२५ असार २०७७ बिहीबार
समाज

२८ घन्टा राप्तीले घेरिँदा

बेतहनी (बाँके)- देशरानी यादव डेढमहिने छोरालाई दूध चुसाउँदै थिइन्। एक्कासि घरभित्र भल पस्यो। छोरालाई छातीमा टाँसेर हतारहतार बाहिर निस्किइन्। उर्लंदो राप्तीले पूरै गाउँ छोपिसकेको थियो। पाँच वर्षमुनिका अरू तीन लालाबाला आत्तिएर आमासँग टाँस्सिए। घरैमा बसिराख्दा बाढीले पूरै निल्लाजस्तो भयले छोप्यो। उनी लालाबाला डोहोर्‍याउँदै अघि बढिन्। आधा जिउ डुबाउने गरी पानी जमिसकेको थियोे।

'छोराछोरीलाई सोहोरेर घरको आटीमा गएँ, बाँचिएला भन्ने त लागेकै थिएन,' उनले भनिन्, 'धन्न, भाग्य र भगवान्ले साथ दिए!'

 मंगलबार बिहान १० बजेतिर हो, उनको वासस्थल होलियाको चौफेरीलाई राप्तीले चारैतिरबाट घेरा हालेको। उनी दिनभर घरै बगाउलाझैं उर्लेको बाढी हेरेर आटीमै बसिन्। काखीमा चार बच्चा थिए। नदीको बहाब बढेर आटीसम्म पुग्दै थियो। दिउँसो करिब ४ बजेतिर आकाशमा हेलिकप्टर देखियो। 'त्यो हेलिकप्टर 'भगवान्' बनेर आएको रहेछ,' बेतहनीको झोरा सामुदायिक वनमा विस्थापित जीवन बिताइरहेकी देशरानीले भनिन्, 'नयाँ जीवन पाएजस्तै लागिरहेको छ।' बाढीको पानी पिएर डेढमहिने छोरो बिरामी परेकोमा भने उनी चिन्तित छिन्।

 देशरानी साँच्चिकै 'भाग्यमानी' कहलिइन्। पहिलो दिनै नेपाली सेनाको हेलिकप्टरले उद्धार गर्‍यो। सोही गाउँकी सफिरा दर्जीले भने झन्डै २८ घन्टा 'काल' सँग संघर्ष गर्दै बिताइन्। 'म मात्र भए त केही थिएन, साथमा यी बच्चाबच्ची पनि थिए,' उनले भनिन्, 'यिनीहरूलाई कसरी बचाउने भन्ने चिन्ताले सताइरह्यो।'

 सफिरा पाँच छोराछोरीलाई मंगलबार दिउँसोदेखि अँगालोमा बेरेर घरको छतमा बसिरहिन्। राम्ररी बु‰ने भइनसकेका साना नाबालक राति भोक लाग्यो भनेर रोइरहे। सफिरालाई भने भोकभन्दा मृत्युसँग बढी डर थियो। 'धन्न, हिजो (बुधबार) मध्याह्न गाउँमै हेलिकप्टर आएर यहाँ पुर्‍याइदियो,' उनले भनिन्, 'नयाँ जीवन पाएजस्तै लागिरहेको छ।'

 यसपटक वास्तवमै चौफेरीबासीले नयाँ जीवन पाएका छन्। नेपाली सेनाको हेलिकोप्टर समयमै उद्धारमा नपुगेको भए स्थानीयकै भनाइअनुसार धेरैको हताहती हुने थियो। चौफेरी होलिया गाविसको २, ३ र ४ वडा रहेको गाउँ हो। करिब ६ सय घरधुरी रहेको यो गाउँलाई चारैतिरबाट राप्तीले घेरेको छ। राप्तीमा बाढी बढ्नेबित्तिकै टापु गाउँ जोखिममा पर्छ। भारतले सन् १९८५ लक्ष्मणपुर बाँध र २००० मा कलकलवा तटबन्ध बनाएपछि बाढीको प्रकोप निम्तिएको स्थानीयको भनाइ छ। 'पहिले त डुबान र बाढी भन्ने के हो थाहै हुन्थेन,' लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका सचिवसहेत रहेका स्थानीय राजकुमार शुक्ला भन्छन्, 'बाँध र तटबन्ध बनेपछि भने राप्तीको पानी थुनिएर यतै फर्किन थाल्यो, बर्खा लाग्यो कि हाम्रो निद्रा हराम हुन्छ।' लक्ष्मणपुर बाँधले राप्ती नदीको प्राकृतिक बहाव र कलकलवा तटबन्धले उत्तरतिरबाट बगेको बर्खाको भल छेकिदिँदा यस्तो समस्या हुने गरेको उनले बताए।

 चौफेरी बाढीको उच्च जोखिममा छ भन्ने कुरा सरकारलाई थाहा नभएको होइन। त्यसैले २०६३ सालमै त्यहाँका मान्छेका लागि लागि बेतहनीको झोरा सामुदायिक वनमा बसोबास प्रबन्ध मिलाइएको छ। तर, खेतबारी र वनजंगल उतै हुँदा अधिकांश स्थानीय चौफेरीमै बस्छन्। 'यता त झुपडी हाल्नका लागि सानो टुक्रा जग्गा दिएको छ, उता (चौफेरी) गएर खेतीकिसानी नगरे पेट भरिँदैन,' स्थानीय यशोधा यादवले भनिन्, 'बर्खामा ज्यान जोखिममा हुन्छ भन्ने थाहा भए पनि नगई सुखै छैन।' तत्कालका लागि चामल–च्युरा दिनुभन्दा पनि सुरक्षित ठाउँमा खेतीयोग्य जमिन व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरिन्।

हरेक बर्खामा आकाशमा बादल मडारिनेबित्तिकै चौफेरीबासीको निद्रा हराउँछ। राप्ती बढेर गाउँ कति बेला टापु बन्ने हो पत्तै हुँदैन। धन्न, यस वर्ष दिउँसै बाढी पस्यो, समयमै उद्धार भयो। तैपनि स्थानीयको ज्यान त्राहीत्राही भयो। ७८ वर्षीय बिहारी यादवले बाढीबाट बच्न कम्ती संघर्ष गर्नुपरेन। उनी सुरुमा गोरुगाडामा चढे। बाढीले गाडालाई पनि डुबायो। त्यसपछि गाडामाथि खटिया राख्न लगाए। त्यही खटिया पनि डुब्ने छाँट देखियो। 'अब त हुन्न भनेर केटाहरूले घरको छानामाथि चढाए,' उनले भने, 'त्यही छानो पनि कति बेला डुब्ने हो भर थिएन, सरकारले हेलिकोप्टर पठाएर बचायो।'

यस वर्ष चौफेरीबासीलाई भाग्यले पनि साथ दियो। नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा थियो। गाउँ जोखिममा परेको खबर सुन्नेबित्तिकै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सुरक्षा निकायसँग समन्वय गरेर तुरुन्तै उद्धारको काम गरे। 'हामी बाढी र डुबानबाट धनजन क्षति जोगाउन पूर्वतयारीमा पनि थियौं, जोखिम बढेपछि सुरक्षासंयन्त्रबीच प्रभावकारी समन्वय पनि भयो,' उनले भने, 'त्यही भएर सम्भावित क्षतिबाट बस्ती जोगाउन सकियो।'

उनका अनुसार मंगलबार र बुधबार राप्तीको बाढीबाट प्रभावित ८ सय ९८ जनालाई सेना–प्रहरीको सहयोगमा उद्धार गरिएको छ। चौफेरीमा हेलिकोप्टरबाट उद्धार गरिए पनि अन्यत्र डुंगा तथा ट्युबबाट उद्धार गरिएको हो। चौफेरीका ३ सय १४ जनालाई हेलिकोप्टरबाट र १ सय ३ जनालाई डुंगाबाट उद्धार गरिएको छ।

चौफेरीबाट उद्धार गरिएकाहरू अहिले बेतहनीको झोरा सामुदायिक वनमा बसिरहेका छन्। विगत वर्षमा बाढीले दुःख दिएपछि बसाइँ सरेर आएका आफन्तकोमा आश्रय लिएर बसिरहेको उनीहरू बताउँछन्। 'खाने चिज र लत्ताकपडा सबै बगायो, यहाँ आफन्तसँग मागेर खाइरहेका छौं,' देशरानीले भनिन्, 'कति दिनसम्म भोकभोकै बस्नुपर्ने हो थाहा छैन।' ज्यान जोखिममा रहे पनि वर्षा रोकिएपछि गाउँ जानुको विकल्प नरहेको उनले बताइन्।

प्रकाशित: १४ श्रावण २०७३ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App