७ वैशाख २०८१ शुक्रबार
समाज

‘चुरे जोगाउन’ चुरे दोहन !

तटबन्धनका लागि भन्दै राप्ती पारी चुरेका खोलाहरुबाट निकालिएका ढुंगाहरु। तस्बिर: देवेन्द्र बस्नेत/नागरिक

बाँके,राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ दुबेरी स्थित खहरे खोला संरक्षणका लागि भन्दै तटबन्धन निर्माण गरिँदै छ। खाडल खनिएका छन्, अनि बग्रेल्ती ढुंगाका चाङ लगाइएका छन्।

बर्खामा मात्रै बग्ने यो खहरे खोलाको भित्री जंगलभित्र गर्न थालिएको तटबन्ध बडो गज्जबको छ। खोलाको कटान छैन। खोला र जमीनको सतह बराबर छ। नजिकमा घना बस्ती छैन। खोला नजिक रहेका एक/दुई घर पनि कटानको जोखिममा छैनन्।

तर चुरे तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन ईकाई कैलालीले जंगलभित्रको यो खोलामा तटबन्धन गर्ने योजना पारिदियो। चुरे क्षेत्रको संरक्षणका लागि गर्न थालिएको तटबन्धनको योजनाले उल्टै चुरेलाई जोखिममा पारिदिएको छ।

कारण: यो खोलामा लगाउन थालिएको तटबन्धनका लागि चुरे क्षेत्रमै उत्खनन् गरेर ढुंगा निकालिएको छ। यसै खोलाको मुहान (चुरे फेँद) बाटै ढुंगा उत्खनन् गरेर तटबन्धनका लागि ढुंगा निकालिएको छ। पुछारमा तटबन्धन, फेँदमा उत्खनन्। बिकासको यो ‘लीला’ ले चुरेलाई थप संकटमा पार्न थालिएको प्रष्टै देखिन्छ। तटबन्धन गर्न थालिएको क्षेत्रमा खाल्डा खनिएका छन्, अनि ढुंगा थुपारिएका छन्। यी ढुगाहरु यसै खोलाको फेँद देखि निकालिए हुन्। ‘यसै खोलाको माथिबाट ढुंगा निकालेका हुन्,’ एक स्थानीय महिलाले भनिन् ‘हाम्रो यहिँको बिकासका लागि भनेर निकालिएको हो, अन्त कतै यहाँको ढुंगा त लगिएको छैन।’

देबेरी गाउँ देखि थोरै पश्चिममा पर्ने चुनाहा स्थित खोलामा पनि बेहाल छ। जंगल क्षेत्र भित्र खोलाको एक छेउमा बडेमानको खाल्डो खनिएको छ। त्यहि खाल्डोमा ढुंगा बिच्छ्याएर जाली लगाउने योजना बनाइएको छ। अनि यो तटबन्धनका लागि प्रयोग हुने ढुंगा पनि सोही खोलाको माथिल्लो भाग चुरे फेँदबाटै निकालिएको छ। यो निकासी पनि अनुमती बेगर मनोमानी गरिएको गरिएको रहेछ।

चुनाहा बस्तीदेखि पश्चिम तर्फको अर्को खोला (तल्लो चुनाहा खोला) मा भने दुई स्थानमा तटबन्धन भैरहेको रहेछ। राप्ती नदी संगको मुहान जोडिएको खहरे खोलामा तटबन्धनको काम भैरहेको छ। अनि त्यस भन्दा माथिल्लो भागमा तटबन्धनका लागि खोलाको छेउमा खाडल खनिएका छन्। अनि खाडल नजिकै ढुंगाका चाङ छन्।

अझ यो स्थानमा त खोलाको भाग एकातिर छ भने तटबन्धनका लागि खनिएको खाडल भने खोलाको भागदेखि टाढा चउरमा खनिएको छ। अनि त्यहि चउरमा खनिएको खाडलमा तटबन्धन गर्नका लागि प्रयोग हुने ढुंगा भने चुरेकै खोलाबाट निकालिएको छ। ‘तारजाली लगाउने भनेर काम भैरहेको छ,’ यो गाउँका एक स्थानीयले भने ‘जाली लगाएर जग्गा जोगाउने भनेर खोलाको माथिबाट ढुंगा निकालिएको हो।’

यसै वडाका भवानीयाँपुर गाउँदेखि पश्चिम अमुवा गाउँ र भमका गाउँको बीचमा पर्ने चुरेको खोलामा पनि तटबन्धनका नाममा उसैगरि चुरे उत्खनन् गरिएको छ।

चुरे संरक्षणका नाममा चुरेलाई दोहन गरिरहेका यस्ता दृष्टान्त बाँके राप्ती पारीका बसेरी गाउँ देखि भमका सम्मका खहरे खोलाहरुमा भेटिन्छन्। नाम चुरे संरक्षण तर काम भने चुरेलाई दोहन गरिरहेका यी विकासे आयोजनाको काम सरकारी नीति भन्दा बिल्कुलै बाहिरै छन्। विकासे आयोजनाका नाममा चुरे क्षेत्रबाट ढुंगा निकासी गर्न पाईँदैन। राष्ट्रिय गौरबका आयोजनाका लागि पनि ढुंगा निकासीका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट अनुमती लिएर मात्रै निकासी गर्न पाउने प्रावधान छ। यसर्थ राप्ती सोनारी गाउँपालिकाका राप्ती नदी पारीका जंगलभित्रका खोलाहरुमा तटबन्धनका नाममा भैरहेका उत्खनन् अवैध छन्। नत यी कुनै पनि खोलाहरुमा वातावरणीय प्रभाव मूल्यांकननै गरिएको छ। स्थानीय विकासको नाममा चुरेका खोलाहरुबाट बिना रोयल्टी ढुंगा निकासी हुँदा विकासको ‘ठेक्का हानेका’ हरुलाई फाइदा पुगेको छ।

चुरे तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन ईकाई कैलालीले यो कामको जिम्मा उपभोक्ता समितिलाई दियो। तर यो योजना अहिले स्थानीय ठेकेदाहरुको हातमा पुगेको छ। उनीहरुले नै तटबन्धनका नाममा आफूखुशी चुरेका खोलाहरुमा उत्खनन् गरिरहेका छन्।

तटबन्धनका नाममा गरिएको चुरे उत्खनन्का लागि आफूहरुले कतैबाट पनि अनुमती नलिएको उत्खनन्कर्ताहरु स्वयं नै बताउँछन्। ‘यी खोलाहरुबाट ढुंगा निकासीका लागि अनुमती छैन,’ तटबन्धनको जिम्मा पाएका नरेन्द्र केसीले भने ‘तर हामीहरुले खोलाको सतहमा थुप्रिएका ढुंगाहरु मात्रै निकालेका हौँ, उत्खनन् नै गरेका हैनौँ।’ उनी सहितका समूहले दुबेरीदेखि तल्लो चुनाहा सम्मका खोलाहरुको तटबन्धनको जिम्मा लिएको छ।

यी सबै खोलाहरुमा उनीहरुले तटबन्धनका लागि चुरे क्षेत्रबाटै ढुंगा निकालेका छन्। नत चुरे क्षेत्रबाट निकासी भएको ढुंगाको रोयल्टी नै तिर्छन्। उनका अनुसार वडा कार्यालयको अघिल्लो नेतृत्वका बेला स्थानीय विकास निर्माणका लागि स्थानीय खोलाहरुबाट ढुंगा बालुवा निकासी गर्ने सहमती भएको थियो। ‘एउटा गाउँको विकासका लागि अर्को गाउँमा रहेका खोलाहरुबाट ढुंगा बालुवा निकासी गरेर सघाउने भन्ने सहमती वडाको अघिल्लो कार्यकालका बेला भएको हो,’ केसी भन्छन् ‘त्यसै सहमतीका आधारमा हामीहरुले स्थानीय विकासका लागि ढुंगा निकालेका हौँ।’ तर अहिले भने स्थानीय तहबाट पनि उनीहरुले कुनै सहमती लिएका छैनन्।

यता यो योजना छनौट गरेको चुरे तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन ईकाई कैलालीले भने कुनै पनि बहानामा चुरे क्षेत्रमा उत्खनन् गर्न नपाईने बताउँछ। राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम मार्फत अनुमती प्राप्त गरेर मात्रै चुरे क्षेत्रमा मापदण्डमा रहेर ढुंगाजन्य पदार्थ निकासी गर्न पाईने कार्यविधी रहेको यो कार्यालयका प्रमुख भरत भट्ट बताउँछन्।

उनका अनुसार सुरुमा उत्खनन्का लागि सम्बन्धीत खोलाहरुको वातावरणीय प्रभाव मूल्यांकन गरिनु पर्छ। अनि स्थानीय तहको सिफारीसका आधारमा जिल्ला समन्वय समितिले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रस्ताव पेश गर्नु पर्ने र सो आधारमा अनुमती प्राप्त भए मात्रै सिमितताको परिधि भित्र रहेर उत्खनन् गर्न पाउने प्रावधान छ। ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको अनुमतीका आधारमा मात्रै चुरे क्षेत्रबाट ढुंगा उत्खनन् गर्न पाउने हो,अन्यथा चुरे क्षेत्रमा उत्खनन् गर्न पाईँदैन,’ भट्टले भने ‘बाँकेमा तटबन्धनको हकमा भएको उत्खनन् बारे हामीलाई भने थाहा भएन, तर अनुमती बेगर उत्खनन् भएको हो भने यो अवैध नै हो।’

उनले बाँकेका तटबन्धनका यी योजना बारे तत्कालै अनुगमनमा आफू निस्कन लागेको र त्यहाँ भएको कामको बैधता बारे जानकारी लिने समेत बताए। ‘म पनि ति योजनाहरुको अनुगमनका लागि चाँडै निस्कँदै छु,मैले पनि त्यहाँ के भएको रहेछ हेर्ने छु,’ उनले भने ‘तर त्यहाँको चुरे क्षेत्रबाट ढुंगा निकासी भएको भए त्यहाँको स्थानीय तह, अनि जिल्ला समन्वय समितिले निगरानी गर्नु पर्ने हो।’

तर यहाँका वडा तथा गाउँपालिकाले भने विकासका नाममा भैरहको चुरे दोहन बारे ध्यान दिएका छैनन्। ‘जंगलभित्रका खोलाहरुमा तटबन्धन गर्ने भनेर चुरेका खोलाबाट ढुंगा उत्खनन् भएको छ,तर स्थानीय सरकारहरुले यो अबैध कामलाई देखे पनि नदेखेझैं गरेका छन्,’ राप्ती सोनारी १ का एक स्थानीयले भने ‘सबैको मिलेमतो भएरै त नदेखेका होलान नि।’  

प्रकाशित: १९ पुस २०७९ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App