१६ चैत्र २०८० शुक्रबार
समाज

बाढीले पुल बगाएपछि बागलुङका आधा दर्जन गाउँको जनजीवन कष्टकर

काठमाडौं-बाढीले पुल बगाएको एक सातासम्म पनि वैकल्पिक व्यवस्था नहुँदा जिल्लाको अधिकारीचौर गाविसका आधा दर्जन गाउँमा आवतजावत गर्न समस्या भएको छ । सो गाविसका रहेको भुजी सहित विभिन्न खोलाका आठ पूल बगाएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । बजारसंगको सम्पर्क टुकेको छ, सयौं विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् ।

अघिल्लो साता आएको बाढीपहिरोले अधिकारीचौरमा ७२ घर बगाएको थियो । घर छाडेर हिँडेका स्थानीय घर फर्कन सकेका छैनन् । एक गाउँबाट अर्को गाउँ र बजारसम्म जान सकेका छैनन् ।  अधिकारीचौरको वडा नं १ नजिकैको साराखेत घाटको झोलुंगे पुल बगाएपछि बालबच्चा विद्यालय जान नसकेको स्थानीय चन्द्र कुमार गौतमले बताए । ‘खोलामा पुल नभएपछि सम्पर्कबिच्छेद भएको छ,’ गौतमले भने, ‘हाम्रो पीडा कसैले सुनेन ।’

खोलामा पुल नभएको कारण राहात पठाउन पनि समस्या भएको अधिकारीचौरका स्थानीय रहेका नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति दोर्ण कुँवरले बताए । कुँवरले पार्टीको नेतृत्वमा स्वदेश र विदेशबाट दुई लाख रुपैयाँसहित खाद्यान्न र लत्ताकलडा संकलन गरेको बताए । ‘ती गाउँमा राहात सामग्री पु¥याउन पनि कठिनाई भएको छ,’ कुँवरले भने, ‘तत्काल वैकल्पिक बाटोको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्छ ।’

अधिकारीचौरको वडा नं ५ र ६ जोड्ने गादीखोलाको पुल बगाएपछि विद्याविकास माविमा विद्यार्थी अध्ययन गर्न जान पाएका छैनन् । करिब २ सय विद्यार्थी स्कुल जानबाट बञ्चित भएको स्थानीय जीवन अदैले बताए । त्यसै गरी वडा नं ६ र ४ जोड्ने ओख्रेनी घाटको पुल बगाउँदा नवज्योती प्राविमा अध्ययन गर्ने पानीपोखरा र दाङचुङका ६० विद्यार्थी प्रभावित छन् । वडा नं ३ र ७ जोड्ने दोवाडी घाट पुल बगाउँदा शिवालय उच्च माविमा अध्ययन गर्ने जाने विद्यार्थी स्कुल जान पाएका छैनन् । त्यसै गरी वडा नं ३ र ८ जोड्ने आमबोटको पुल बगाएको छ । बुढाथोकको नौविसे घाट, साराखेत घाटको पुल बगाउँदा वडा नं २, ९का जनताले सास्ती खेप्नु परेको छ ।

बाढीपहिरोले बागलुङमा ६ जनाको ज्यान गएको थियो । अधिकारीचौर गाविसमा—७२, बोङ्गादोभानमा—१८, भीमगिठेमा—६, बुर्तिवाङ —५, दर्लिङ—३, रायडाँडा—२, कुश्मिशेरा —२, बागलुङ नगरपालिकामा—६ घर , ग्वालीचौर, राजकुत, राङखानी, धुल्लुबांस्कोट, मालिका लगायतका गाविसमा घरहरु भत्किएको जिल्ला प्रशासन कार्यालय, बागलुङले जनाएको छ । १ सय ३५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । ‘करोडौंको क्षती भएको छ,’ पाण्डेले भने, ‘दर्जनौं गाउँका जनता अहिले पनि कष्टकर जीवन बिताइरहेका छन् ।’ सक्दो राहात सामग्री पठाइरहेको उनले बताए । एक दिन हेलिकप्टरबाट राहात सामग्री पठाए पनि स्थानीय भोकभोकै बस्न बाध्य रहेका छन् ।

प्रकाशित: २० श्रावण २०७३ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App