७ वैशाख २०८१ शुक्रबार
समाज

तिनाउको झोलुङ्गे पुल बाढीले बगायो

बुटवल- रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ। देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन्।

तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ।

पुल बगाउँदा उपमहानगरपालिकासँग तिनाउपारिका बस्ती जोड्ने प्रमुख माध्यम अवरुद्ध भएको छ । यसबाट बुटवल आवतजावत गर्न बुटवलका मोतीपुर, सेमलार, फर्साटिकर लगायत क्षेत्रका जनता प्रभावित हुने भएका छन् ।

बाढीले नदी किनारको जमिन कटान गर्न थालेपछि सो क्षेत्रका बस्तीमा त्रास उत्पन्न भएको छ । बस्तीका सर्वसाधारण नदी कटान हुने डरले घरबाट सरसामान निकालेर अन्यत्र सरेका छन् ।

यसअघि सोमबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउमा आएको बाढीले आज बिहान नदी किनारमा रहेका अव्यवस्थित बस्ती उपमहानगरपालिका–७ का प्रगतिनगरमा १० घर र वडा नं १३ को मजुवामा पाँच घर बगाएको थियो ।

खतरामा रहेका बस्तीलाई अन्यत्र लैजान स्थानीयवासी र प्रहरी खटेकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो । नदी किनारमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका करिब ५०० बढी घर जोखिममा परेका छन् । दुर्गानगर, न्यु दुर्गानगर, सीमानगर, खयरघारी लगायत २०० बढी घरमा पानी पसेको छ । रासस

प्रकाशित: ११ श्रावण २०७३ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App