१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सञ्चालनमा आयो नारायणी नदी किनारमा मिनी पानी जहाज

नारायणी नदी किनारमा मिनी पानी जहाज (क्रुजसिप) सञ्चालनमा आएको छ। दुई वर्ष अगाडि नै सञ्चालनमा ल्याउने भनिए पनि आज(आइतबार)देखि नियमित रुपमा सञ्चालनमा आएको हो। 

राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिले भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण कार्य थालेको थियो। तर, कोरोना भाइरस र केही नीतिगत कारणले ढिलाई भएको दिपक ढुंगेलले जानकारी दिए। नितीगत समस्याको समाधान भैसकेकाले अबदेखि नियमित सञ्चालनमा आउने उनले बताएका छन्। 

‘२ वर्ष पहिलेनै सफल परीक्षण भई सञ्चालनको तयारीमा थियौँ। कोभिड र केही नीतिगत व्यवधानका कारणले ढिलाई हुन पुग्यो,’– उनले भने। नागरिक तथा पर्यटन उड्यन मन्त्रालयबाट स्वीकृत लिएर मन्त्रीपरिषदले पास गरेपछि राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिले २०७५ साल चैत १ गतेदेखि नारायणी नदी किनारमा क्रुजसिप निर्माण गर्न थालेको हो।  

तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले यस परियोजनालाई प्राथमिकताका साथ हेरेका थिए। दुई वर्षअघि क्रुजसिप परीक्षणमा उपराष्ट्रपति नन्दबहादुर पुन, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल, मुख्यमन्त्री डोरमणी पौडेल समेत चढेका थिए।

२० जना पर्यटन व्यवसायी मिलेर १५ करोड बढी खर्च गरेर क्रुजसिप निर्माण गरेका हुन्। आइतबारदेखि व्यवसायीक रुपमा सञ्चालन गर्न शुल्क समेत निर्धारण भैसकेको छ। भरतपुर–१६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ।  

ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ। टिकटका लागिमात्र ७ सय रुपैयाँ तोकिएको छ। झण्डै १ घण्टा नारायणीमा सयर गर्न पाइने व्यवस्था मिलाइने बताए। ३ तला रहेको क्रुजसिपमा १ सय ८० जना यात्रु एकैसाथ चढ्न पाउनेछन्। हरेक यात्रुको १० लाख बराबरको विमा हुनेछ।

क्रुजसिपमै बसेर विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ। राइनो क्रुजसिप नामको सो मिनी पानी जहाज नारायणी नदीको दृश्यावलोकन गर्दै स्वदेशी तथा विदेशी पर्यटक रमाउने उनको भनाइ छ।

४० किलोमिटर सञ्चालनको अनुमति पाएपनि नदीले बाटो परिवर्तन गरेको र नदीको सतह वर्षभरीकै न्यूनतम सतहमा आएकाले तत्काल लामो दुरीमा सञ्चालन गर्न नसकिने बताए। रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने बताए। क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएका छन्। यस्ता क्रियाकलापले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने क्रुजसिप चढ्न आएका सिताराम रिमाल बताउँछन्। ‘विदेशमा चढिएको थियो। अहिले नेपालमा नै चढ्न पाईयो,’ उनले भने ‘यसले पर्यटनलाई बृद्धि समेत ल्याउने छ।’  

प्रकाशित: १ माघ २०७९ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App