१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानव र हात्तीबिचकाे 'द्वन्द्व'

२३ वर्षमा हात्तीको आक्रमणबाट ३ सय १० जनाको मृत्यु, १० वर्षमा ४७ हात्ती मारिए

फाइल तस्बिर।

पुस महिनाको चिसो। चिसोबाट बच्न भरतपुर महानगरपालिका २८ अन्द्रौलीकी ७० वर्षीय भागरिथी सुवेदी घरमा आगो तापिरहेकी थिइन्। तर, पुस दुई गते एक्कासि घरमा धान खान आएको जंगली हात्तीले उनलाई आक्रमण गर्‍यो। 

‘धान राखेको भकारी भत्काएको आवाज आएछ। आगो ताप्दै गरेकी वृद्ध आमा आवाज सुनेर बाहिर निस्कँदा धान खाँदै गरेको हात्तीले आक्रमण गरेछ,’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले भने, ‘हात्तीको आक्रमणमा परि गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।’ उनलाई सो दिन राती ८ बजे तिर हात्तीले आक्रमण गरेको हो।

हात्तीको आक्रमणबाट मानिसहरूको प्रत्येक वर्ष नै मृत्यु हुने गरेको छ। गत चैत्र २ गते चितवन राष्ट्रिय निकुञ्ज भित्र नेपाली सेनामा कार्यरत बाग्लुङका गुप्त बहादुर थापाको पनि हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो। निकुञ्जमा एम्बुस कारबाहीको लागि ध्रुव मचान जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको हो। गत आर्थिक बर्षमात्रै हात्तीको आक्रमणबाट ज्यान गुमाएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। तर, चालु आर्थिक वर्षमा दुई जनाको ज्यान गइसकेको छ।

अहिले जंगली हात्तीहरू मानव बस्ती छिर्न थालेका छन्। उनीहरुले मध्यवर्ती क्षेत्रमा बस्ने मानिसहरूलाई सताउने गरेको छन्। अन्वबाली क्षति गर्नेदेखि मानिसहरूको ज्यान लिइरहेका छन्। नेपालमा २३ वर्षको अवधिमा हात्तीको आक्रमणबाट ३ सय १० जनाको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा हात्ती अनुसन्धान कर्ता अशोक राम बताउँछन्। 

उनका अनुसार नेपालमा सबैभन्दा बढी रोनाल्डो, धुव्रे, गोविन्दे, गणेश, मकुना, यमगज, गणेशगज रुमियो लगायतले मानिसको ज्यान लिएका छन्। 

‘चितवनमा धुव्रे, रोनाल्डो गोविन्देले मानिसहरूलाई दुख्ख दिएका छन्। धुव्रे र रोनाल्डोले अहिलेसम्म समान १८ को हाराहारीमा ज्यान लिएका छन्। गोविन्देले ३ वटाको ज्यान लिएको देखिन्छ,’ हात्तीको अनुसन्धान गरेका अशोक रामले भने, ‘कोशीटापुमा मकुनाले दुःख दिएको थियो। करेन्ट लागेर मर्‍यो।’

नेपालमा सबैभन्दा बढी झापा र बर्दियामा हात्तीले बढी सताउने गरेको उनले बताए।

‘झापामा दुःख दिने हात्ती पाँच वटा छन्। उनीहरूको नाम राखिएको छैन। बर्दियामा बर्दिया दारेहरु तीन वटा छन्,’ उनले भने ‘उनीहरुले मानिसहरूलाई दुःख दिएको देखिन्छ।’ 

चुरे क्षेत्र छुने सप्तरी, उदयपुर, इलाम, सुनसरी, सिराहा, पर्सा, चितवन, कञ्चनपुर लगायतका स्थानमा जंगली हात्तीले आक्रमण गर्ने गरेका छन्।

नेपालमा ३ सय ९७ वटा हात्ती रहेका छन्। त्यसमध्ये २ सय २७ वटा जंगली हात्ती छन्। घरपालुवा हात्ती १ सय ७० रहेको अशोक रामले जानकारी दिए। घरपालुवा जनावरमध्ये सरकारसँग १ सय ७ र व्यवसायीका ७० वटा हात्ती छन्। हात्ती समुहमा बस्न रुचाउने सबैभन्दा ठुलो जंगली जनावर हो। पछिल्लो समय मानिसहरू हात्तीको वासस्थानमा आएर बसोबास गर्दा दुई पक्षबिच द्वन्द्व बढेको उनको बुझाई छ।

‘जंगली हात्ती चुरेको तल्लो भागमा बस्ने गर्दछ। पछिल्लो समय त्यस क्षेत्रमा मानिसहरूको बसोबास बढ्दै गएको छ,’ उनले भने, ‘आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न खोज्दा द्वन्द्व सृजना हुन्छ।’

हात्तीको आक्रमणबाट मानिसको मात्र मृत्यु होइन मानिसले पनि हात्ती मार्ने गरेका छन्। विगत दश वर्षको अवधिमा ४७ वटा हात्तीको मृत्यु भएको उनले बताए।

‘नेपालमा करेन्ट, गोली तथा खाल्टोमा परेमार ४७ वटा हात्तीको मृत्यु भएको देखिन्छ,’ उनले भने, ‘मानिसहरू हात्तीप्रति उग्र बनिरहेका छन्।’

चुरे दक्षिणतिरको मेची–महाकालीबिचका जंगलमा हात्तीको बसोबास छ। निकै बुद्धिमान् र स्मरण शक्ति बलियो हुने हात्ती समूहमा बस्ने गर्दछ। हात्ती समझदार र दयालु स्वभावको हुने र उसले सितिमिति मानिसलाई आक्रमण नगर्ने उनले बताए। तर भीमकाय शरीर हुने हात्तीलाई बाच्नको लागि धेरै आहारा आवश्यक पर्ने हुँदा बालीनाली खाइदिने गर्दा मानिसहरू बिच द्वन्द्व बढ्ने गरेको उनले बताए। अर्को मात लाग्दा जंगली भाले हात्तीहरू घरपालुवा हात्ती खोज्दै आउने भएकाले मानिसलाई आक्रमण गर्ने गरेको उनले बताए।

‘भाले जंगली हात्ती केही वर्षयता सौराह नजिकै पर्ने खोरशोर हात्ती प्रजनन केन्द्र वरपर बस्ने गर्दछन्। प्रजनन केन्द्र भित्र ढोई भनिने पोथी हात्तीहरू हुन्छन्। साथमा उनीहरूका छावा पनि हुन्छन्,’ उनले भने, ‘पोथी हात्तीसँग सहवास गर्न आउँदा मानिसलाई समेत आक्रमण गर्ने गरेका छन्।’

चितवनमा तीन वटा जंगली भाले हात्ती आउँछन्। समुहमा बस्ने हात्तीको नेतृत्व हात्तीको हजुरआमाले गर्छिन्। चरिचरणदेखि बास्थानको व्यवस्थापन उनकै नेतृत्वमा हुन्छ। अनुशासन तोडेमा हात्तीको समूहबाट निकाल्ने काम उनैको हुन्छ। चितवनमा त्यस्ता रोनाल्डो, धुव्रे र गोविन्दे छन्।

प्रकाशित: २६ पुस २०७९ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App