७ वैशाख २०८१ शुक्रबार
समाज

अजित घटना छानबिन समिति गठन, गृह प्रवक्तासमक्ष हत्याको दाबी

काठमाडौं- असार ३० मा मृत फेला परेका काभे्र होक्से–६ का १८ वर्षीय अजित ढकाल मिजारको मृत्यु प्रकरणबारे छानबिन समिति गठन गरिएको छ। असार ३० गते मिजारको शव धादिङ, गजुरीमा फेला परेको थियो। असार २९ गते काभे्र, पाँचखालस्थित घरबाटै उनी बेपत्ता भएका थिए।

सामाजिक सञ्जालमार्फत् छोराको शव गाडेको थाहा पाएपछि पिताको अनुरोधमा गजुरी इलाका प्रहरीले गाडेको शव झिकेर काठमाडौं ल्याएको थियो।

बुधबार राष्ट्रिय दलित आयोग तथा दलित अधिकारकर्मीद्वारा आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता यादव कोइरालाले घटना भएको जिल्ला धादिङमै छानबिन समिति गठन गरिएको जानकारी दिए।

धादिङ जिल्ला प्रमुख अधिकारी विश्वप्रकाश सुवेदीका अनुसार सहायक जिल्ला अधिकारी लीलाधर अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ। अधिकारीसँगै समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पंजियार र प्रमुख जिल्ला अनुसन्धान अधिकृत नवीन कार्की छन्। 'सात दिनभित्र छानबिन गर्ने आदेश पाएका छौं, जल्ला प्रहरी कार्यालय धादिङलाई पत्र पठाइसकेका छौं,' संयोजक अधिकारीले भने। 

यथेष्ट प्रमाण नजुटेकाले दोषीलाई पक्रन नसकिएको प्रवक्ता कोइरालाले सञ्चारकर्मीसँग बताए। 'पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ, भिसेरा जाँच गर्न पठाएका छौं, छानबिन समितिले छानबिन गर्न बाँकी छ,' कोइरालाले भने।

गृह प्रवक्ताले दिएको जवाफप्रति कार्यक्रममा उपस्थित पीडित पक्ष, दलित अधिकारकर्मी तथा सञ्चारकर्मी असन्तुष्ट देखिए। उनीहरुले घटनाको कारण अन्तरजातीय विवाहसँग जोडिएको हुनाले प्रहरी प्रशासनले बेवास्ता गरेकोमा आपत्ति जनाए।

मृतकका बाबु हरिभक्त ढकाल मिजारले गृहप्रवक्ता सामु छोराको मृत्युको कारण अन्तरजातीय विवाह नै भएकाले दोषीउपर कारबाही हुनुपर्ने माग गरे। उनले घटनाअघिदेखि हुँदै आएका धम्की तथा अन्य घटनाको सिलसिला सुनाउँदै अन्तरजातीय विवाह नै हत्याको कारण भएको दाबी गरे।

मृतक अजितको विवाह असार २५ गते स्थानीय सर्वमंगले उच्चमाविमा अध्ययनरत कल्पना पराजुलीसंग भएको थियो। विवाह लगत्तै असार २७ मा माइती पक्षले प्रहरीको सहयोगमा खोसेर लगेका थिए। त्यस दिनदेखि नै छोरालाई पटक–पटक धम्की आउने गरेको र त्यो आधारमा छोराको हत्या भएको उनले दाबी गरे। 'छोरा वेपत्ता हुने दिन पनि उसलाई फोनबाट धम्की आईरहेको थियो'उनले पत्रकार सम्मेलनमा भने।

जाहेरी दिएको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नभएकोमा दलित अधिकारकर्मीले आपत्ति जनाएका छन्। अन्तरजातीय विवाहकै कारण अजितको हत्या भएको दावी गर्दै दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन्। प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको भन्दै राष्ट्रिय दलित आयोग सहित संयुक्त दलित संघर्ष समितिको बुधवार वैठक बसी बिरोधमा उत्रिने निधो गरेका छन्।

राष्ट्रिय दलित आयोगले सरकारले उच्चस्तरीय समिति गठन गर्न नसकेको जनाउँदै अजित घटना हत्या नै भएको दावी गरे। सरकारले घटना प्रति वेवास्ता गर्दै आएकोमा आपत्ति जनाए। 'किटानी जाहेरी दिएपछि अनुसन्धानको लागि चोर त पक्रेर ल्याइन्छ,यहाँ मान्छेको हत्या हुँदा पक्राउ नगर्नु दुःखलाग्दो कुरा हो'उनले बुधवार नागरिकसंग भने।

 

प्रकाशित: ६ श्रावण २०७३ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App