coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखामा पृथ्वीनारायण शाहको शालिक अनावरण: 'राष्ट्रनिर्माता सलामी' सुरु

पृथ्वीजयन्तीको दिन गोरखा सदरमुकामको ठुलो आँगनमा निर्माण भएको पृथ्वीनारायण शाहको शालिक अनावरणमा बोल्दै प्रधानसेनापति शर्मा। तस्बिर: नागरिक

तीन सय एक औँ पृथ्वीजयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखामा ‘राष्ट्रनिर्माता सलामी’ अपर्ण सुरु गरेको छ।

गोरखाको ऐतिहासिक ठुलो आँगनमा निर्माण भएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्दै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सलामीको सुरुवात गरेका हुन्।

‘पृथ्वीनारायण शाहका कारण मेरो देश हाम्रो देश भन्न पाएका छौँ, उहाँको दिब्यपदेशबाट अहिलेको हाम्रो वैदेशिक नीति, सामाजिक आर्थिक मार्गदर्शन मिलेको छ’ उनले भने।

पृथ्वीनारायण शाहले नेपाली सेना र जनता बिचको गहिरो सम्बन्धलाई समाजमा स्थापित गरेको उनले बताए। पहिलेको गोरखा राज्य र अहिलेको जिल्ला गोरखा भएकाले यो ईतिहासले गोरखा बासीलाई थप गौरवान्वित बनाएको उनले बताए।

नेपालका प्राचिन तथा प्रख्यात धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलले गोरखा जिल्ला तथा नगरलाई शोभायमान बनाएको बताउँदै प्रधानसेनापति शर्माले भने ‘यहाँहरूले यसको महत्वपलाई बुझेर फाइदा लिन सक्नुपर्नेछ।’

नेपाली जनताको हक हितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व भएको बताउँदै सेनापति शर्माले यसको अलावा नेपालको ऐतिहासिक धरोहरका रुपमा रहेका बिभिन्न गढी, दरवारहरुको संरक्षणमापनि काम गर्दै आएको बताए।

शालिक अनावरण कार्यक्रममा बिभिन्न ठाउँमा जातीय भेषभुसामा सजिएर बाजागाजा सहित सर्वसाधारण सदरमुकाम आएका थिए।

सेनाले हरेक दिन बिहान बेलुकी ठुलो आँगनसम्म पुगेर पृथ्वीनारायण शाहको शालिकमा सलामी दिनेछ। सलामी दिन ठुलो आँगनको बिच भागमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक राखिएको छ। सँगै नेपालको झण्डा सहितको मोनोग्रामपनि छ।

‘अब हरेक दिन सूर्योदय र सुर्यअस्तसँगै झण्डोत्तोलन तथा बिगुलद्वारा बिजयध्वनि सहित सलामी दिइनेछ’ गोरखास्थित रिपुमर्दन गणका गणपती हेम बिष्टले बताए। नेपालको इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जीवन्त राख्न र राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई सदैव उचित सम्मान दिने उद्देश्यले नेपाली सेनाको प्रस्तावमा गोरखा नगरपालिकाले यो कार्यक्रम संचालन गरेको नगरप्रमुख कृष्णबहादुर राना मगरले बताए। 

हरेक दिन नेपाली सेनाले बिहान बेलुकी परेड खेल्दा पर्यटकहरू बास बसेर हेर्न आउने उनले बताए। ‘यसले गोरखाको पर्यटन क्षेत्रको बिकास पनि हुनेछ’ उनले भने।

नेपाली सेनाको पृथ्वीनारायण शाहकालीन सेना (गुरुज्यूको पल्टन)ले सलामी अर्पण तथा परेड खेल्नेछ। सेनाको पोखराथोक ब्यारेकबाट ठुलो आँगनमा सम्म परेड संचालन हुन्छ।

नेपाल एकीकरणको उद्गम स्थल गोरखा भएको र पृथ्वीनारायण शाहको जन्म पुस २७ गते भएकाले एक दिन मात्र कार्यक्रम नगरी वर्षभरि नै राष्ट्रनिर्मातालाई सम्मान सेनाले सलामी सहित परेड संचालन थालेको जनाएको छ।

अन्य दिन भन्दा गोरखा बजार बुधवार निकै झकिझकाउ बनेको छ। नगरभित्र बाहिरका बिभिन्न ठाउँका सर्वसाधारण पृथ्वीजयन्तीको दिनमा सुरु हुने सलामी र परेड हेर्न आएका थिए। बुधवारबाट गोरखामा महोत्सव पनि सुरु भएकाले सर्वसाधारणको चहलपहल ठुलो संख्यामा थियो। पृथ्वीजयन्तीको दिन गोरखा नगरपालिकाले बिगतमा बिदा दिँदै आएको थियो। यस वर्ष सरकारले नै बिदा घोषणा गरेकाले पनि सर्वसाधारणको उपस्थिति बढेको थियो।

गोरखा बजार क्षेत्रको बसपार्कदेखि ठुलो आँगन सम्म सडक दायाँबायाँ सजिसजाउ गरिएको थियो। पृथ्वीनारायण शाहकालिन तस्बिरहरू, नेपालको नक्सा, झण्डाहरु सडक दायाँबायाँ मनै लोभ्याउने गरी सेनाले सजावट गरेको छ। त्यहाँ फोटो खिच्नेहरूको लर्को लागेको थियो। गोरखा सङ्ग्रहालय सँगै ठुलो आँगनमा बनेको शालिकले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्नेमा स्थानीय आशावादी छन्।

प्रकाशित: २७ पुस २०७९ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App