१६ चैत्र २०८० शुक्रबार
समाज

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

पोखरा–पृथ्वी राजमार्गको तनहुँ खण्डमा बुधबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एउटै राजमार्गको करिब १५ किलोमिटर दुरीभित्र भएका तीनवटा दुर्घटनामा परि ३४ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुरेन्द्र गुरुङका अनुसार दुर्घटनामा १ महिला र २ जना पुरुषको ज्यान गएको छ । गुरुङका अनुसार पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग २ च २३०७ नम्बरको तरकारी बोक्ने भ्यान र दमौलीबाट पोखरा आउँदै गरेको ग १ ज ४३२५ नम्बरको ट्याक्सी जामुनेमा ठोक्किँदा ट्याक्सी चालक ४१ वर्षीय देउबहादुर थापाको ज्यान गएको छ । त्यस्तै सोही ट्याक्सीकी यात्री ५३ वर्षीया मन थापाको थप उपचारका लागि पोखरा ल्याउने क्रममा मृत्यु भएको गुरुङले बताए ।

घाँसीकुवा–३, कमलवारीमा भएको अर्काे दुर्घटनामा एकजनाको ज्यान गएको छ । मुग्लिनबाट दमौली आउँदै गरेको ना ५ ख ७९८४ नम्बरको ट्रक र दमौलीबाट मुग्लिनतर्फ गइरहेको ध १ ख ४९५ नम्बरको बस एकआपसमा ठोक्किदा २७ वर्षिय दीपक नहर्कीको ज्यान गएको छ । दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको सदरमुकामस्थित जिल्ला अस्पताल र रत्नहरी अस्पतालमा उपचार भईरहेको उनले बताए ।
बुधबार बिहान भएको अर्काे दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ६४४७ नम्बरको यात्रुबाहक बस जामुने–३, गुणादीमा दुर्घटना हुँदा १२ जना यात्रु घाईते भएका छन्। तीब्रगतिको बस सडक चालकको नियन्त्रण बाहिर गएर सडकबाट केही तल झरेको छ । घाइतेहरुको दमौली अस्पतालमा उपचार भईरहेको छ ।

डिएसपी गुरुङले वर्षा भइरहेको बेला तीब्रगतिमा सवारी चलाउँदा दुर्घटना हुन पुगेको बताए । ‘राजमार्गको छोटो दुरिभित्र तीनवटा दुर्घटना भएका छन् । सबैजसो दुर्घटना तिब्र गतिमा सवारी चलाएकोले भएको प्रारम्भिक अध्ययनमा देखिएको छ,’ उनले भने, ‘तिब्रगतिमा सवारी चलाएकैले दुर्घटना भएका हुन ।’ उनका अनुसार राजमार्ग घुम्ति रहेको र त्यसमा तिब्रगति हुँदा चालकले सवारी नियन्त्रणमा लिन नसकेको देखिएको छ । ‘ब्रेक लगाएपछि ५० मिटर गुडेर रोकिने गरि गतिमा सवारी चलाएकोले दुर्घटना भएको हो,’ उनले भने, ‘बुधबारका सबै दुर्घटना तिब्रगतिमा सवारी चलाएकैले घटेका छन् ।’

 

प्रकाशित: ५ श्रावण २०७३ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App