coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिसो छेक्ने न्यानो कपडा छैन

कोहलपुर–११, स्थित घरभित्र इन्द्रेणी वादी। तस्बिर: गणेश/नागरिक

सम्पत्तिको नाममा सिधा उभिएर पस्न र निस्कनसमेत नमिल्ने खरको झुपडी छ। खरले चारैतिर बारेर बनाएको झुपडी मात्र आफ्नो हो, जग्गा सार्वजनिक। खर अभावमा राम्रोसँग नटालिएको झुपडीबाट चिसो हावा भित्रैसम्म पस्छ। चिसो हावालाई छेक्ने न्यानो कम्बल र सिरक छैन। नत तातो पकाएर खानलाई अन्नपानी र खाने कुरा छ। न त काम गर्नसक्ने अवस्थामा छिन् न कमाएर खुवाउने नै कोही छन्। यस्तै पीडादायी क्षणले भरिएको छ, कोहलपुर–११, स्थित निर्माणाधीन बसपार्कको पूर्व उत्तरतिर बस्ने ६५ वर्षीया इन्द्रेणी वादीको दैनिकी।

एउटा घर बनाउने र सहयोग जुटाएर दैनिकी निर्वाह गर्ने परम्परागत अवस्थालाई बदल्न आजभन्दा करिब १५ वर्ष अघि उनी श्रीमान् बजारुसँगै कोहलपुर झरिन्। ज्यालादारी काम गरेर राम्रै कमाइ हुन थालेपछि उनीहरुले कोहलपुरमै बसाइँ सारे। जहाँ सपनाको सुन्दर घर बनाएर रोजगारी बन्ने सपना थियो। सहयोग मागेर जीवन निर्वाह गर्ने परम्परालाई उनीहरुले आफ्नो जीवनबाट त हटाए तर घर भने बनाउन सकेनन्। गाउँमा पनि घरखेत नहुँदा उनीहरुले कोहलपुरमै घर बनाउने योजना बुनेका थिए। तर, बजारु दमलगायतको रोगबाट पीडित बने र आजभन्दा आठ वर्ष अघि उनको दुःखद् निधन भयो। अनि इन्द्रेणीको सपनामा ठेस लाग्यो।

लामो समयसम्म रोगबाट पीडित श्रीमान्लाई बचाउन उनले ठूलो रकम खर्च गरिन्। ‘उपचार गर्दागर्दै मेरो कमाइ सकिएको थियो,’ उनी भन्छिन्, ‘मैले सहयोग मागेरै भए पनि बचाउन खोजे तर, दैवको लिला उहाँको मृत्यु भयो।’ त्यतिबेला उनी कोहलपुरको चौराह नजिकै बस्थिन्। अहिले नगरपालिकाले चौराहबाट सुकुम्बासीलाई हटाएको छ। उनी निर्माणाधीन बसपार्कभन्दा पछाडि पूर्व उत्तरतर्फ झुपडी बनाएर बस्छिन्। यहाँ पुग्ने जो कोहीले उनको बासस्थानलाई झुपडी भने पनि उनी यसलाई आफ्नो सपनाको महल भन्छिन्।

‘एउटा भएको सन्तानले पनि घर परिवार सम्हाल्न सकेको छैन। बाँकी अरु सहारा नहुँदा खान र न्यानो नपाएरै मर्ने भइयो,’ उनले भनिन्। जाडो थेग्ने गरी लत्ताकपडा नभएपछि कष्टकररुपमा रात बिताउने गरेको उनी बताउँछिन्। काम गर्न नसक्ने भएपछि कसैले केही देलान र खाउँला भन्ने आसमा छिन् उनी। इन्द्रेणीको ‘महल’ खरले बनेको छ। बर्खामा पानी चुहिन्छ भने चिसोमा चिसो छेक्दैन। त्यही झुपडीभित्र एउटा कुनामा चुलो छ भने अर्काे कुनामा सुत्छिन्। ‘खरले बनाएको बासस्थानले चिसो छेक्दैन,’ उनी भन्छिन्। साँघुरो झुपडीमा उनी र उनका एकजना नाति अटाएका छन्। अहिले बाँकेमा कठ्यांरिँदो जाडो छ। शीतलहरले अझ बढी चिसो बढाएको छ। दिनमै चल्ने चिसो सिरेठोले जनजीवन प्रभावित पारेको छ। ‘दिउँसोमा आगो ताप्ने दाउरासमेत छैनन्,’ उनी भन्छिन्, ‘रातिमा न्यानो हुने न्यानो कपडा छैन। कसरी यो चिसो कटाउने होला।’ दुई छोरीको विवाह भइसकेको छ। छोरा ज्यालादारी काम गर्छन्। उनी पनि छुट्टै बस्छन्। कहिलेकसो बच्यो भने आमालाई सम्झिन्छन्। उनले काम गर्न सक्दिनन् आम्दानीको स्रोत पनि छैन। सरकारले दिने भत्ताले उनको दैनिक चलेको छ। ‘चार महिनामा एकपटक आठ हजार रुपैयाँ पाउछुँ,’ उनी भन्छिन्, ‘त्यही पैसाले घर खर्च चलाउँछु।’ चार महिनामा आठ हजार रुपैयाँले जीविकोपार्जन गर्ने इन्द्रेणीको दयनीय अवस्थाले सरकारलाई नराम्रोसँग गिज्याएको छ।

स्थानीय सरकारले विपन्नलाई बेलाबेला दिने सहयोग उनीसम्म पुग्दैन। उनीसम्म नपुग्नुको एउटै कारण हो, ‘उनको पहुँच नहुनु।’ के पहुँच नहुने विपन्न भोकै बस्नु पर्ने हो? आखिर उनले यही नगरपालिकाका जनप्रतिनिधिलाई पटकपटक चुनावमा भोट हालेकी छिन् । संघ र प्रदेशमा भोट हाल्न उनी अग्र मोर्चामा हुन्छिन्। तर उनको अवस्था जनप्रतिनिधि र राज्यविहीन जस्तो छ।

प्रकाशित: १ माघ २०७९ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App