लक्ष्मण कार्की बुधवार दिउँसो भरतपुरको केन्द्रीय बसपार्कमा रहेको विद्युतीय सवारी चार्जिङ स्टेसनमा अलमलमा देखिन्थे। विद्युतीय कार चार्ज गर्न आएका कार्की चार्ज गरेपछि चार्जिङ गन झिक्न नसक्दा अलमलमा परेका हुन्।
‘काठमाण्डौँदेखि वीरगञ्ज हिँडेका थियौँ। बिचमा समस्या पर्छ कि भनेर यहाँ चार्ज गर्न पसेका थियौँ,’ उनले भने, ‘डिजिटल सिस्टम हुँदा सुरुमा चार्ज गर्न केही समस्या देखियो।’ पूर्व सेनापति पूर्णचन्द्र थापालाई लिएर आएका कार्कीले काठमाण्डौँबाट कारको ब्याट्री सत प्रतिशत चार्ज गरेर हिँडेका थिए। भरतपुर आईपुग्दा सम्म ६० प्रतिशत चार्ज सकिएको उनले बताए।
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएपनि सवारी धनी अलमलमा परेका छन्। डिजिटल प्रविधि मार्फत चार्जको व्यवस्था भएपनि सो विषयमा ज्ञान नहुँदा चार्ज गर्न आएका अधिकांश सवारी धनी फर्किने गरेका छन्।
भरतपुर महानगरपालिकाका चौकीदार रामचन्द्र खनाल विद्युतीय सवारी साधन दैनिक ३० को हाराहारीमा चार्ज गर्न आएपनि अधिकांश फर्किने बताउँछन्। ‘यहाँ चार्ज गर्न सवारी धेरै आउँछन्। चार्ज गर्ने ठाउँमा कोही छैनन्। नजानेर सोध्छन्। मलाई पनि आउँदैन,’ उनले भने ‘६० प्रतिशत त चार्ज नगरी फर्किन्छन्।’
सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। चार्जिङ स्टेसनमा पेट्रोल पम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन। चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारी धनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ। तर, प्रविधि मार्फत शुल्क तिर्नुपर्ने हुँदा केही समस्या आएको चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका प्रोजेक्ट इन्जिनियर विवश आचार्य बताउँछन्।
‘चार्ज गर्दा गाह्रो भएको महशुस हामीले गरेका छौँ। हामीले परामर्श दिने गरेका छौँ, उनले भने, ‘सुरुमा गाह्रो भएको हो बिस्तारै बानी पर्नुहुन्छ।’
कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ। समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन। बिहान ५ देखि साँझ ५ बजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म नौ रुपैयाँ तोकिएको उनले बताए।
चितवनमा तीन ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिएको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो। मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेसनको काम अन्तिम चरणमा पुगेको छ। दुईवटा स्टेसनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ। तर, चितवनमा विद्युतीय सवारी साधना न्यून रहेको यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द प्रसाद पौडेल बताउँछन्।
‘हाम्रो कार्यालयमा विद्युतीय सवारी साधना दर्ता अहिलेसम्म भएको छैन। विद्युतीय मोटरसाइकलहरू नगन्य मात्रामा नवीकरण भएका छन्,’उनले भने, ‘सरकारले २० प्रतिशत छुट दिँदा पनि विद्युतीय सवारी साधनप्रति अझै आकष्रर्ण बढेको छैन।’ चितवनमा रहेका स्टेसनमा लामो दुरीमा गुड्ने सवारी साधनले चार्ज गर्ने गरेको उनले बताए।
बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेसन निर्माण गरिएको चार्जिङ स्टेसन निर्माण गरिएको छ। सिसीएचमा ठुला सवारी साधन चार्ज गर्न सकिन्छ। भने जिविटीमा साना सवारी साधन चार्ज गर्न सकिने इन्जिनियर आचार्यले बताए।
नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमता अनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ।
पेट्रोलियम पदार्थको आयातलाई कम गर्न पनि सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै आएको छ। नेपालमै उत्पादित विद्युत्को प्रयोगबाट सवारी साधन सञ्चालन गर्न सके अर्थतन्त्र समेत बलियो बन्दै जान्छ छ। अर्को तर्फ वातावरणीय हिसाबले पनि राम्रो रहेको पूर्व सेनापति पूणचन्द्र थापा बताउँछन्। ठाउँ ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेसन राख्ने हो भने विद्युतीय सवारी साधन चढ्न खोज्नेलाई सहज हुने उनको भनाई छ।
‘एक युनिटको २ सय ६० रुपैयाँसम्म पर्यो। यसरी हेर्दा मेरो गाडीमा प्रतिकिलोमिटर एक रुपैयाँको हाराहारीमा सस्तो पर्न जान्छ,’उनले भने ‘सहजरुपमा उपलब्ध हुने हो भने सस्तो र वातावरणीय रुपमा पनि फाइदा जनक छ।’
प्रकाशित: २५ पुस २०७९ ०९:३४ सोमबार