१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'सिरियल किलर' भारतीय दम्पती पक्राउ

अर्घाखाँचीको शितगंगा नगरपालिका–१० बहखोरकी राधा थापाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले भारतिय नागरिक सुशान्त सिंहलाई पक्राउ गर्‍यो। उनले थापाको हत्या कबुल पनि गरे।

प्रहरीले अनुसन्धान गर्दै जाँदा २३ वर्षे सुशान्त सिंहको डरलाग्दो तथ्य पत्ता लागेको छ। उनले अर्घाखाँचीकी थापाको मात्र नभएर अन्य दुई महिलाको समेत हत्या गरेको खुलेको छ। सिंह अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको श्रृङ्खलाबद्ध हत्या गर्ने भारतीय (सिरियल किलर) रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दावी गरेको छ।

वृद्ध तथा एकल महिलाहरूको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।

उनले यही पौष १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको प्रहरीले जनाएको छ।

उनले एक्लै नभएर उनकी श्रीमती संग मिलेर अपराधिक क्रियाकलापलाई विस्तार गरिरहेका थिए। उनले अर्घाखाँचीको शितगंगाकी शिवा परियारसंग विवाह गरेका थिए। उनले नेपाली नागरिक बिहे गर्नुमा समेत अपराधिक मनसाय रहेको बुझ्न सकिन्छ। उनी गतिलो पार्टनरको खोजीमा थिए। परियारलाई भेटाएर उनीसंग बिहे गरेपछी संयुक्त रुपमा उनिहरुले ज्यान मार्ने, लुटपाट गर्न सुरु गरे। पहिलो र दोस्रो हत्या तथा लुटपाटमा उनीहरु सफल भएपनी तेस्रो हत्यापछी भने सिंह प्रहरी फन्दामा परे।

श्रीमतीसँग मिलेर हत्या गरेको सिंहले स्विकार गरेपछी श्रीमती शितगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाई प्रहरीले पक्राउ गरेको छ। सिंह दम्पत्तीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।  

‘सिरियल किलरका रुपमा सिंह देखा परेका छन्, प्रहरी प्रमुख रिजालले भने,‘श्रृङ्खलाबद्ध हत्याको क्रमलाई रोक्न सफल भएका छौं।’ उनीहरू दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाएको रिजालले बताए।

प्रकाशित: २४ पुस २०७९ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App