११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘यकिन तथ्यबिना अन्त्येष्टि गर्दैनौं’

काठमाडौं-हत्या आरोप लगाइरहेको अजित ढकाल मिजारको परिवारले यकिन तथ्यबिना शवको अन्त्येष्टि नगर्ने निधो गरेको छ। काभ्रे, होक्से–६ निवासी मिजारका पिता हरिभक्त ढकाल मिजारले घटनाबारे अनुसन्धान बाहिर नआएसम्म अन्त्येष्टि नगर्ने बताए। ‘घटना अनुसन्धान र तथ्य नआएसम्म शव जलाउँदिनँ,’ उनले मंगलबार साँझ नागरिकसँग भने ।

घटना विवरणअनुसार असार ३० मा धादिङ, गजुरीमा १८ वर्षीय अजित ढकाल मिजारको शव फेला पारेको थियो । बुझ्न कोही नआएपछि सोही दिन इलाका प्रहरी गजुरीले शव गाडेको थियो । सामाजिक सञ्जालमार्फत् छोराको शव गाडेको थाहा पाएपछि मिजार परिवारले प्रहरीसँग अनुरोध गरी गाडेको शव निकाली काठमाडौं ल्याएको थियो।

अजितको हत्या भएको आशंकामा परिवारले मंगलबार टिचिङ अस्पतालमा शवको पुनः पोस्टमार्टम गराएका छन् । पोस्टमार्टमबारे फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले शवको घाँटीमा डोरीको दाग देखिएको बताए । ‘मृत्यु आफैं झुन्डिएर या अन्यले झुन्ड्याएर हामी भन्न सक्दैनौं, यसको अनुसन्धान अन्य निकायले गर्ने हो,’ डा. वस्तीले भने ।

शरीरमा देखिएका अन्य दाग भने मृत्युपछिको भएको उनले बताए । थप अनुसन्धान गर्न उनको भित्री मासुको भाग पनि परीक्षणका लागि पठाइएको उनले बताए । ‘भिसोरा ल्याबका लागि पठाएका छौं, यसको प्रक्रिया प्रहरीबाट हुन्छ,’ उनले भने।

पोस्टमार्टम प्रक्रियामा सहभागी राष्ट्रिय दलित आयोगका सदस्यसचिव सीताराम घलेले चिकित्सकले मृत्युको यकिन कारण नबताएको जनाए। ‘चिकित्सकले धेरै लक्षण झुन्डिएको नपाइएको बताए तर हत्या पनि भन्न नमिल्ने बताए,’ चिकित्सकको भनाइ उद्धृत गर्दै सचिव घलले भने ।

शव लिएकै दिन साउन २ मा इलाका प्रहरी कार्यालय गजुरीमा जाहेरी दिए पनि प्रहरीले अनुसन्धान अघि नबढाएको गुनासो परिवार तथा राष्ट्रिय दलित आयोगको छ। ‘हामीले जाहेरी दिएको तीन दिन भइसक्यो, अहिलेसम्म एक जना पनि पक्राउ परेनन्,’ मृतकका बाबु हरिभक्तले भने । ‘अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने प्रहरीले वास्ता गरेको छैन,’ सदस्यसचिव घलेले भने ।

यसबारे जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार झुन्डिएर मृत्यु भएको रिपोर्ट पाइएकाले अनुसन्धान अघि नबढाएको जनाएको छ। ‘इलाका प्रहरी गजुरीले पनि झुन्डिएको भनेको थियो, टिचिङ अस्पतालले पनि झुन्डिएको रिपोर्ट दिएको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पंजियारले नागरिकसँग भने।

मृतकका गृहजिल्ला प्रहरी कार्यालयले घटनास्थलकै जिल्लाले अनुसन्धान गर्नुपर्ने जनाएको छ। ‘घटनाबारे जानकारी छ, जिम्मेवारी आइसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय काभे्रका एसएसपी राजेश बास्तोलाले भने। यता, प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ताले घटनालाई नियालिरहेको जनाए ।

 

 

प्रकाशित: ५ श्रावण २०७३ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App