८ वैशाख २०८१ शनिबार
समाज

हिन्दु र मुस्लिमले बनाए मन्दिर

गाउँलेले निर्माण गरेको दुर्गा माताको मन्दिर ।तस्बिर: गणेश/नागरिक

बाँकेस्थित जानकी गाउँपालिका– १ शिवपुरीमा हिन्दु र मुस्लिम समुदाय मिलेर ‘दुर्गा माता’ को मन्दिर निर्माण गरेका छन्। उनीहरूले सहयोग संकलन र श्रमदान गरेर उक्त मन्दिर निर्माण गरेका हुन्।

शिवपुरीमा हिन्दु समुदायका लागि मठमन्दिर नहुँदा पूजापाठमा समस्या भएपछि स्थानीयको सहयोगमा मन्दिर निर्माण गर्ने निर्णय भएको थियो। मन्दिर निर्माण गरिएको ठाउँमा सानो ढुंगा राखेर दुर्गा माता भनेर पूजा गरिँदै आएको थियो। यसलाई थप व्यवस्थित गरेर मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष सुरेश थापाले जनाए। दुई कट्ठा जमिनमा मन्दिर निर्माण गरिएको उनी बताउँछन्। मन्दिर निर्माणका लागि यहाँका स्थानीयले करिब २१ लाख रूपैयाँ संकलन गरेका थिए। ‘पैसा हुनेले पैसा सहयोग गर्नुभयो’, उनी भन्छन्, ‘पैसा नहुनेले श्रमदान गर्नुभयो।’ कतिपयले निर्माण सामग्रीसमेत सहयोग गरेर योगदान पुर्‍याएको उनको भनाइ छ। ‘कसैले दुई सय रूपैयाँ सहयोग गर्नुभयो’, उनले भने, ‘केहीले चार लाख रूपैयाँसम्म पनि सहयोग गर्नुभयो।’ सहयोगका लागि अनिवार्य भनिएको थिएन।

२०७८ जेठदेखि मन्दिर निर्माणको काम सुरु गरिएको थियो। उक्त मन्दिर करिब १० महिनामा सम्पन्न भएको मन्दिर निर्माण व्यवस्थापन समितिले जनाएको छ। यस गाउँमा करिब दुई सय घरपरिवार बसोबास गर्छन्। यति मात्र होइन, हिन्दुको मन्दिर निर्माण गर्न मुस्लिम समुदायका मानिस पनि श्रमदानका लागि गएका थिए। हिन्दु र मुस्लिम समुदायबीच एकता र सद्भावको सन्देश दिन मन्दिर निर्माणमा सहयोग गरेको मुस्लिम समुदायको भनाइ छ। ‘मुस्लिम समुदायका व्यक्तिले मन्दिर बनाउँछन् भनेमा विश्वास नै लागेको थिएन’, मन्दिर निर्माण समितिकी उपाध्यक्ष सुनिता आलेले भनिन्, ‘हिन्दु–मुस्लिमको धर्म नै मिल्दैन, तर हाम्रो सहयोगी भावना भने मिल्छ।’ सबै धर्मावलम्बी मिलेर दुर्गा माताको मन्दिर बनाएर एकताको सन्देश दिएको उनले बताइन्। यसले धार्मिक विभेद हटाउन ठूलो योगदान पुर्‍याएको उनको भनाइ छ।

गाउँमा मन्दिर निर्माण भएपछि यहाँका धर्मावलम्बी खुसी भएका छन्। पुजापाठका लागि बेलाबेलामा धर्मका नाममा राजनीति गर्नेलाई यसले एकता टुक्र्याउन चुनौती थपेको स्थानीयको भनाइ छ। ‘धर्मको नाममा लडाइँ झगडा गराउने कार्यलाई यसले निरुत्साहित गर्ने छ’, उनले भनिन्, ‘हाम्रो एकतालाई पनि यसले थप मजबुत बनाएको छ।’ उक्त मन्दिर निर्माणका लागि वडा कार्यालयले एक लाख रूपैयाँ सहयोग गरेको थियो। आवश्यक सहयोगका लागि उनीहरू गाउँपालिकासम्म पुगेका छन्।

प्रकाशित: २१ पुस २०७९ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App