर निकाल्न सकिएको छैन। जमिनको सतह र खोंचको पानीको दुरी नै करिब तीन सय मिटर भएकाले पनि उद्धारमा समस्या भएको उनले बताए। ‘केही यात्रुको शव गहिराइमा देखिएको छ तर निकाल्न सकिएको छैन। एउटै शव निकाल्न पनि आधा घण्टा लाग्छ,’ एसपी केसीले भने, ‘भौगोलिक कठिनाइले गर्दा बेलैमा उद्धार गर्न सकस भएकै हो।’ खोंचबाट यात्रुको शव निकाल्न क्रेन नै परिचालन गर्नुपर्‍यो।

गहिरो खोंचमा खसेकाले उद्धारमा निकै नै समय लागेको एसपी केसीले बताए। ‘सबैको शव बाहिर निकाल्न सकिएन। खोंचमा अँध्यारो छ,’ उनले भने, ‘रातभरि कुरेर भए पनि भोलि बिहान (सोमबार) पुनः उद्धार र खोज सुरु हुनेछ।’ उनका अनुसार तीनवटै सुरक्षा निकाय (प्रहरी, सेना र सशस्त्र) को पोखरामा रहेको विपद् व्यवस्थापन टोली आवश्यक सामग्रीसहित खोज र उद्धारमा खटिएका थिए। कम्तीमा पाँच सयजना सुरक्षाकर्मी उद्धारमा खटिएको उनले बताए।

दुर्घटनास्थल गहिरो खोंचमा भएकाले दमकल पुग्न नसक्दा आगो नियन्त्रण गर्न पनि कठिनाइ भएको प्रहरीले जनाएको छ। बाहिर निकालिएका शवको पहिचान भइनसकेको उनले बताए। यति एअरलाइन्सले सेतीको खोंचबाट ६९ जनाको शव निकालिएको र खोजी कार्य जारी रहेको जनाएको छ।

पश्चिमतिरबाट अवतरण प्रयास गर्दा दुर्घटना भएको हुन सक्छ

जहाजलाई अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले सुरुमा रनवे ३(० (पूर्वपट्टि) बाट अवतरण गर्न भनेका थिए। तर, जहाजका चालक केसीले रनवे १–२ (पश्चिमबाट) अवतरण गर्ने भनेर अनुमति मागेका थिए।

‘रनवे ३(० बाट अवतरण गर्नुस् भनेर मैले नै भनेको हुँ। त्यो बेलासम्म सबै अवस्था सही थियो। क्याप्टेनले कुनै समस्या बताएका थिएनन्,’ क्याप्टेनसँग कुरा गरेका ती एयर ट्राफिक कन्ट्रोलरले भने, ‘तर क्याप्टेनले पश्चिमबाट फर्किन्छु भनेका थिए। पश्चिमतिरको आकाशमा कुनै जहाज नभएपछि हामीले नै पश्चिमबाट आउन अनुमति दिएका हौं। तर, फर्किने बेला दुर्घटनामा परेको हो।’

ती एयर ट्राफिक कन्ट्रोलरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्व-पश्चिम फैलिएको छ। यो विमानस्थलमा दुवैतिरबाट अवतरण र उडान गर्न मिल्छ। विमानस्थल सञ्चालनमा आएपछि कतिपय जहाजले पश्चिमतिरबाट अवतरण गरिरहेका छन्।

‘पूर्वतिरबाट अवतरण गर्न सहज छ। तर, पश्चिमतिरबाट अवतरण गर्दा घुम्नुपर्छ,’ ती कन्ट्रोलरले भने, ‘पश्चिमतिरबाट अवतरण गर्ने अभ्यास पनि केहीले गरिरहेका हुन्। कतै अभ्यासको क्रममा आज पनि क्याप्टेनले जहाज पश्चिमतिर लगेका हुन सक्छन्। पश्चिमको अभ्यास पनि दुर्घटनाको कारक हुन सक्छ।’ पश्चिमतिर जान खोज्नुको कारण अभ्यासका लागि हो कि भन्ने आशंका गर्न सकिन्छ। यसअघि पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलसम्म गरेको डेमो उडानका क्रममा पनि दुईवटा जहाजले फरकफरक दिशाबाट अवतरण गरेका थिए।

१० सेकेन्डमा जहाजले धावनमार्ग ‘टच’ गर्थ्यो 

अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज दुर्घटनामा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जोशीका अनुसार १० सेकेन्डभित्र जहाज धावनमार्गमा आउँथ्यो तर त्यहीबीचमा जहाज दुर्घटनामा परेको उनले बताए। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्व–पश्चिम फर्केको छ। रनवे ३–० पूर्व र रनवे १–२ पश्चिम पर्छ। सुरुमा पूर्वतिर (रनवे ३–०) बाट अवतरण गर्ने भनेर अनुमति पाए पनि जहाज पश्चिम (रनवे १–२) तिरबाट अवतरण गर्ने भनेर घुमेको थियो।

‘३–० रनवेबाट अवतरण गर्ने भनेको जहाज पछि १–२ बाट अवतरण गर्ने भनेर घुमेको थियो। पुरानै विमानस्थलको माथिको आकाशबाट घुमेर जाने क्रममा दुर्घटनामा पर्‍यो,’ उनले भने, प्रवक्ता जोशीले भने, ‘१० सेकेन्डमा जहाज धावनमार्ग आइपुग्थ्यो। तर, त्यहीबीचमा दुर्घटनामा परेको हो। कारण अझै खुलेको छैन।’

एटिआर ७२-५०० जहाजको पहिलो दुर्घटना

नेपालको हवाई इतिहासमा एटिआर ७२–५०० सिरिजको जहाज पहिलोपटक दुर्घटनामा परेको छ। एटिआर ७२– ५०० सिरिजका जहाज ७० देखि ७२ सिट क्षमताका हुन्छन्। यसअघि नेकोन एयरले पनि एटिआर ७२ जहाज उडाएको थियो। तर, पछिल्लो समय नेपालमा बुद्ध र यती एयरलाइन्ससँग मात्र एटिआर ७२–५०० सिरिजका जहाज छन्। नेपालमा बुद्ध एयरसँग सबैभन्दा बढी १४ र यतीसँग ६ एटिआर ७२–५०० सिरिजका जहाज छन्।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले एटिआर ७२–५०० सिरिजको जहाजको पहिलो दुर्घटना भएको बताए। धेरै यात्रु बोक्ने भएकाले यो जहाजलाई बढी सुरक्षित मानिन्छ। तर, आइतबार भएको दुर्घटनाको कारण नखुलेको निरौलाले बताए। ‘दुर्घटनाको कारण खुलेको छैन। अध्ययन टिमले कारण थाहा पाउनेछ,’ उनले भने। बढी यात्रु क्षमता भएको जहाज दुर्घटनामा परेकाले मानवीय क्षति पनि बढी भएको हो।

मुख्यमन्त्री अधिकारीको आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरूको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका छन्। मुख्यमन्त्री अधिकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन्।

विज्ञप्तिमा मुख्यमन्त्री अधिकारीले जहाज दुर्घटनास्थल पुगेर अवलोकन गर्नुका साथै त्यहाँको अवस्थाबारे जानकारी लिएको उल्लेख गरेका छन्। आफूले उद्धारमा खटिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतलाई निर्देशन पनि दिएको बताएका छन्।

मुख्यमन्त्री अधिकारीले विमान दुर्घटनाको कारण पत्ता लगाएर उडानलाई सुरक्षित बनाउनुपर्र्नेमा जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन प्राथमिकताका साथ लाग्नुपर्ने भएको छ।’

बाल्टीमा पानी ल्याएर खनायौं: अरुण तमु

अरुण तमु

जहाज दुर्घटना भएको ठाउँमा मेरो घरबाट तीन/चार मिनेटमा पुुग्न सकिन्छ। जहाज खसेको आवाज आयो। दौड्दै घटनास्थल पुग्यौं। सुरुमा घटनास्थलमा हामी टोलछिमेकका मान्छे मात्र थियौं। प्रहरी आउन केही समय लाग्यो। हामीले उद्धारको प्रयास थाल्यौं। हामीले देख्दा जहाजमा आगो लागिरहेको थियो। बाल्टीमा पानी ल्याएर माथिबाट खनायौंं। बाल्टीको पानीले आगो निभाउन सम्भवै भएन। यसैक्रममा प्रहरी आए। उनीहरू पनि उद्धारमा लागे। १०-१२ जनालाई त हामीले पनि निकाल्यौं। तीमध्ये दुइजनाको अलिअलि सास भएजस्तो लाग्थ्यो। दुर्घटनास्थल अप्ठेरोमा भएकाले उद्धार गर्न गाह्रो भयो। जहाज खसेको ठाउँसम्म सरसर्ती जानै सक्ने अवस्था थिएन।

आगोको मुस्लो निस्किरहेको थियो, माथिबाट जानुपथ्र्यो। हामी पनि आगोमा हाम फाल्न सक्ने सम्भावना रहेन। सेतीको खोच भएकोले अरूबेला पनि त्यहाँ जान डर लाग्छ। नराम्रो घटना देख्नुपर्‍यो।

प्रत्यक्षदर्शी भन्छन्

दुई जनालाई छटपटाउँदै गरेको अवस्थामा भेट्यौं

रवीन थापा, उद्धारकर्ता

म र अन्य दुई साथी दुर्घटनास्थल नजिकैको तीनकुने चोकमा चिया पिएर बसिरहेका थियौं। त्यही क्रममा आकाशमा एउटा जहाज हुत्तिँदै उडेको देख्यौं। हेर्दाहेर्दै जहाज सेती खोंचमा खस्यो। नजिकै भएकाले तीनैजना दौडिँदै दुर्घटनास्थल पुग्दा जहाज खसेको स्थानभन्दा करिब २५ मिटर माथि ढिस्कोमा २ जनालाई छटपटाउँदै गरेको अवस्थामा भेट्यौं। उनीहरूलाई उद्धार गरेर अस्पताल पठायौं तर पछि मृत्यु भएछ। करिब आधा घण्टापछि प्रहरी दुर्घटनास्थलमा आइपुगे। उद्धारमा ढिला हुँदा पनि मानवीय क्षति बढी भएको हो कि जस्तो लाग्छ।

दुई जना केही बोल्न खोजेजस्तो गर्थे

तोरणबहादुर बानियाँ, वडाध्यक्ष, पोखरा-१५

जहाज दुर्घटना भएको ७/८ मिनेटमा दुर्घटनास्थल पुगेको थिएँ। त्यहाँ पुग्दा स्थानीय १५/२० जना उद्धारमा लागिरहेका थिए। जहाजमा आगो लागिरहेको थियो, धुवाँको मुस्लो निस्किरहेको थियो। अरूजस्तै म पनि उद्धारमा लागें। त्यहाँ हामीले जहाजबाट उछिट्टिएका दुईजनालाई जीवितै भेट्यौं। तीमध्ये एक जनाको दाहिने कानसहितको भाग थिएन, कम्मरमुनिको भाग पनि च्यातिएको थियो। अर्को एकजना छटपटाइरहेका थिए। दुवै जना होसमा भने थिए। बोलाउँदा आँखा खोल्ने र केही बोल्न खोजेजस्तो गर्थे। हामीले पानी खुवायौं र तत्काल एम्बुलेन्स बोलाएर अस्पताल पठायौं। त्यसै क्रममा थप ५ वटा शव पनि हामीले भेटाएर अस्पताल पठायौं। हामी पुगेको १५/२० मिनेटपछि दमकल र सुरक्षाकर्मी पनि आए। उनीहरू पनि उद्धारमा खटिए।

दौडिँदै पुग्दा आगो दन्किरहेको थियो

विमल तिवारी, सञ्चारकर्मी

म र एकजना साथी ढुंगेसाँघु मेलाको समाचार रिपोर्टिङ गर्न गइरहेका थियौं। त्यसैक्रममा एउटा जहाज ढल्किएर हुत्तिँदै गरेको अवस्थामा उडिरहेको देख्यौं। अब जहाज खस्छ भन्ने अनुमान लगायौं। किनकी जहाजले सन्तुलन गुमाइसकेको थियो। केही सेकेन्डमै जहाज सेती खोंचमा बजारियो। दौडिँदै त्यहाँ पुग्दा जहाजमा आगो दन्किरहेको थियो। कोही उद्धारमा खटिएका थिए। भौगोलिक जटिलताका कारण भएर होला सुरक्षाकर्मी केही ढिला आए। मैले यसअघि कहिल्यै उडिरहेको जहाज ढल्किएको देखेको थिइनँ। दुर्घटना टार्न नसकिने अवस्थामा पुगेपछि चालकले बस्ती जोगाउन जहाज सेती खोंचमा लगेका हुन् कि जस्तो लाग्छ। तर यसै हो भन्न सकिन्न।

ढलपल-ढलपल गर्दागर्दै खस्यो

सीता परियार, स्थानीय

बच्चाहरूसँगै आगनमा बसिरहेकी थिएँ। एउटा जहाज ढलपल–ढलपल गर्दै उडिरहेको थियो। मैले यसअघि कहिल्यै यसरी जहाज ढलपल–ढलपल गरेको देखेकी थिइनँ। मन आत्तियो। कतै जहाज घरमाथि खस्ने त होइन भन्ने लाग्यो। आत्तिँदै चिच्याएँ। खाना पकाउन बालेको आगो र बिजुली बत्ती निभाउन घरभित्र पस्दै गर्दा ठुलो आवाज आयो। घर थर्किएजस्तो भयो। जहाज खसेको रहेछ। उडिरहेको जहाजबाट सधैं घुँऽऽऽऽ जस्तो आवाज आउँथ्यो तर आइतबार दुर्घटनामा परेको जहाजको आवाज थिएन। जहाज उड्दा आवाज नआएकाले इन्जिन चलेको थिएन कि भन्ने लाग्छ।

जो जहाजमा सवार थिए नेपाली (५३)

किसन आचार्य, निशान्त आचार्य, शालिग्राम आचार्य, पूर्णबहादुर गुरूङ, जितेन्द्रबहादुर कुँवर, अनिशा बानियाँ, श्लोक भट्ट, निरा छन्तयाल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, रोक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यस्मिन गुरुङ, रविन हमाल, रचना काफ्ले, सीताकुमारी खड्का, भगवती कुँवर, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, कृष परियार, लक्ष्मी परियार, रिता परियार, अरूण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पुजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, आयुद्र्धि शर्मा, बेबी शर्मा, जमुना शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. सोना दिवाकर, डा. सुशील श्रेष्ठ, बन्दना सुनार, राजुसिंह ठकुरी, चुडा थापा, गणेश थापा, लवराज तिमिल्सिना, सदाकत अली मियाँ र नाम नखुलेका दुई शिशु।

विदेशी (१५)

माइरोन लभ (अस्टे«लिया), युरी लाइगिन, भिक्टर लगिन, भिक्टोरिया अल्तोनिना, एलीना बन्दुरो (रसिया), युंगचुल यु, स्याङग्योन यु (कोरिया), सञ्जय जैसवाल, सोनु जैसवाल, अभिशेक कुसवाहा, विशाल शर्मा, अनिलकुमार रजवार (भारत) अलेक्जेन्डर इसिडोर (फ्रान्स), जनेत सान्द्रा पालाभेसिनो (अर्जेन्टिना) र रुअन कलुम क्रिगटोन (आयरल्यान्ड)

चालक दल (४)

पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा, परिचारिकाद्वय ओसिन आले मगर र सिर्जना होंगचुन।

प्रकाशित: २ माघ २०७९ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App